शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

नगरवासीलाई विषादीरहित तरकारी खुवाउन विर्तामोडमा १० सामुदायिक तरकारी बिक्री केन्द्र सञ्चालनमा

images
बुधबार, साउन ९ २०८१
images
images
नगरवासीलाई विषादीरहित तरकारी खुवाउन विर्तामोडमा १० सामुदायिक तरकारी बिक्री केन्द्र सञ्चालनमा

पालिकाले विभिन्न तरकारीका ब्लक क्षेत्र नै घोषणा गरेर किसानलाई अर्गानिक तरकारीखेतीका लागि प्रोत्साहन गर्दै आएको छ।

images
images

झापा- विर्तामोड नगरपालिकाले नगरवासीलाई विषादीरहित जैविक (अर्गानिक) तरकारी खुवाउने उद्देश्य राखेर १० सामुदायिक तरकारी बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। त्यसमा ६ वटा बिक्री केन्द्र र चार संकलन केन्द्र रहेका छन्। 

images
images

‘पारिको होइन, वारिको खाउँ’ भन्ने मूल नारा नै राखेर कृषि क्षेत्रमा काम गर्दै आएको पालिकाले किसानले उत्पादन गरेको तरकारी बिक्री गर्न केन्द्र सञ्चालन गरेको हो। पालिकाले विभिन्न तरकारीका ब्लक क्षेत्र नै घोषणा गरेर किसानलाई अर्गानिक तरकारीखेतीका लागि प्रोत्साहन गर्दै आएको छ।

images
images

किसानले उत्पादन गरेको तरकारी पालिकाले खरिद गर्ने र उपभोक्तासम्म पुर्‍याउन बिक्री केन्द्र सञ्चालनमा ल्याइएको कृषि शाखा प्रमुख राजेन्द्रप्रसाद कडरियाले बताए। 'नगरवासीलाई स्वस्थ राख्न पनि हामीले अर्गानिक तरकारीखेतीका लागि किसानलाई अनुदान दिएर प्रोत्साहन गरिरहेका छौँ', उनले भने, 'अब भारतबाट आयातित तरकारी विस्थापित गरेर नगरलाई तरकारीमा आत्मनिर्भर बनाउँछौँ।'

images
images
images

उनले पालिकाका एक सय १७ किसानले व्यावसायिक तरकारीखेती गरिरहेको जानकारी दिए। विगतदेखि नै सूचीकृत किसानलाई मल, बीउ, सिँचाइ र उपकरण खरिदमा पालिकाले अनुदान प्रदान गर्दै आएको बताए। पालिकामा पाँच कट्ठादेखि ६ बिगाहा जमिनमा व्यावसायिकरुपमा मौसमी र बेमौसमी तरकारीखेती गर्ने किसान रहेका छन्।

सामुदायिक तरकारी बिक्री केन्द्रका लागि पालिकाले आवश्यक पूर्वाधार तयार गर्ने प्रत्येक केन्द्रलाई एक लाख ५० हजार रूपैयाँका दरले अनुदान उपलब्ध गराएको छ। उनका अनुसार नगरका विभिन्न स्थानमा किसानहरुकै समिति बनाएर संकलन केन्द्र र उपभोक्ताहरुको समिति बनाएर बिक्री केन्द्र सञ्चालन गरिएको छ। किसान र उपभोक्ता मिलेर तरकारीको मूल्य निर्धारण गरिँदै आएको उनले जानकारी दिए।

उनले नगरपालिकाले कार्यक्रम सफल बनाउन चालु आर्थिक वर्षभित्रै तरकारी संकलनका लागि एउटा गाडीसमेत खरिद गर्ने योजना अघि सारेको बताए। पालिकाले चालु आर्थिक वर्षमा कृषि क्षेत्रमा मात्र एक करोड रूपैयाँ रकम विनियोजन गरेको शाखा प्रमुख कडरियाले बताए।

प्रत्येक पालिकाले किसानलाई प्राथमिकतामा राखेर विर्तामोड नगरपालिकाले झैँ काम गर्ने हो भने तरकारीका लागि भारतको मुख ताक्नुपर्ने कार्यको अन्त्य हुने मेचीनगर नगरपालिकाका सामाजिक अभियानकर्मी जानुका ओलीले बताइन्।

गत आर्थिक वर्षमा भारतबाट पूर्वी नाका हुँदै चार अर्ब ५६ करोड २३ लाख ८० हजार रूपैयाँ मूल्य बराबरको दुई लाख २८ हजार एक सय १९ मेट्रिक टन फर्सी, गोलभेँडा, हरियो खुर्सानी, भिण्डी, घिरौँला, लौका, चटेला, काँचो कटहर, स्कुसलगायत तरकारी आयात भएको क्वारेन्टाइन कार्यालय काँकडभिट्टा कार्यालयले जनाएको छ। रासस


प्रकाशित : बुधबार, साउन ९ २०८११३:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend