काठमाडौं- के तपाईलाई थाहा छ? पहिलेजस्तो सरकारी शुल्क तथा राजस्व बुझाउनका लागि सम्बन्धित कार्यालयमै गएर लाइन लाग्नुपर्दैन।
सामान्य शुल्क तिर्नका लागि लामो लाइन लाग्नुपर्ने नियतिमा सुधार गर्न खोजिएको छ। यद्यपी धेरै उपभोक्ताको भिड हुने यातायात कार्यालय जस्ता निकायमा अझै सुधार हुन सकेको छैन।
यसबाहेक पछिल्लो समय अनलाइन माध्यमबाटै कर तिर्न सकिन्छ। सानो रकमदेखि ठूलोसम्म एकैपटक कर भुक्तानीका लागि विभिन्न माध्यमहरु तोकिएका छन्।
कर तिर्नका लागि सबैभन्दा सहज र रुचाइएको एउटा माध्यम हो नेपाल क्लियरिङ हाउसका विभिन्न माध्यम। नेपाल क्लियरिङ हाउसका उपकरण अनुसार कर तिर्न सकिने रकमको सीमा छ।
यसमा सिधै सरकारी वेबसाइटमा गएर कनेक्ट आइपीएस गेटवे प्रयोग गरेर एक पटकमा एक दिन २० लाखसम्म कर तथा शुल्क तिर्न सकिन्छ। त्यस्तै कनेक्ट आईपीएसको मोबाइल एपबाट २ लाख र वेबसाइटबाट २० लाखसम्म तिर्न सकिन्छ।
त्यस्तै कर्पोरेट पेको माध्यमबाट ३० करोडसम्म कर भुक्तानी गर्न सकिन्छ।