बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

दुई हजार ‘केयरगिभर’ लैजान इजरायल सहमत

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन ७ २०८१
दुई हजार ‘केयरगिभर’ लैजान इजरायल सहमत

द्विपक्षीय श्रम सम्बन्धमा विविध पक्षका साथै ‘जीटूजी’ प्रक्रियाअन्तर्गत केयरगिभरका रुपमा नेपाली श्रमिक इजरायल पठाउने सिलसिलामा भइरहेको छनोट प्रक्रियाबारे समेत छलफल भएको थियो।

काठमाडौं- इजरायलले दुई हजार नेपाली श्रमिकलाई केयरगिभरका रुपमा रोजगारी दिन सहमति जनाएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीसँग आज नेपालका लागि इजरायली राजदूत हनान गोदारले गर्नुभएको शिष्टाचार भेटमा इजरायलले नेपाली श्रमिकको सङ्ख्या वृद्धि गर्न सहमत भएको हो। 

हाल छनोटका चरणमा रहेका पाँच सय जना मुख्य उम्मेदवार र तीन सय वैकल्पिक उम्मेदवार गरी कूल आठ सय नेपाली श्रमिक इजरायल लैजाने भनिएकामा सो सङ्ख्या बढाएर एक हजार मुख्य उम्मेदवार र एक हजार वैकल्पिक उम्मेदवारगरी कुल दुई हजारसम्म नेपाली लैजान सकिनेगरी सहमति भएको मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिए। 

भेटमा द्विपक्षीय श्रम सम्बन्धमा विविध पक्षका साथै ‘जीटूजी’ प्रक्रियाअन्तर्गत केयरगिभरका रुपमा नेपाली श्रमिक इजरायल पठाउने सिलसिलामा भइरहेको छनोट प्रक्रियाबारे समेत छलफल भएको थियो। 

आगामी दिनमा कृषिलगायत अन्य क्षेत्रमा समेत नेपाली श्रमिक इजरायल लैजान सकिनेबारेमा समेत कुराकानी भएको प्रवक्ता रिजालले जानकारी दिए।

सो क्रममा मन्त्री भण्डारीले नेपाल–इजरायलबीचको श्रम सम्बन्धका बारेमा सन्तोष व्यक्त गर्दै इजरायल-प्यालेष्टाइन द्वन्द्वमा हराइरहेका नेपाली विपिन जोशीको खोजतलास एवं वास्तविक अवस्थाबारे जानकारी र सकुशल फिर्ता गराउने विषयमा थप पहल लिन अनुरोध गरेका थिए। रासस 


प्रकाशित : सोमबार, साउन ७ २०८११९:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend