शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

बेनी-दरबाङ सडक ९ दिनदेखि अवरुद्ध, पैदल हिँडिरहेका छन् यात्रु

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन ४ २०८१
images
images
बेनी-दरबाङ सडक ९ दिनदेखि अवरुद्ध, पैदल हिँडिरहेका छन् यात्रु

वर्षासँगै म्याग्दीको बेनी नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सीमानामा पर्ने फापरखेतमा गत असार २७ गते राति खसेको पहिरोले सडक अवरुद्ध भएको थियो।

images
images

म्याग्दी- गत असार २७ गते रातिदेखि खस्न थालेको पहिरोका कारण बेनी-दरबाङ सडक ९ दिनदेखि अवरुद्ध बनेको छ। उक्त खण्डको तातोपानीमा गएको पहिरोका कारण यातायात सञ्चालन नहुँदा पश्चिम म्याग्दीका सयौँ नागरिकले दैनिक यात्रामा सास्ती भोग्दै आएका छन्।

images
images
images

पिठ्युमा भारी र काँधमा छोरीलाई बोकेर तातोपानी परको घुमाउने भिरपारी पैदल हिडेर यात्रा गरेकी धवलागिरि गाउँपालिका-७ धारापानीकी जमुना थापाले लामो सुस्केरा हाल्दै बेनी-दरबाङ खण्डको पहिरोलाई नियालिन्।

सदरमुकाम बेनीबाट खाद्यपदार्थका साथै दैनिक उपभोग्य सामग्री गाउँतर्फ लैजान नसक्दा खाद्यान्नलगायत विकास निर्माणमा आवश्यक पर्ने सामग्रीको अभाव भएको छ। गाउँमा उत्पादित तरकारी, फलफूल तथा अन्य कृषिजन्य वस्तु बिक्रीका लागि बजारसम्म ल्याउन नसक्दा खेतबारीमा खेर गएका कृषकले बताएका छन्।

images

वर्षासँगै म्याग्दीको बेनी नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सीमानामा पर्ने फापरखेतमा गत असार २७ गते राति खसेको पहिरोले सडक अवरुद्ध भएको थियो। 

images

सडक डिभिजन कार्यालय, यातायात व्यवसायीले मेसिन र जनशक्ति परिचालन गरेर पटकपटक पहिरो पन्छाउने प्रयास गरेपनि पहिरो खस्ने क्रम नरोकिएको तातोपानीका व्यवसायी कुमार केसीले बताए। यसले पश्चिम म्याग्दीका नागरिकलाई आवागमनमा सास्ती हुँदै आएको उनले बताए।

यातायात सञ्चालन हुन नसकेपछि पश्चिम म्याग्दी जाने सयौँ यात्रु बेनीबाट तातोपानीसम्म गाडीमा र त्यहाँबाट पैदल हिँडेर म्याग्दी नदीको झोलुङ्गे पुल हुँदै सिमलचौर निस्केपछि अर्को गाडीमार्फत गन्तव्यमा जाने गरेका छन्।

पश्चिम म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको बेनी-दरबाङ सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि आवागमन अवरुद्ध हुने समस्याले स्थानीयले सास्ती खेप्दै आएका यातायात व्यवसायी टेकबहादुर राम्जालीले जानकारी दिए।

उन्नाइस वर्षअघि सडकको मार्ग खोल्नुपूर्व यहाँ पहिराको जोखिम थियो। पहिरो रोकथाम गर्न दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन्। 

धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको मालिका गाउँपालिका-६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए। 

'बेनी-दरबाङ खण्ड पाखो र भिरको बीचमा खनिएको छ। सडकमुनि म्याग्दी नदी छ। सडकमाथिको भिरमा ढुङ्गा र ग्रेगर छ। खोल्सामा पर्ने सडकमाथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन', अध्यक्ष रोकाले भने 'म्याग्दी नदीको किनारमा बनाइएका पक्की पर्खालले कटान रोकिएको छ।' उनका अनुसार सडकदेखि करिब दुई सयमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ।

पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्दाबित्तिकै पन्छाउने गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताए।

'फापरखेत, लाम्पाटा र बाङ्गेको पहिरो नियन्त्रणका लागि बायोइन्जिनियरिङसहितको छुट्टै काम गर्नुपर्छ, ठूलो पहिरो भएकाले लगानी पनि बढी लाग्छ।'

बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेतअन्तर्गत बेनी-दरबाङ्ग खण्डको वैकल्पिक माग खोजिने म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले बताए।

पहिरोको दीर्घकालीन समाधान गर्न वैकल्पिक मार्ग र बेलिब्रिज निर्माण गर्नुपर्ने भएकाले तीनै तहका सरकारले यसतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए।

वर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको भन्दै वैकल्पिक मार्ग निर्माणमा ध्यान दिन सरोकार भएका निकायलाई अनुरोध गरिएको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए।

'वर्खाको समयमा वैकल्किप मार्ग आवश्यक छ, पालिकाले धेरै पहल गरेको छ', उनले भने, 'अहिले मोटरसाइकललाई सहज हुने गरी वैकल्पिक बाटो मर्मतमा जुटेका छौँ।' रासस


प्रकाशित : शुक्रबार, साउन ४ २०८११४:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend