बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाली पर्यटनको मार्केटिङ माता ‘अम्बिका श्रेष्ठ’

बिहीबार , साउन ३ २०८१
नेपाली पर्यटनको मार्केटिङ माता ‘अम्बिका श्रेष्ठ’

संस्थागत र सामूहिक हितको कुरामा उहाँले कहिलै पनि इग्नोर गर्नुभएन। आफूले जानेको बुझेको र सिकेको कुरा अरुलाई पनि भन्ने उहाँको विशेष गुण थियो। जीवनको अन्तिम क्षणमा पुग्दा पनि उहाँ यस्ता समारोहमा ह्विलचेयरमा बसेर आउनुहुन्थ्यो।

जीवनमा मृत्यु जसरी पनि आउँछ। सत्य यही हो तर कतिपय मान्छेहरूको निधन साह्रै दु:खद हुन्छ। समाजलाई गुण लगाएकाहरूको निधन सदैव दु:खद हुन्छ। अम्बिका श्रेष्ठ यस्तैमध्ये हो जसको निधनमा समग्र व्यवसायी र राज्यका लागि अपुरणीय क्षति भयो।

पछिल्लो पाँच दशकदेखि नेपालको पर्यटन बजारमा सक्रिय श्रेष्ठ पर्यटकीय बजारमा एउटा छुट्टै पहिचान बनाउन सफल हुनुभएको थियो। यो बजारमा यो बीचमा कति आए कति गए पैसा र नाम पनि कमाएल होलान् तर अम्बिका भाउजू जस्तो 'युनिक' पहिचान उहाँकै जस्तो काम र योगदानबाट मात्र सम्भव हुन्छ।

पर्यटनमा उहाँको भिजन र योगदान कस्तो थियो भन्ने कुरा उहाँले स्थापना र सञ्चालन गरेको होटलले नै देखाउँछ। नेपालमा कति धेरै होटल छन् तर अरु सबै होटल एकातिर द्वारिकाज अर्कोतिर! यहीबाट प्रष्ट हुन्छ कि उहाँको भिजन र योगदान कस्तो थियो भन्ने कुरा। 

लामो समय यही बजारमा उहाँसँग हाम्रो सहकार्य भयो। विभिन्न प्रतिनिधिमूलक र सामाजिक संस्था तथा फोरममा हाम्रो सहकार्य भयो। सधैँजसो हाम्रो सहकार्य भयो। हामीले उहाँलाई अम्बिका भाउजू भनेर सम्बोधन गर्थ्यौं। उहाँको व्यक्तित्व बजारमा सर्वस्वीकार्य थियो। यसका पछाडि उहाँको काम र योगदान नै थियो। 

नेपालजस्तो सम्पदाले भरिपूर्ण मुलुकले यही देखाएर र संरक्षण गरेर राख्नुपर्छ, बाँकी विश्वका लागि यी रोचक र आकर्षक हुन सक्छन् भन्ने हेतुले उहाँले हेरिटेज होटल बनाउनुभयो। यसका लागि उहाँको श्रीमान स्वर्गीय द्वारिकादास श्रेष्ठलगायत परिवार नै धन्यवादको हकदार हुनुहुन्छ। 

हामी सबैलाई बजारीकरण तथा पर्यटन प्रबर्द्धनको कुरा गर्दा जहिल्यै भन्नुहुन्थ्यो,’नेपालमा सानो वा ठूलो काम जे गरेपनि तर अन्तर्राष्ट्रिय बजार तथा पर्यटनलाई लक्षित गर्दा सोही स्तरको काम गर्नुपर्छ। विदेशी पर्यटक ल्याउनका लागि सोही स्तरको पूर्वधारदेखि सेवासम्म हुनुपर्छ।’ 

उहाँ आफूले त त्यही गर्नुभएको थियो र त आज द्वारिकाजको यो ब्रान्ड बनेको छ। कहाँबाट कहाँ पुगेको छ भनेर अहिले देखिएको छ। उहाँको यही गुरुमन्त्र थियो।

अम्बिका भाउजूको विशेषज्ञता भनेकै मार्केटिङमा थियो। पर्यटन मार्केटिङमा उहाँजत्तिको मान्छे नेपालमा अर्को कुनै देखेको छैन मैले। उहाँमा यस्तो क्षमता थियो कि कुनै पनि टुर अपरेटरलाई १० मिनेट भेटेपछि त्यसले नेपालमा गेष्ट नपठाउने भन्ने कुरा नै हुँदैनथियो। यही विशेषज्ञता उहाँमा थियो।

उहाँको सबैभन्दा ठूलो क्षमता भनेकै बजारीकरण हो। देशको पर्यटकीय बजारको बजारीकरण कसरी गर्ने, के गर्ने भन्ने उहाँको विशेष दक्षता थियो। टोटल मार्केटिङमा क्षमतावान व्यक्तित्व थियो उहाँको। हामीले उहाँबाट धेरै कुरा सिक्यौँ। हाम्रो पुस्ताका धेरैले उहाँबाट सिकेर अघि बढेका हौँ। हामी त उहाँलाई मार्केटिङ विज्ञ नै भन्थ्यौँ। कुसल मार्केटरका रुपमा उहाँ हुनुहुन्थ्यो। 

संस्थागत र सामूहिक हितको कुरामा उहाँले कहिलै पनि इग्नोर गर्नुभएन। आफूले जानेको बुझेको र सिकेको कुरा अरुलाई पनि भन्ने उहाँको विशेष गुण थियो। जीवनको अन्तिम क्षणमा पुग्दा पनि उहाँ यस्ता समारोहमा ह्विलचेयरमा बसेर आउनुहुन्थ्यो। 

उहाँ नेपालको पर्यटकको भोलेन्टियर हो। उहाँ आफूलाई सन्चो नहुँदा पनि बृहत्तर हितका लागि आउनुभपर्‍यो भनेपछि नाइनास्ती गर्नुभएन। सहयोगी लिएर पनि पुग्नुहुन्थ्यो।

पाटा नेपाल च्याप्टरको संस्थापक सदस्य, टानको संस्थापक अध्यक्षमात्र होइन त्यस्ता सयौँ संस्थामा बसेर देशको पर्यटन विकास र बजारीकरणमा उहाँले योगादन गर्नुभयो। उहाँबाट धेरैले धेरै कुरा सिके। 

राम्रो शैक्षिक योग्यतामात्र होइन भाषामा पनि उत्तिकै कमान्ड, वैदेशिक नियोगमा कार्यानुभवले गर्दा उहाँको व्यक्तित्वको उचाइ नै अर्कै थियो। 

उहाँको अर्को क्षमता भनेको जीवनमा आएका दर्जनौँ शोकलाई शक्तिमा बदल्नेमात्र होइन अन्तिम क्षणसम्मको लोभलाग्दो सक्रियता हो। अल्पसमयमै छोरा गुमाउनुभयो, त्यसको केही समयमै श्रीमान गुमाउनुभयो। तर पनि उहाँले आफ्नो नेतृत्वदायी र उत्प्रेरक भूमिकामा कमी हुन नदिइ झन उचाइतर्फ बढाउनुभयो। 


प्रकाशित : बिहीबार , साउन ३ २०८११५:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend