काठमाडौं- उत्पादनमूलक उद्योग वास्तविक अर्थतन्त्र विकासको प्रमुख आधारशिला हो। उत्पादनमूलक उद्योग फस्ट्याउँदा आयात विस्थापन भइ अर्थतन्त्रका अन्य क्षेत्रको विकासमा पुँजी परिचालन गर्न मद्दत पुग्छ।
आन्तरिक उत्पादन वृद्धि हुँदा स्वदेशमा रोजगारी प्रवर्द्धन हुने र वैदेशिक रोजगारीको समस्या हटेर जान्छ। आन्तरिक उत्पादन वृद्धिले रोजगारी सृजनाका साथै आन्तरिक अर्थतन्त्र सबल र सक्षम बनाउन महत्वपूर्ण सहयोग गर्छ।
आन्तरिक खपतभन्दा बढी भएको वस्तुको गुणस्तर तथा मूल्यस्तरमा सुधार गर्दै अन्तर्राष्ट्रिय बजारमा ब्राण्डिङ र प्रतिस्पर्धी बनाउँदै विदेशी मुद्रा आर्जनको दिगो स्रोत बन्न सक्छ। आन्तरिक उत्पादन बढाउँदा मुद्रास्फीति निश्चित सीमाभित्र राखि जनतालाई कम मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउन सकिन्छ।
हाल नेपालको विदेशी मुद्रा सञ्चितिको प्रमुख स्रोत रहँदै आएको वैदेशिक रोजगारीमार्फत प्राप्त हुने रेमिट्यान्स रहेको छ। वैदेशिक रोजगारीलाई निरुत्साहित गर्दै स्वदेशीमै रोजगारी सृजना गर्नका लागि पनि उत्पादनमूलक उद्योगमा लगानी बढाउन आवश्यक छ।
आन्तरिक उत्पादन बढाउन सक्दा बैंक वित्तीय संस्थामा हुने अधिक तरलता, न्यून तरलता वा ब्याजदर स्थायित्वमाथिको दबाब आफै हटेर जान्छ।
आन्तरिक उत्पादन मजबुत हुँदा विदेशी मुद्रा सञ्चितिको खासै अभाव नहुने भएकाले बैंक वित्तीय संस्थाहरूमा तरल सम्पत्तिको अभाव हुँदैन। तरल सम्पत्तिको अभाव नभएपछि ब्याजदरको उत्तरचढाव कम हुने र एउटा निश्चित बिन्दुभित्र कायम हुन्छ। यसले थप लगानीको वातावरण निर्माण गर्ने हुँदा अर्थतन्त्र समूद्ध बन्दै जान्छ।
यस्तोमा पछिल्लो तीन आर्थिक वर्षदेखि नै उत्पादनमूलक उद्योगमा हुने लगानी कमजोर हुँदै गएको सरकारी तथ्यांकबाट देखिन्छ। उत्पादनमूलक उद्योगमा लगानी कम हुँदै जाँदा अर्थतन्त्रमा चौतर्फी असर देखिन थालेको छ। अर्थतन्त्रमा देखिएको मन्दी, उच्च मूल्यवृद्धि तथा महँगो पुँजीका कारण लगानीकर्तामा पनि उत्साह हराउँदै गएको देखिन्छ।
स्वदेशी तथा विदेशी लगानीकर्ताको आत्मविश्वास खस्कँदै गएको तथ्यांकले देखाएको छ। भएकै उद्योग व्यवसाय राम्रोसँग नचलिरहेको समयमा नयाँ उद्योग व्यवसायको योजना उद्योगी व्यवसायीले पछि सारिरहेका छन्। यसको प्रभाव नयाँ उद्योगमा आइरहेको लगानी प्रतिबद्धतामा देखिन्छ।
उद्योग विभागमार्फत आउने गरेको लगानी प्रतिबद्धता घट्दो छ। विभागका अनुसार उत्पादनमूलक उद्योगमा आउने लगानी प्रतिबद्धतामा कमी आएको छ। उद्योगको संख्यामा खासै कमी नभए पनि लगानी रकममा भने कमी आएको छ। साना प्रकृतिको उद्योगमा मात्रै लगानी प्रतिबद्धता आएको छ।
विभागका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा उत्पादनमूलक उद्योगतर्फ १ सय ६ वटा उद्योगमा लगानी प्रतिबद्धता आएको छ। १ सय ६ वटा उद्योगमा ३६ अर्ब ८१ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ। गत आवमा आएको लगानी प्रतिबद्धता अघिल्लो आर्थिक वर्ष २०७९/०८० को तुलनामा कम हो।
२०७९/०८० मा १ सय १४ वटा उद्योगमा ४१ अर्ब ९५ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो। यसैगरी २०७८/०७९ मा भने कुल १ सय १५ वटा ८५ अर्ब ८२ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता उत्पादनमूलक उद्योगमा आएको थियो। २०७८/०७९ को तुलनामा २०८०/०८१ मा उत्पादनमूलक उद्योगमा आएको लगानी प्रतिबद्धता झण्डै आधा खर्बले कम हो।
विभागका अनुसार १० वटा उद्योगमा मात्रै अर्बमाथिको लगानी प्रतिबद्धता भएको छ। जसमा २ अर्ब ४ करोड रुपैयाँको लगानीमा बर्दियामा चिनी उद्योग स्थापना गर्ने गरी लगानी प्रतिबद्धता आएको छ।
गत आवमा सबैभन्दा बढी लगानी प्रतिबद्धता आएको उत्पादनमूलक उद्योग चुनिदेवी फोहोर प्रशोधन उद्योग हो। जहाँ ५ अर्ब ४४ करोड ५० लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको छ।
यसैगरी ४ अर्ब ७ करोडको लगानी प्रतिबद्धतासँगै लिटमस इन्डस्ट्रिज लिमिटेड इकाई एक दर्ता भएको छ। यो केबल उत्पादक कम्पनी हो।
एक अर्बमाथिको लगानी प्रतिबद्धता भएका उद्योग
कोशी एनके मोटर्स | १३२१९६०४९७ |
चुनदेवी फोहोर प्रशोधन उद्योग | ५४४५०००००० |
एशियन फार्मास्युटिकल्स प्राली इकाइ एक | १२५७७९८१९० |
क्वेस्ट फार्मास्युटिकल्स प्रा. लिमिटेड इकाई दुई | १२८५७८७००० |
लिटमस इन्डस्ट्रिज लिमिटेड इकाई १ | ४०७२५००००० |
ग्लोबल इन्डस्ट्रिज पार्क | १२९००००००० |
निभोदित सिरेमिक | १०४३७२८००० |
पाथिभरा मल कारखाना | ११७७०००००० |
तेजसु खाद्य र पेय पदार्थ | १००००००००० |
राजपुर चिनी उद्योग | २०४०२५०००० |