काठमाडौं- कानूनी मान्यता र विभिन्न नजिरका साथै अन्तर्राष्ट्रिय कानूनी अभ्यासको उल्लंघन गर्दै करेन्ट चाउचाउले वाइवाइ चाउचाउको ट्रेडमार्क चोरी गरी उपभोक्तालाई झुक्यानमा पार्ने प्रयास गरिरहेको छ।
यशोदा फुड्स प्रालिद्वारा उत्पादित करेन्ट चाउचाउले सीजी फुड्सको वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरेर वाइवाइजस्तै देखिने गरी आफ्नो उत्पादनको बजारीकरण गर्ने गैरकानूनी शैली अपनाएको हो।
यसमा यशोदा फुड्सले कानूनको प्रत्यक्ष उल्लंघन मात्रै गरेको छैन, उपभोक्ताको अधिकारसमेत हनन गरेको छ। ट्रेडमार्कका सम्बन्धमा स्थापित मान्यताहरूलाई नै चुनौती दिने करेन्टको प्रयासमा उद्योग विभागले समेत साथ दिएको देखिन्छ।
चौधरी ग्रुपद्वारा उत्पादित वाइवाइ नेपालका साथै विश्वका विभिन्न देशमा विगत चार दशकदेखि रोजाइमा रहँदै आएको चाउचाउ हो। यस्तोमा करेन्टले वाइवाइ जस्तै देखिने ‘र्यापर’ (खोल) प्रयोग गरेर वर्षौंको ख्याति चोर्न खोजेको देखिन्छ। करेन्टले आफ्नो उत्पादन वाइवाइजस्तै देखाएर उपभोक्तालाई भ्रमित पार्ने प्रयास गरिरहेको छ।
वाइवाइजस्तै देखिने र्यापर प्रयोग गरेर करेन्ट चाउचाउले ट्रेडमार्क ऐन २०२२ को उल्लंघन र उपभोक्ता अधिकारमाथि प्रत्यक्ष हनन गरेपछि सीजी फुड्स प्रालि मुद्दामा गएको छ।
यशोदा फुड्सले वाइवाइबाट नक्कल गरिएको ट्रेडमार्क भएको चाउचाउको ब्रान्डिङ गर्न उद्योग विभागले समेत साथ दिएको छ। जब कि पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ को दफा १६ (२) मा कुनै व्यक्तिको नाममा दर्ता भएको ट्रेडमार्क अरु कसैले नक्कल गर्न नहुने विषय स्पष्ट लेखिएको छ।
उद्योग विभागले उजुरकर्ता सीजी फुड्स नेपाल प्रालि र विपक्षी यशोदा फुड्स प्रालि भएको ट्रेडमार्क दर्ता रोक लगाइ पाउँ भन्ने मुद्दामा उजुरकर्ताको दाबी नपुग्ने भनि निर्णय गरिदिएपछि सीजी फुड्स उच्च अदालत पाटन गएको छ। सीजी फुड्स पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को दफा २७ अनुसार पुनरावेदनमा उच्च अदालत गएको हो।
उच्च अदालत पाटनले २०८० माघ २९ गते सुनुवाइ गर्दै प्रत्यर्थी झिकाउने आदेश दिएको थियो। त्यसपछि विभिन्न समयमा स्थगितका साथै हेर्न नभ्याइने भएको मुद्दामा २०८१ जेठ २१ गते न्यायाधीशहरू अन्जु उप्रेती ढकाल र नारायणप्रसाद रेग्मीको इजलासले प्रमाण मिसिल झिकाउने आदेश दिएको छ।
उद्योग विभागको समेत साथ
'विपक्षीले आफ्नो क्रिएसनलाई सांकेतिक रुपमा चिनाउन अरुको भन्दा फरक देखाउन आफ्नै दर्ता रहेको ट्रेडमार्कको नयाँ लेबलमा दर्ता माग गरेको हुँदा विपक्षीका नाममा उक्त ट्रेडमार्क दर्ता हुँदा यी उजुरीकर्ताको ट्रेडमार्कको ख्यातिमा असर पर्ने तथा उपभोक्ता झुक्किने अवस्था देखिएन' भनी उद्योग विभागले २०८० जेठ २९ गते गरेको फैसला कानूनी अभ्यासविपरीत देखिन्छ।
उद्योग विभागले विपक्षीको दर्ता माग गरेको ट्रेडमार्क दर्तामा रोक लगाइपाउँ भनी उजुरीकर्ताले दिएको उजुरीमा सहमत हुन नसकिएको हुँदा विपक्षीले दर्ता माग गरेको अंग्रेजी अक्षरमा 'करेन्ट' (एण्ड लोगो) नामक ट्रेडमार्क निजका नाममा दर्ता हुने ठहर्ने निर्णय गरिदिएको थियो।
सीजी फुड्सले पेटेन्ट, डिजाइन तथा ट्रेडमार्क ऐन, २०२२ को दफा १८ बमोजिम वर्ग ३० अन्तर्गत तयारी चाउचाउ, तयारी चाउचाउ चिकेन र तयारी चाउचाउ भेजमा प्रगोग गर्दै आएको अंग्रेजी अक्षरमा डब्लूएआई डब्लूएआई (वाइवाइ) अंकित र्यापरको संयुक्त संरचनालाई ट्रेडमार्कको रुपमा दर्ता गरेको छ।
यस्तोमा करेन्टले वाइवाइको र्यापरको हुबहु नक्कल गरेको छ। र्यापरको बायाँ माथिल्लो भागमा गोलो आकारभित्र उत्पादक कम्पनीको नाम अंग्रेजीमा सीजी अंकित गरेजसरी दुरुस्तै अंग्रेजी अक्षरमा ‘वाइएएसओडीएचए’ (यशोदा) उल्लेख गरेको छ।
र्यापरको मध्यभागमा अंकित ‘वाइ वाइ तयारी चाउचाउ’ को स्थान, बनावट तरिकालगायत सम्पूर्ण व्यहोरा हुबहु मिल्ने र समान देखिने गरी ‘करेन्ट इन्स्ट्यान्ट नुडल्स’ अंकित गरेको छ। अन्य विषयहरू पनि वाइवाइको र्यापरमा रहेकोजस्तै दुरुस्तै देखिने गरी नक्कल गरिएको देखिन्छ। र्यापरको पछाडिको भाग र दायाँबायाँको भागसमेत पूरै मिल्ने देखिन्छ।
यसरी हुबहु शब्दमा, अर्थमा, उच्चारणमा एवं लेबलमा समेत उस्तै देखिँदा देखिँदै पनि उद्योग विभागले ‘फरक देखिन्छ’ भनी गरेको निर्णयमा त्रुटि देखिएको छ। त्यसमा दुई चाउचाउमा नामबाहेक अन्य सबै कुरा उही नै नक्कल गरिएको छ। यस्तोमा विभागले सारभूत विषयमा प्रवेश नै नगरी सतही फैसला गरिदिएको देखिन्छ।
कानून, नजिर र अन्तर्राष्ट्रिय अभ्यासको बेवास्ता
नेपाल विश्व व्यापार संगठनको सदस्य हो र पेरिस कन्भेन्सनको समेत अनुमोदन गरिसकेको अवस्था छ। नेपालमा ट्रेडमार्क सम्बन्धमा पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२ ले आवश्यक कानूनी व्यवस्था गरेको छ। नेपाल विश्व व्यापार संगठनको सदस्य बनेकाले यसका मान्यताहरूको पूर्ण पालना गर्न आवश्यक हुन्छ।
वर्ल्ड इन्टेलेक्चुअल पपर्टी अर्गनाइजेसनद्वारा प्रकाशित डब्लूआईपीओ इन्टेलेक्चुअल पपर्टी ह्यान्डबुक लगायत ट्रेडमार्कसम्बन्धी अन्तर्राष्ट्रिय दस्तावेजहरूमा कुनै चिन्हलाई दर्ता भएको ट्रेडमार्कसँग तुलना गर्दा झुक्यानमा पार्नेगरी उस्ताउस्तै देखिन नहुने मान्यता अवलम्बन गरेको देखिन्छ। कुनै चिन्ह प्रयोग हुने वस्तु वा सेवा, दुईवटा चिन्हमा भएको समानता र ग्राहकले झट्ट हेर्दा झुक्किन सक्ने अवस्थालाई समेत आधार लिनुपर्ने मान्यता रहेको छ।
यस्तोमा करेन्टले प्रयोग गरेको र्यापर वाइवाइको र्यापरसँग अक्षरबाहेकका सबैकुरा मिल्ने देखिन्छ। त्यसमा अक्षरकै पनि रंग र अन्य शैली मिल्ने नै देखिन्छ। कुनै पनि वस्तु वा सामान एकैसमान देखिन्छ भने त्यस्ता वस्तुले ग्राहकमा अन्योलता र भ्रमको अवस्था सिर्जना हुने देखिन्छ। उस्तै वस्तु उस्तै ग्राहकका लागि उत्पादन गर्दा अर्कोकोसँग हुबहु मिलाइदिनु ख्याति चोरी गर्ने नक्कली शैलीबाहेक अरू केही होइन।
यस्तोमा वाइवाइको लेबल ट्रेडमार्कसँग हुबहु मिल्नेगरी करेन्टले बनाएको र्यापरका कारण ग्राहकले चाउचाउ खरिद गर्दा, सुपरमार्केटका बिक्री कक्षबाट लिँदा, अशिक्षित वर्गका ग्राहकले र्यापरको संरचनाको भरमा खरिद गर्दा दुविधा र अन्योल उत्पन्न हुने र ग्राहक झुक्किने अवस्था देखिएको सीजी फुड्सले जनाएको छ।
यसमा सर्वोच्च अदालतबाट कन्साइ नेरोलेक पेन्ट्स लिमिटेडविरुद्ध रुक्मनी केमिकल इन्डष्ट्रिज प्रालि भएको मुद्दामा गरेको फैसलासमेत उद्योग विभागले बेवास्ता गरेको छ। उक्त मुद्दामा ‘दर्ता भएको ट्रेडमार्क र अक्षर उस्तै वा बीच वा अन्तमा कुद्दै अक्षर कपी गरी वा अलिकति केही कुरा थप गरी उच्चारणमा धेरै समानता थोरै असमानता हुने र झट्ट अक्षर र चिन्ह हेर्दा उस्तै देखिने गरी प्रस्तुत गरिएमा त्यसलाई झुक्याउनेगरी समान बनाइएको भनिने’ फैसला भएको छ।
सर्वोच्च अदालतबाट नै तेजराम धर्मपाल फर्म र विपक्षी श्री गणपति टोबाको प्रालि भएको मुद्दामा ‘ट्रेडमार्क दर्ता प्रक्रियामा रहनु र दर्ता प्रमाणपत्र प्राप्त गरिसकेको स्थिति हुनु नै फरक-फरक कुरा हुन्’ भनी व्याख्या गरेको छ।
पेटेन्ड डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को दफा १६ (२) मा ‘यस ऐन बमोजिम कुनै व्यक्तिको नाममा दर्ता भएको ट्रेडमार्क अरू कसैले नक्कल गर्न वा दफा २१ घ बमोजिम आफ्नो नाममा नामसारी नगराई वा प्रयोगको निमित्त लिखित रुपमा अनुमति नलिइ आफ्नो वा अरुको नामबाट प्रयोग गर्न गराउन हुँदैन’ भन्ने व्यवस्था उल्लेख गरिएको छ। त्यस्तो व्यवस्थ उल्लंघन भएमा एक लाख रुपैयाँसम्म जरिबाना हुन सक्ने र सो कसुरसँग सम्बन्धित सबै मालसामान जफत हुने व्यवस्था गरिएको छ।
केबल उत्पादन र विज्ञापन गरेकै आधारमा उक्त उत्पादनसँग सम्बन्धित ट्रेडमार्कले दर्ताको मान्यता नपाउने पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२ र पेरिस कन्भेन्सन को आर्टिकल ६ को ‘डी’ मा पनि उल्लेख भएको देखिन्छ।
विधिशास्त्रीय मान्यताको उल्लंघन
मौलिक मानवीय सिर्जना बौद्धिक सम्पत्ति हो। कसैको मौलिक सिर्जनालाई निजको बौद्धिक सम्पत्ति मानिन्छ र त्यस्तो बौद्धिक सम्पत्तिलाई चिनाउने एउटा पहिचानको रुपमा नै ट्रेडमार्कलाई लिने गरिन्छ। यसैले ट्रेडमार्क बौद्धिक सम्पत्तिकै एउटा अंग हो। बौद्धिक सम्पत्तिमा जसको अधिकार स्थापित भएको छ उसैले उक्त सम्पत्तिमार्फत व्यापार व्यवसाय तथा अन्य कारोबार गर्नेलगायत कानूनी अधिकार पाएको हुन्छ।
यसमा विभिन्न देशले आआफ्नो कानूनबाट व्यवस्थित गर्ने गरेको भए पनि यसले अन्तर्राष्ट्रिय स्वरुपसमेत धारण गरिसकेको छ। ‘एग्रिमेन्ट अन ट्रेड रिलेटेड एस्पेक्ट्स अफ इन्टेलेक्चुअल पपर्टी राइट्स (टीआरआईपीएस) को सेक्सन २, आर्टिकल १५ मा ट्रेडमार्कलाई ‘कुनै संकेत चिन्ह वा संकेतहरूको संयोजनमा कुनै वस्तु वा सेवाहरूलाई अन्य उपक्रमबाट छुट्याउन सक्ने। त्यस्ता संकेतहरू, विशेष शब्दहरूमा नाम, अक्षर, अंक, लाक्षणिक तत्व र रंगहरुको संयोजन सातथै त्यस्ता चिन्हहरूको कुनै पनि संयोजनलाई ट्रेडमार्कको रुपमा दर्ता हुन योग्य’ भनिएको छ।
यस्तोमा वाइवाइको हुबहु नक्कल गरेको करेन्टले आफ्नो छुट्टै ट्रेडमार्क दर्ता हुनसक्ने विषयहरूसमेत पूरा गरेको देखिँदैन। सम्पूर्ण विषयमा वाइवाइजस्तै देखिने हुँदाहुँदै त्यसलाई अक्षरका आधारमा मात्रै छुट्टै मान्न मिल्ने अवस्था देखिँदैन। आफ्नो छुट्टै निर्माण रचना हो भनेर पुष्टि गर्नका लागि करेन्टसँग शब्द, चिन्ह वा चित्रको संयुक्त बेग्लै रुप नै छैन।
ट्रेडमार्क कुनै उत्पादनको प्रतिनिधित्व गर्ने चिह्न हो। ट्रेडमार्ककै आधारमा सम्बन्धित उत्पादन, त्यसको उत्पादक र उत्पादनको विशेषता तथा गुणहरू आदिबारे जानकारी लिन सकिन्छ तथा उक्त सामानप्रति ग्राहकले आफ्नो धारणा बनाउँदछन्। ट्रेडमार्क औद्योगिक बौद्धिक सम्पत्तिकै एक अंग भएकाले सर्जकको सिर्जना (बौद्धिक सम्पत्ति) को संरक्षण गरी त्यस्तो सिर्जनालाई प्रोत्साहित गर्न र उत्पादनको सुरक्षाको लागि पनि सम्बन्धित ट्रेडमार्कमा सम्बन्धित सर्जकको अधिकार रहनुपर्दछ भन्ने मान्यता स्थापित भएको छ।
यो मान्यताले नै बौद्धिक सम्पत्ति, तथा ट्रेडमार्कलाई सम्बन्धित सर्जकले आफ्नो सिर्जनाको रूपमा दर्ता गरी त्यसबाट लाभ लिने तथा त्यसको संरक्षण गर्ने विधिशास्त्रीय आधार प्रदान गरेको हो।
ट्रेडमार्कले मालसामान वा उत्पादनको प्रतिनिधित्व गर्ने भएकोले उत्पादन वा मालसामानको सुरक्षा र संरक्षणसँग सम्बन्धित ट्रेडमार्कले घनिष्ट सम्बन्ध राख्ने हुँदा सर्जकले सम्बन्धित ट्रेडमार्कको सुरक्षा र संरक्षण गर्न त्यसलाई दर्ता गराउनुपदर्छ भन्ने विधिशास्त्रीय अवधारणाले मान्यता पाइ सम्बन्धित उत्पादन जसको हो सोसम्बन्धी ट्रेडमार्क उसैको नाममा दर्ता गर्ने र सोउपर उसैको पूर्ण अधिकार रहने कानूनी व्यवस्था भएको हो। यस्तोमा करेन्टले वाइवाइको उक्त अधिकार र वर्षौंको ख्याति चोर्न खोज्नु गैरकानूनी देखिन्छ।