बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

विराटनगर र काँकडभिट्टा भन्सारबाट उठेन लक्ष्यअनुसार राजस्व, दुई नाकाबाट ४४ अर्ब ५७ करोड संकलन

मंगलबार, साउन १ २०८१
विराटनगर र काँकडभिट्टा भन्सारबाट उठेन लक्ष्यअनुसार राजस्व, दुई नाकाबाट ४४ अर्ब ५७ करोड संकलन

विराटनगर र काँकडभिट्टा दुईवटा नाकाबाट गरेर ४४ अर्ब ५७ करोड २४ लाख ८४ हजार राजस्व पुगेको छ।

इटहरी- वीरगञ्जपछि सबैभन्दा ठूलो नाका मानिएको विराटनगर भन्सारबाट गत आवमा राजस्व असुली सन्तोषजनक देखिएको छैन। लक्ष्यभन्दा ४० प्रतिशत कम राजस्व असुल गरेको विराटनगरले आर्थिक वर्ष २०८०/८१ मा ३० अर्ब ३४ करोड ११ लाख संकलन गरेको हो। 

५० अर्ब ८१ करोड ६३ लाखको लक्ष्य राखिएकोमा ५९ दशमलव ७१ प्रतिशत मात्र पूरा भएको छ। दैनिक औसत ८ करोड ३१ लाख असुली हुने गरेको बताउँदै कार्यालयका सूचना अधिकारी पर्शुराम दाहालले असार ३१ गतेमात्र ७ करोड २७ लाख राजस्व संकलन भएको बताए। 

कोशी प्रदेशको दोस्रो महत्त्वपूर्ण भन्सार नाकाको रूपमा रहेको काँकडभिट्टाले पनि लक्ष्यअनुसार असुली गर्न सकेन। काँकडभिट्टा नाकाले आर्थिक वर्ष २०८०/८१ मा १४ अर्ब २३ करोड १३ लाख ८४ हजार संकलन गरेको छ। १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार लक्ष्य राखिएकोमा लक्ष्यभन्दा २२ प्रतिशत कम असुल भएको हो।

विराटनगर र काँकडभिट्टा दुईवटा नाकाबाट गरेर ४४ अर्ब ५७ करोड २४ लाख ८४ हजार राजस्व पुगेको छ। 

विगतमा लक्ष्यभन्दा बढी संकलन गरेको काँकडभिट्टामा दुई आर्थिक वर्षदेखि लगातार कम राजस्व असुली हुन थालेको हो। आर्थिक वर्ष २०७७/७८ मा १८ अर्ब ५४ करोड ५१ लाख लक्ष्य राखिएकोमा १८ अर्ब ६९ करोड ९२ लाख संकलन गरेको थियो।

आर्थिक वर्षमा २०७७/७८ मा पनि लक्ष्य भन्दा दुई अर्ब बढी संकलन भएको थियो। १५ अर्ब ७५ करोडको लक्ष्य राखिएकोमा १७ अर्ब ५३ करोड संकलन भएको थियो।

२०७८/७९ मा भने लक्ष्यभन्दा ३० प्रतिशत नै कम संकलन भयो। २० अर्ब २४ करोडको लक्ष्य राखिएकोमा १४ अर्ब ५ करोड मात्र संकलन भएको भन्सार कार्यालयले जनाएको छ। त्यसयता लगातार राजस्व असुलीमा गिरावट भइरहेको अवस्थामा भन्सार कार्यालयले जानकारी दिएको छ। 

‘मुख्यतः चाइनिज सामग्रीको आयात पूर्णरुपमै ठप्प छ। काँकडभिट्टा नाका परम्परागत रूपमा सुपारी र कोइला इम्पोर्ट गर्ने नाका हो तर त्यसको पनि आयात नभएपछि खुद्रा संकलन मात्र भइरहेको छ,’ काँकडभिट्टा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले भने।

गत आर्थिक वर्षमा जम्मा एक कन्टेनर मात्र सुपारी आयात भएको बताउँदै उनले कोइलाको पनि विवाद धेरै भएकाले आउन नसकेको बताए। कोभिडपछाडि बजारमा कारोबार कम हुँदै गएको र त्यसले भन्सार असुलीमा असर पुर्‍याएको उनको भनाइ छ।


प्रकाशित : मंगलबार, साउन १ २०८११९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend