काठमाडौं- नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलको अर्थमन्त्री हुने पक्का भएको छ।
अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी पौडेल सरकारमा जाने पक्का भएको हो।
पौडेलसँगै एमालेबाट दामोदर भण्डारी, पृथ्वीसुब्बा गुरुङ सञ्चार मन्त्री र विद्या भट्टराई शिक्षा मन्त्री हुने भएका छन्।
यसैगरी मानबीर राई र देवेन्द्र दाहाल भौतिक पूर्वाधार मन्त्री बन्ने निश्चित भएको छ। भूमि व्यवस्था सहकारीमा बलराम अधिकारी दोहोरिँदै छन्।
त्यस्तै शिक्षा मन्त्री विद्या भट्टराई बन्दैछिन् भने रक्षा मन्त्रालय मानवीर राई बन्दैछन्। एमालेबाटै राजकुमार गुप्ता पनि मन्त्री बन्दैछन्।
समन्वयकारी राजनीतिक छवि भएका पौडेल अर्थन्त्रीका रुपमा चौथोपटक मन्त्रालय प्रवेश गर्दै छन। व्यवसायी मात्रै नभएर अन्य विपक्षी दललाई समेत मिलाउन सक्ने खुबी भएकैले पुनः अर्थ मन्त्रालयको रोजाइमा पौडेल परेका छन्।
व्यवसायमैत्री नीति बनाउन र व्यवसायीका कुरा सुन्ने भएर पनि व्यवसायीहरूले पौडेललाई सकारात्मक रुपमा हेर्ने गरेका छन्। सोही कारण पौडेललाई सेयर बजारमा लागिरहेकाहरूले समेत सकारात्मक रुपमा हेर्ने गरेका छन्। पौडेल अर्थमन्त्री भएकै बेला सेयर बजारले त्यस समयको उच्च बिन्दु बनाएको थियो।
त्यो बेला सूचक १८८० सम्म पुगेको थियो। त्यसपछि माओवादी र कांग्रेसको सरकार बन्दा पुँजीबजार निकै सेलाएको थियो। जुन नेकपा एमालेले पुनः बागडोर सम्हालेलगत्तै सुधारिएको थियो। ११०० सम्म पुगेको बजारले एमाले कार्यकालमा ३१९९ बिन्दु पार गरेको थियो।
को हुन् विष्णु पौडेल?
२०१६ साल मंसिरमा स्याङ्जाको पुतलीबजारमा जन्मिएका विष्णु पौडेल २०३५ सालदेखि तल्कालीन माले हुँदै एमाले र नेकपाको राजनीतिको शीर्ष तहसम्म आइपुगेका नेता हुन्।
२०५९ सालदेखि एमाले स्थायी कमिटी सदस्य बनेका उनी २०६५ सालदेखि एमाले केन्द्रीय कमिटी सचिव निर्वाचित भए। २०७१ मा सम्पन्न एमालेको नवौं महाधिवेशनपछि एमाले केन्द्रीय कमिटीमा निर्वाचित उनी २०७५ मा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को महासचिव र सचिवालय सदस्य बने।
२०५१ को मध्यावधि चुनावमा पाल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित उनी पहिलो र दोस्रो संविधानसभामा रूपन्देही-४ बाट विजयी बने। संघीय संसद प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा रूपन्देही-२ बाट निर्वाचित उनी अहिले सोही क्षेत्रबाट एमाले निर्वाचित भएका थिए।
२०५३ सालमा लोकेन्द्रबहादुर चन्दको मन्त्रिमण्डलमा युवा, खेलकुद तथा संस्कृति मन्त्री बनेका पौडेलले २०६५ मा प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा जलस्रोत मन्त्रालयको जिम्मेवारी सम्हाले। २०६७ मा झलनाथ खनालको नेतृत्वमा बनेको सरकारमा रक्षामन्त्री बनेका उनी २०७२ सालमा केपी ओलीको सरकारमा अर्थमन्त्री बने।