वीरगञ्ज- पर्साको पटेर्वा सुगौली गाउँपालिका-५ निचुटाका कृषक शिवबालक ठाकुरलाई दुई दशकअघिसम्म चार हलगोरु र आधा दर्जनभन्दा धेरै भैँसी पाल्थे। विगतमा गोठभरि नै चौपाया हुने भएकाले रासायनिक मलको खासै समस्या हुँदैनथ्यो।
आफ्नै गोठबाट निस्कने प्रांगारिक मलकै प्रयोग गरेर खेती किसानी गर्दै आएका उनलाई अहिले एक बिघा खेतमा धान रोपाइँ गर्न पनि महाभारत जस्तै लाग्न थालेको छ। 'पहिला धान रोपाइँ गर्दा त रासायनिक मलखादको प्रयोग नै हुँदैन्थ्यो। आफ्नै गोठको मलखाद हालेर खेती गरिन्थ्यो', विगतलाई स्मरण गर्दै उनले भने, 'संयुक्त परिवार विस्तारै एकल हुँदै गयो। गोठभरिका चौपाया पनि रित्तिँदै गए। अहिले त रासायनिक मलको प्रयोग नगरी सुखै छैन।'
सदियौँदेखि कृषि कर्म गर्दै आएका ठाकुरलाई अहिले रासायनिक मलको अभावको चिन्ताले सताउने गरेको छ। 'एक बिघा खेतमा चाहिनेजति मल पनि पाउन सकिरहेको छैन', उनले भने, 'दुई बोरा डिएपी र तीन बोरा युरिया मल चाहिएको छ तर धान रोप्दासम्म एक-एक बोरा मात्रै पाएको छु। मलकै कारणले उब्जिने कम हुने हो कि भन्ने चिन्ता लागेको छ।'
उनीमात्रै होइन, पर्साका स्थानीय तहका जनप्रतिनिधिका परिवारले पनि पर्याप्त रासायनिक मल पाउन सकिरहेका छैनन्। पटेर्वा सुगौली गाउँपालिकाका उपाध्यक्ष ममता महतोको परिवारले पनि आठ बिघा खेतमा धानखेती गर्दै आइरहे पनि मलको अभाव खेप्दै आइरहेको बताइन्।
'म आफै पालिकाको मल वितरण समितिको संयोजक पनि छु। मैले नै मलको अभाव खेपिरहेको छु', उनले भनिन्, 'म आफै जनप्रतिनिधि हुँ भनेर भनेजति पनि मल लिने कुरै हुँदैन। सबैलाई बाँडफाँट गर्दा कति हुन्छ। सोहीअनुसार पाउने हो।'
पोखरिया नगरपालिका-५ का मुन्ना चौधरी पनि नगरपालिका र कृषि सहकारी संस्थामा धाउँदाधाउँदै दुःख पाइरहेको गुनासो गर्छन्। उनले धानखेती गर्नका लागि आवश्यकताअनुसारको मल अझै नपाइरहेको गुनासो गरे। 'हामीजस्ता सोझासिधा कृषकलाई सधैँ मलकै पिरलोले सताउने भयो', उनले भने, 'गाउँका टाठाबाठाले त सोर्सफोर्स लगाएरै भए पनि मलको जोहो गर्छन्। हामी त कसरी गर्ने?'
कृषि ज्ञान केन्द्र पर्साका अनुसार आव २०७८/७९ मा पर्सा जिल्लामा १६ हजार नौ सय ६७ मेट्रिक टन रासायनिक मलको प्रयोग भएको थियो। केन्द्रका अनुसार सो वर्ष युरिया मल १० हजार ९० मेट्रिक टन, डिएपी छ हजार ९६ मेट्रिक टन, पोटास दुई सय ७५ मेट्रिक टन प्रयोग गरिएको थियो तर, पछिल्ला दुई वर्षमा मलको कति प्रयोग गरिन्छ भन्ने यकिन तथ्यांक भने आइसकेको छैन।
केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहा कृषियोग्य जमिनको उर्बराशक्ति घटेसँगै रासायनिक मलखाद धेरै प्रयोग हुन थालेको बताउँछन्। 'सरकारी मापदण्डअनुसार प्रतिकठ्ठा तीन किलोग्राम मल प्रयोग गर्नुपर्ने हुन्छ तर धेरै खेती उब्जाउने नाममा कृषकले प्रतिकठ्ठा छ/आठ किलोग्राम रासायनिक मल प्रयोग गर्दछन्,' उनले भने, 'कृषकले अत्यधिक मात्रामा मल प्रयोग गर्ने भएकाले पनि अभाव हुने गरेको हो।'
पर्सामा मलको उपलब्धता
कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडले सरकारले तोकेको कोटाअनुसारको मल स्थानीय पालिकाको सिफारिसमा सम्बन्धित पालिकाका सहकारी संस्था तथा डिलरलाई उपलब्ध गराउने गर्छन्। रासायनिक मल खेतीयोग्य जमिनको क्षेत्रफल, विगत आवको मलको खपतको अभिलेख र बाली सघनताको आधारमा स्थानीय तहको कोटाअनुसार रासायनिक मलको बाँडफाँट गर्ने गरिन्छ।
जिल्लाका १४ पालिकामा एक सय नौ डिलरमार्फत रासायनिक मल उपलब्ध गराउने गर्दछन्। कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले चालु आव २०८०/८१ को असार ११ गतेसम्मको अवधिमा पर्सा जिल्लामा युरिया, डिएपी र पोटास गरी कुल ९ हजार एक सय ४८ दशमलव ०५ मेट्रिक टन मल बिक्री गरेको जनाएको छ। यसमा युरिया मल पाँच हजार पाँच सय ७६ दशमलव २५ मेट्रिक टन, डिएपी मल तीन हजार दुई सय ५९ दशमलव ६० मेट्रिक बिक्री गरिसकेको छ। त्यस्तै पोटास मल भने तीन सय १२ दशमलव २० मेट्रिक टन बिक्री गरिसकेको छ।
सो कार्यालयले गत आवमा भने पर्सा जिल्लाभरिमा युरिया, डिएपी र पोटास गरी कुल आठ हजार एक सय १७ मेट्रिक टन मल बिक्री गरेको थियो। कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका कायममुकायम प्रमुख दुर्गाप्रसाद पाण्डेय कृषकले पछिल्ला वर्षमा अत्यधिक मात्रामा रासायनिक मल प्रयोग गर्ने भएकाले सीमित कोटाको मलले पुर्याउन कठिन हुने बताउँछन्।
साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेड प्रादेशिक कार्यालयका प्रमुख आमोज लामिछानेले पर्सामा धान रोपाइँको लागि मलको अभाव नहुने दाबी गरे। 'अघिल्ला वर्षमा जस्तो यस वर्ष मलको हाहाकार हुने देखिन्न', उनले भने, 'गत वर्षभन्दा यो वर्ष मल वितरणको मात्रा धेरै भएको छ।'
साल्ट ट्रेडिङले चालु आवको असार २४ गतेसम्म पर्सामा तीनै थरिका मल चार हजार सात सय ९ दशमलव ०५ मेट्रिकटन बिक्री गरेको छ। यसमा युरिया मलको हिस्सा दुई हजार चार सय २३ दशमलव ७५ मेट्रिकटन, डिएपी मल दुई हजार एक सय ८९ दशमलव ६० मेट्रिकटन र पोटासको हिस्सा भने ९५ दशमलव ७० मेट्रिकटन रहेको छ। सो कार्यालयले गत आव २०७९/८० मा तीनै थरिका चार हजार चार सय ७९ मेट्रिकटन बिक्री गरेको थियो।
नेपाल किसान महासंघ पर्साका पूर्वअध्यक्ष असर्फी साह पर्सा जिल्लामा धान रोपाइँका लागि मात्रै नभएर उखुखेतीको लागि पनि मलको हाहाकार रहेको दाबी गर्छन्। 'सरकारी अनुदानको मलले कृषकको मागलाई थेग्नै सक्दैन', उनले भने, 'भारतीय सीमावर्ती बजारबाट रासायनिक मल ल्याएर प्रयोग नगरी सुखै छैन।'
पटेर्वा सुगौली गाउँपालिकाका उपाध्यक्ष महतोले पालिकाले कृषक कार्ड जस्तै आगामी वर्षदेखि मलखाद कार्ड बनाएर व्यवस्थित गर्ने बताएका छन्। अहिले पालिकामा कुन कृषकको लागि कति मलखाद चाहिन्छ भन्ने यकिन तथ्यांक छैन।
उनका अनुसार पालिकामा साढे दुई करोड लागतमा आधुनिक कृषि ल्याबसहितको भवन निर्माण हुँदैछ। यो तयार भएसँगै माटो परीक्षण गरेर कति मल प्रयोग गर्ने भन्ने वैज्ञानिक आधार पत्ता लगाउन सकिनेछ। रासस