शनिबार, वैशाख २२ गते २०८१    
images
images

आन्तरिक पर्यटकले गुलजार पर्यटन क्षेत्र, सन् २०२२ मा पनि आन्तरिककै भर

images
images
images
आन्तरिक पर्यटकले गुलजार पर्यटन क्षेत्र, सन् २०२२ मा पनि आन्तरिककै भर
images
images

काठमाडौं- पर्यटन क्षेत्रका लागि सन् २०२० र २०२१ दुई वर्ष पछिल्ला दशकको सबैभन्दा खराब वर्षको रुपमो दरियो। जसका कारण विश्वभरकै पर्यटन गतिविधि ठप्प भए। खर्बौं डलरको क्षति भयो। ठूला ठूला एयरलाइन्सहरूले जहाज ग्राउन्डेड मात्रै गरेनन्, कतिपय एयरलाइन्सहरूले जहाज नै बिक्री गरेर कर्मचारीलाई तलब खुवाए।

images
images
images

यस्तोमा सन् २०२० को सुरुदेखि नै कोभिड १९ को असरले थलिएको पर्यटन क्षेत्र अझै पूर्ण रुपमा उठ्न सकेको छैन। पछिल्लो सयम पुनः युरोपभर कोरोनाको नयाँ ओमिक्रोन भेरियन्टको सन्त्रासले आवतजावत बन्द गर्न थालेका छन्। भारतमा पनि रात्रीकालीन समयमा धेरै सेवा बन्द गरिएको छ। जसको असर नेपालमा पनि आउन सक्ने विज्ञहरूले चेतावनी दिइसकेका छन्। 

images

यसकारण सन् २०२२ पनि नेपालमा विदेशी पर्यटक घुम्न आउने कुरामा शंका नै उत्पन्न भएको छ। यसको लागि अब पर्यटन क्षेत्रमात्रै होइन अर्थतन्त्र नै चलायमान गराउन आन्तरिक पर्यटकीय गतिविधिलाई जतिसक्दो धेरै खुलाउने र देशभर तरंग सिर्जना गर्नुको विकल्प छैन।

images

सरकारले आन्तरिक पर्यटन भ्रमण वर्ष २०७२ मनाएको थियो। जसका एक वर्षमा ५० लाखभन्दा बढी नेपालीले एक रात अन्यत्र बास बस्न गएको अनुमानित तथ्यांक सार्वजनिक गरिएको थियो। भूकम्पले थलिएको समयमा मनाइएको उक्त कार्यक्रमले देशैभर पर्यटकीय गतिविधि चलायमान भएको थियो। 

images
images

अंग्रेजी नयाँ वर्षको २०२२ को सुरुवातकै दिनहरूमा देशभर आन्तरिक पर्यटकले होटल तथा रेष्टुराँहरू भरिभराउ भएका छन्। नयाँ वर्षमा काठमाडौं आसापास धुलिखेल, नगरकोट, कपन क्षेत्रहरूका होटल सबै आन्तरिक पर्यटकले भरिएका छन्। यता काठमाडौंबाहिर पोखरा, सौराहदेखि लुम्बिनी र पश्चिममा बर्दियाको साथै पूर्वमा इलामसमेत यतिबेला आन्तरिक पर्यटकले गुलजार भएको छ। 

अहिले काठमाडाैंका पाँचतारे होटलमा समेत सस्तो प्याकेजका कारण परिवार नै होटलमा गएर नयाँ वर्ष मनाउनेहरू बढेका छन्। काठमाडौंको ठमेल त यतिबेला विदेशी पर्यटक नभए पनि आन्तरिकले नै भरिएको छ। 

‘नयाँ वर्ष आसपासमा आन्तरिक पर्यटकले अर्थतन्त्र नै चलायमान गराएको छ, यो वर्षभर केही नयाँ कार्यक्रम दिन सकेमा सुखद नै हुनेछ,’ होटल संघ नेपाल (हान) का वरिष्ठ उपाध्यक्ष विनायक शाहले भने। 

विगतमा सार्वजनिक यातायातमार्फत यात्रा गर्ने यात्रुहरू पनि अहिले धेरैले हवाई उडानमार्फत यात्रा गरिरहेका छन्। यसमा एयरलाइन्स कम्पनीहरूले मध्यम वर्गीय यात्रुलाई केन्द्रित गरेर टिकटदर सस्तो बनाएका कारण पनि हवाई यात्रुहरू बढेका छन्। अर्को कुरा स्वास्थ्य मापदण्डका कारण पनि एयरलाइन्समा यात्रा गर्नेहरू बढीरहेका छन्। यता निजी सवारीमा जानेहरू पनि उत्तिकै छन्। 

आन्तरिक पर्यटकहरूले देशैभर गतिविधि बढाएका कारण पर्यटन क्षेत्रमा उत्साह छाएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले बताउँछन्। ‘अहिलेको लक्ष्य नै आन्तरिक पर्यटक देशभर घुमाउने र पर्यटकीय गतिविधि बढाउने हो,’ रेग्मीले भने।   

अहिले पर्यटन क्षेत्रको मुख्य पक्ष नै महामारीले पारेको असरबाट यो क्षेत्रलाई बाहिर ल्याउनु नै हो। जस्तो, २०७२ मा भूकम्प जाँदा नेपालमा पर्यटकलाई बोलाउन सक्ने अवस्था थियो र त्यसरी नै बोलाइएको पनि हो।

अहिलेको समस्या नै विश्वव्यापी समस्या हो। धेरै देशहरूले नेपाल घुम्न जान सुरक्षित छ भनि उनीहरूले रेड लिष्टबाट हटाउनुपर्ने छ। यो चुनौतीपूर्ण काम नै छ। कतिपय देशले खोपको नाम नै तोकेर त्यही खोप लगाएको देशमा मात्रै जाने भन्ने पनि छ। अर्काेतर्फ देशहरूले नै नागरिकहरूलाई घुम्न जान रोक लगाएको अवस्था पनि छ। 

नेपाल घुम्नका लागि सुरक्षित छ र सबै स्वास्थ्य सुरक्षाका प्रोटोकलहरू पनि पालना हुन्छन् भन्ने सन्देश दिनु अबको आवश्यकता हो। नेपाल कोभिडपछि घुम्नका लागि राम्रो गन्तव्य हो। प्राकृतिक क्षेत्र, राष्ट्रिय निकुञ्जहरू, ट्रेकिङलगायतका राम्रा क्षेत्रहरू छन् भन्ने सन्देश अझै फैलाउनुपर्नेछ। यसका कारण पनि आन्तरिक गतिविधिलाई तीव्रता दिनुको विकल्प नभएको पर्यटन बोर्ड पोखराका प्रमुख काशीराज भण्डारी बताउँछन्। ‘अहिले पोखरा आन्तरिक पर्यटकले भरिभराउ छ, कतिपयले त कोठासमेत नपाएको अवस्था छ,’ भण्डारीले भने। अब आन्तरिक पर्यटनको प्रर्वद्धन गर्नका लागि सौराहा र पोखराभन्दा पनि अन्यत्र केन्द्रित हुन आवश्यक रहेको भण्डारी बताउँछन्। 

सौराहामा पनि नयाँ वर्षमा होटलहरू भरिभराउ भएको जंगल सफारी लजका सञ्चालक सुमन घिमिरेले बताए। ‘सन् २०२१ मा आन्तरिक पर्यटकले केही भरथेग गरेकोले अब सन् २०२२ पनि आन्तरिक पर्यटककै भर हो,’ घिमिरेले भने। बाह्य पर्यटकमा अब भारतीय पर्यटकलाई जोड्न सक्ने ठाउँ रहेकोले सरकार र व्यवसायीको ध्यान त्यसतर्फ हुनुपर्नेमा घिमिरेले जोड दिए।  

विदेशी पनि बढ्दैछन् 

पछिल्लो समय नेपाल आउने बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि देखिन थालेको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको मासिक पर्यटक आगमनको तथ्याङ्कअनुसार पछिल्ला महिनाहरूमा विदेशी पर्यटकको आगमन बढ्दै गएको देखिएको हो। 

सन् २०२१ को नोभेम्बरमा २६ हजार १ सय ३५ जना विदेशी नेपाल घुम्न आएका छन्। यो कोरोना सुरु भएपछिको उच्च मासिक पर्यटक आगमन संख्या हो। कोरोना सुरु भएपछि घटेकामा सन् २०२१ को अप्रिलमा २२ हजार ३ सय ४० जना विदेशी नेपाल आएका थिए।

सन् २०२१ को सुरुदेखि नै पर्यटक आगमनको सङ्ख्यामा वृद्धि हुन सुरु भएको थियो। जनवरीमा ८ हजार पर्यटक आएका थिए भने अप्रिलमा २२ हजार विदेशीले नेपाल भ्रमण गरेका थिए।

कोरोनाको दोस्रो भेरियन्टको संक्रमण तीव्र भएपछि नेपालमा अप्रिलको अन्तिम सातादेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द भएका थिए। तीन महिनापछि क्रमिक उडान खुला गर्दै गएपछि पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको थियो। सन् २०२१ को पछिल्ला १० महिनामा १ लाख ३४ हजार पर्यटक नेपाल आइसकेका थिए।  

चीनसँगको नियमित उडान अझै सुरु नभएकाले अपेक्षित वृद्धि देख्न नपाइने व्यवसायीहरूले बताएका छन्। पछिल्लो समय सरकारले क्वारेन्टिन नियम खुकुलो बनाएपछि काठमाडौंका पाँचतारे होटलहरूमा धमाधम बुकिङ आउन थालेको छ। 

सन् २०२३ पछि मात्रै पुरानो लयमा 

कोरोना कालमा लगभग अन्तर्राष्ट्रिय पर्यटन ठप्प नै भयो। यसरी ठप्प हुँदा यो क्षेत्रबाट मुलुकको कूल गार्हस्थ उत्पादनमा हुने योगदान पनि ठूलो अंकमा घटेको छ। संसारभर हुने पर्यटनको आम्दानीमा कोरोना सुरु नहुँदैको सन् २०१९ को तुलनामा अहिले ४ ट्रिलियन अमेरिकी डलरले क्षति पुगेको एक अध्ययनले देखाएको छ। 

संयुक्त राष्ट्रसंघीय ट्रेन्ड एण्ड डेभलेपमेन्ट र राष्ट्रसंघकै पर्यटनसम्बन्धिको एजेन्सीले संयुक्त रुपमा गरेको एक अध्ययनअनुसार पछिल्लो दुई वर्षमा पर्यटन क्षेत्रमा ४ ट्रिलयनभन्दा बढी आम्दानी गुमेको छ। 

२.४ ट्रिलियन डलर सन् २०२० मै क्षति भएको यो रिपोर्टले देखाएको छ। यो अध्ययनमा पर्यटन कोरोनाभन्दा अघिको तहमा पुग्न कम्तिमा अझै २ वर्ष लाग्ने अनुमान गरिएको छ। सन् २०२३ पछिमात्र पहिलेकै तहमा पुग्ने अनुमान यो अध्ययनले अनुमान गरेको छ। 

पर्यटनमा कोरोना प्रभाव र यसबाट हुने आर्थिक क्षति यो वर्ष पनि रोकिने छैन। सन् २०२१ मै यो क्षेत्रमा हुने आम्दानीमध्ये २.४ ट्रिलियन गुम्ने छ। न्यूनतम १.७ ट्रिलियन क्षति हुने अनुमान गरिएको छ। आर्थिक क्षतिसँगै पर्यटन प्रभावकै कारणले गर्दा समग्र बेरोजगारीदर ५.५ प्रतिशतले बढेको छ। देश हेरी यस्तो दर ३० प्रतिशतसम्म पुगेको छ। 

सन् २०१९ को तुलनामा सन् २०२० मा ७४ प्रतिशतले पर्यटक घटेका थिए। वर्ल्ड ट्राभल एण्ड टुरिजम काउन्सिलको एक प्रक्षेपणअनुसार सन् २०२० मा संसारभर पर्यटकले गर्ने खर्च ६९.४ प्रतिशतले घटेको थियो।  

वर्ल्ड ट्राभल एण्ड टुरिजम काउन्सिलको पछिल्लो प्रक्षेपणअनुसार यो वर्षदेखि पर्यटन क्षेत्रमा केही सकारात्मक संकेत देखिन थालेका छन्। यो वर्ष खर्च ९ प्रतिशतले बढ्ने छ। २०२२ मा त्यो ९८.८ प्रतिशतले बढेको छ। 

धेरै पर्यटक स्रोत मुलुकहरूमा गरिएको सर्वेक्षणअनुसार धेरै मान्छे घुम्ने योजना बनाइरहेका छन्। खोप लगाएका तथा आत्मविश्वास भएकाहरू पछिल्लो दुई वर्षदेखि घुम्न पाएका छैनन्। उनीहरू अब घुम्ने योजनामा छन्। तर उनीहरूको रोजाइमा परम्परागत गन्तव्यहरू परेका छैनन्। नयाँ गन्तव्यमा उनीहरूको आकर्षण देखिएको छ।

यो वर्ष अन्तर्राष्ट्रियको तुलनामा घरेलु पर्यटन फस्टाउने देखिएको छ। कोभिड प्रोटोकल अझै पनि कतिपय देशहरूमा कडा रहेकाले आन्तरिक पर्यटक नै फस्टाउने देखिएको छ। संसारका कतिपय देशको आन्तरिक पर्यटन यो वर्ष २०० प्रतिशतसम्म बढेको पाइएको छ।

अन्तरदेशीय घुमफिरका लागि विभिन्न मापदण्डहरू रहेको र कतिपय देशमा अझै कोरोना प्रभाव न्यूनीकरण नभएको, खोपको दर न्यून भएकाले पर्यटकहरू आफ्नै देशमा घुम्न धेरै जाने वर्ल्ड ट्राभल एण्ड टुरिजम काउन्सिलको अनुमान छ। यही कारणले गर्दा सयौँ देशमा आन्तरिक पर्यटकका कारणले यात्रा तथा होटल बुकिङमा दोबरभन्दा बढीले वृद्धि देखिएको छ।

images

प्रकाशित : आइतबार, पुस १८ २०७८०२:४८

प्रतिक्रिया दिनुहोस