काठमाडौं- आफु रहे/बसेको ठाउँमा पर्याप्त काम नपाएपछि एक गाउँबाट अर्को गाउँमात्र होइन एक देशबाट अर्को देशसम्म मान्छे पुग्छन्। काम गरेर कमाएको पैसा आफ्नो गाउँ वा देशमा पठाउँनै पर्यो। पछिल्लो केही दशकयता एक देशबाट अर्को देशमा काम गर्न जाने प्रचलन खुबै बढेको छ।
विश्वका १ अर्ब मानिस (विश्वको हरेक ८ जना मध्येबाट एक जना) विदेश गएकाबाट गृह देशमा पैसाको पर्खाइमा बसिरहेको अनुमान गरिएको छ। २०२२ मा वैदेशिक रोाजगानीमा रहेका २० करोड मानिसहले ८ खर्ब अमेरिकी डलर उनीहरुको देशमा पठाएको तथ्यांक छ। उक्त पैसामध्ये तीन चौथाई खाद्यान्न, औषधोपचार र घरायसी प्रयोजनमा खर्च भएको अनुमान गरिएको छ।
नेपालबाट पनि लाखौँको संख्यामा युवाहरु रोजगारीका लागि विदेशिएका छन्। नेपाली युवाहरुको रोजाइको देशमा खाडी मुलुकहरु पर्छन्। नेपालको अर्थतन्त्रमा रेमिट्यान्स (विप्रेषण) अर्थात विदेश गएका युवाहरुले कमाएको पैसाको ठूलो योगदान छ। देशले गर्ने आयात धान्ने पैसा रेमिट्यान्सको रुपमा नेपाल भित्रिरहेको छ।
नेपालमा सबैभन्दा बढी रेमिट्यान्स मलेसियासहित खाडी मुलुकहरुबाट आइरहेको छ। तर संसारको सबैभन्दा धेरै रेमिट्यान्स पठाउने मुलुक भने अमेरिका हो। अमेरिकामा पनि नेपालीहरु ठूलो संख्यामा छन्। तर त्यहाँ रहेका नेपालीहरु नेपालमा पैसा पठाउँनेभन्दा पनि त्यतै लगानी गरेर ‘सेटल हुने’ सोचमा भएकाले नेपालमा अमेरिकाबाट धेरै पैसा नआएको हो।
नोम्याडका अनुसार २०२२ मा अमेरिकाले सबैभन्दा धेरै पैसा (रेमिट्यान्स) अन्य देशमा पठाएको थियो। भिजुअल क्यापिटालिस्टले नोम्याडबाट लिएको तथ्यांकका आधारमा धेरै रेमिट्यान्स पठाउने देशको सूची तयार पारेको हो। यहाँ उल्लेखित पैसामा व्यक्तिले गरेको आयआर्जन र उसले पठाएको, कम्पनीहरुले काम गरे बापत गरेको भुक्तानीलगायतलाई समेटिएको छ। तर यहाँ उल्लेख गरिएको पैसामा वैदेशिक लगानी जोडिएको छैन।
अमेरिका लामो समयदेखि विश्वको सबैभन्दा ठूलो आप्रवासी जनसंख्याको घर रहिआएको छ। २०२२ को तथ्यांकअनुसार सो वर्ष अमेरिकामा ४ करोड ५० लाख मानिस आप्रवासी रहेका थिए। यही कारण हो पछिल्लो दुई दशकदेखि अमेरिका धेरै रेमिट्यान्स पठाउने देशको सूचीमा प्रथम स्थानमा रहेको।
२००० मा धेरै रेमिट्यान्स पठाउने १० देश
१. अमेरिका- ३५ अर्ब डलर
२. साउदी अरब- १५ अर्ब डलर
३. यूएई- १४ अर्ब डलर
४. जर्मनी- ९ अर्ब डलर
५. स्वीजरल्यान्ड- ६ अर्ब डलर
६. बेलायत- ५ अर्ब डलर
७. फ्रान्स- ५ अर्ब डलर
८. दक्षिण कोरिया- ४ अर्ब डलर
९. इज्रायल- ३ अर्ब डलर
१०. लक्जम्बर्ग- ३ अर्ब डलर
२०२२ मा सबैभन्दा धेरै रेमिट्यान्स पठाउने १० देश
१. अकेरिका- ८२ अर्ब डलर
२. यूएई- ४० अर्ब डलर
३. साउदी अरब- ३९ अर्ब डलर
४. स्वीजरल्यान्ड- ३४ अर्ब डलर
५. चीन- १८ अर्ब डलर
६. कुवेत- १८ अर्ब डलर
७. जर्मनी- १७ अर्ब डलर
८. लक्जम्बर्ग- १६ अर्ब डलर
९. नेदरल्यान्ड- १५ अर्ब डलर
१० फ्रान्स- १५ अर्ब डलर
२००० देखि २०२२ मा आइपुग्दा पठाउने पैसा दोबरभन्दा बढी भएर अमेरिका पहिलो नै रहेको छ। त्यस्तै २००० मा दोस्रो रहेको साउदी अबर २०२२ मा तेस्रो स्थानमा छ। २०२२ मा आइपुग्दा तेस्रोबाट यूएई दोस्रो स्थानमा रहेको छ। हरेक देशले पठाउने रेमिट्यान्स २००० को तुलनामा गुणात्मक रुपमा वृद्धि भएको छ।
२००० मा टप टेन सूची नरहेको चीन २०२२ मा आइपुग्दा १८ अर्ब डलर रेमिट्यान्स पठाएर पाँचौँ नम्बरमा आइपुगेको छ। २००० मा नवौँ स्थानमा रहेको इज्रायल २०२२ मा आइपुग्दा धेरै रेमिट्यान्स उठाउने १० देशको सूचीमा अटेन।
यता युरोपको स्वीजरल्यान्ड, नेदरल्यान्ड र लक्जम्बर्गलाई अफसोर वित्तीय केन्द्रका रुपमा समेत लिइन्छ। यी देशहरुलाई मध्यस्तकर्ताका रुपमा समेत पैसा पठाउनेहरुले प्रयोग गरेको हुनुपर्छ।
चालु आर्थिक वर्षको ११ महिनासम्ममा नेपालमा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। बैशाख मसान्तसम्ममा ११ खर्ब ९८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा जेठ महिनामा थप १ खर्ब २९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो।
गतवर्ष तुलनामा रेमिट्यान्स १९.३ प्रतिशतले वृद्धि भएको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार ११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भइ ९ अर्ब ९८ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १३ प्रतिशतले बढेको थियो। विभिन्न देशबाट नेपालले यो वर्ष १० अर्ब अमेरिकी डलरभन्दा बढी रेमिट्यान्स भित्र्याउने छ।