काठमाडौं- काठमाडौं महानगरपालिकाले कलंकीमा रहेको वर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ। अनलाइन मः मः अर्डर गर्ने ग्राहकलाई अस्वस्थकर अचार पठाएपछि कारबाही गरिएको हो।
महानगरपालिकाका खाद्य प्राविधिक अनिल बस्नेतका अनुसार दोस्रोपटक पठाइएको अचारमा पनि गन्ध आएकाले उपभोक्ताले महानगर प्रहरी बलमा उजुरी गरेका थिए।
उजुरीको छानबिनका लागि कार्यालयमा बोलाइएका वर्गर हाउसका सञ्चालक बिक्रम गिरीले मः मः को अचारमा गन्ध आएको स्वीकार गर्दै तयार पार्नेबित्तिकै फ्रिजमा राख्नुपर्ने अचार भुलवश बाहिर रहन गएकोले गन्ध आएको बताए।
यसमा कर्मचारीको लापरबाही भएको उनले स्वीकार गरे। खानाको स्वच्छतामा लापरबाही गर्ने कर्मचारीलाई कारबाही गरिसकेको जानकारी दिँदै सञ्चालक गिरीले गुणस्तरमा कुनै गुनासो नआउने गरी सेवा दिने प्रतिबद्धता गरेका छन्।
महानगरपालिकाको आफ्नै भवनमा सञ्चालित नारायणी चमेना गृहलाई पनि २ लाख रुपैयाँ जरिवाना गरिएको छ।
निरीक्षण अधिकृत एवं कृषि तथा पशुपक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेका अनुसार चमेना गृहबाट बिक्री हुने खाना तथा खाजाको स्वच्छताका विषयमा उपभोक्ताबाट गुनासो आएपछि खाद्य प्राविधिकले निरीक्षण गरेर लिखित निर्देशन दिइएको थियो। यसरी दिइएको निर्देशनको पनि पालना नभएपछि कारबाही गरिएको हो।