आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

दुलर्भ सुनौलो तोप चराको गणना गर्दै शुक्लाफाँटा निकुञ्ज

images
बिहीबार , असार २७ २०८१
images
दुलर्भ सुनौलो तोप चराको गणना गर्दै शुक्लाफाँटा निकुञ्ज

दक्षिण एसियाको नेपाल र भारतमा मात्रै पाइने संकटापन्न अवस्थामा रहेको सुनौलो तोप चराको आहारविहार, सङ्ख्या, बासस्थानलगायतको अध्ययन गरिने निकुञ्जका सूचना अधिकारी मनोज ऐरलेले जानकारी दिए।

images
images

कञ्चनपुर- विश्वमा दुलर्भ मानिएको सुनौलो तोप चराको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आजदेखि गणना सुरु गरेको छ। दुई समूहमा विभाजित भइ निकुञ्ज कार्यालयले सुनौलो तोप चराको अनुगमन तथा गणना सुरु गरेको हो।

images
images
images

अनुगमन कार्यमा रुफड फाउण्डेशन, चराविज्ञ सिम्रन ढकाल, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी), नेपाल पक्षी संरक्षण संघ (बीसीएन) र निकुञ्ज कार्यालयका प्रतिनिधि संलग्न रहेका निकुञ्जका सूचना अधिकारी मनोज ऐरले जानकारी दिए। दक्षिण एसियाको नेपाल र भारतमा मात्रै पाइने संकटापन्न अवस्थामा रहेको सुनौलो तोप चराको आहारविहार, सङ्ख्या, बासस्थानलगायतको अध्ययन गरिने उनले बताए।

images
images

'सुनौलो तोप चराको गुँडको अवस्था, सिकारी चराले पुर्‍याउने हानी, भाले र पोथीको सङ्ख्या, कस्तो प्रकारको कुन प्रजातिको रुखमा गुँड लगाउनेबारे अनुगमनका क्रममा अध्ययन गर्नेछौँ', ऐरले भने, 'योसँगै चरालाई कसरी संरक्षण गर्न सकिन्छ भनेर अनुगमनका क्रममा देखिएका समस्या र अवस्थाका बारेमा सरोकार भएकाबीच छलफल गरी संरक्षण र व्यवस्थापनको योजना बनाउने छौँ।'

images
images

नेपालका संरक्षित क्षेत्रमध्ये शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै सुनौलो तोप चरा पाइने सूचना अधिकारी ऐरले जानकारी दिए। निकुञ्जको घाँसे मैदानको बीच भागमा यस चराले गुँड लगाउने गर्दछ। झट्ट हेर्दा भगेराजस्तै देखिने र पहेँलो रङको हुने भएकाले यसलाई सुनौलो तोप भनिएको उनले बताए।

'रुखका हाँगामा कलात्मक तरिकाले पात सिएर चराले गुँड लगाउने गर्दछ। गुँड बनाएर यसले बच्चा जन्माउने गर्दछ', ऐरले भने, 'तोप चरा सुनौलो रङको धर्के परेको सुन्दर हुन्छ।'

सन् १९९६ मा निकुञ्जमा सुनौलो तोप पहिलोपटक देखिएको थियो। 'त्यसयता निकुञ्जले नियमित रूपमा यसको संरक्षण गरी तथ्यांक संकलन गरिरहेको छ। यसको सङ्ख्या वृद्धि गराउन निकुञ्जले प्रजनन क्षेत्रको विस्तार गर्ने काम गरिरहेको छ', उनले भने।

गत वर्ष गरिएको अनुगमनबाट निकुञ्जमा सुनौलो तोप दुई सय ११ को सङ्ख्यामा देखापरेको बताउँदै सूचना अधिकारी ऐरले अघिल्लो वर्ष दुई सय ४४ को सङ्ख्यामा देखापरेका जानकारी दिए। 'किसानको साथीका रूपमा रहेको उक्त चराले कीराफट्याङ्ग्रा खान मन पराउँछ', उनले भने, 'सामूहिक रूपमा गुँड लगाउने, बस्ने र सामूहिक रूपमा आहारा खोज्न जाने भएकाले यसलाई सामाजिक चराका रूपमा पनि लिने गरिन्छ।' 

निकुञ्ज नजिकका ताल, सिमसार क्षेत्र नजिकका काँडेदार रुखमा गुँड लगाउने यसको विशेषता रहेको ऐरले बताए। उनका अनुसार मनसुनको समय सुनौलो तोप चराले अन्य समयमा भन्दा बढी प्रजनन गर्ने गर्दछ।

तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा सुनौलो तोप चरासँगै चार सय २३ प्रजातिका चरा रहेका निकुञ्ज कार्यालयले जनाएको छ। तीमध्ये १९ किसिमका दुलर्भ प्रजातिमा पर्दछन्। रासस


प्रकाशित : बिहीबार , असार २७ २०८११६:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend