बुधबार, मंसिर १२ गते २०८१    
images
images

सूचना प्रविधिलाई सर्वसाधारणले बुझ्नेगरी अगाडि बढाइनुपर्छ :  सञ्चारमन्त्री शर्मा

images
बिहीबार , असार २७ २०८१
images
images
सूचना प्रविधिलाई सर्वसाधारणले बुझ्नेगरी अगाडि बढाइनुपर्छ :  सञ्चारमन्त्री शर्मा

चालु आर्थिक वर्षमा सातै प्रदेशमा डिजिटल साक्षरताका कार्यक्रम राखिएको भए पनि सञ्चालन हुन नसकेको उल्लेख गर्दै सञ्चारमन्त्री रेखा शर्माले उक्त कार्यक्रम आगामी आर्थिक वर्षमा सञ्चालन हुने विश्वास व्यक्त गरिन्।

images
images

ललितपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिलाई सर्वसाधारणले बुझ्नेगरी अगाडि बढाउनुपर्ने बताएकी छिन्।

images
images
images

नेपाल दूरसञ्चार प्राधिकरण र त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययनसंस्थानद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित ‘सेन्टर अफ एक्सिलेन्स फर आईसीटी रिसर्च एण्ड डेभलपमेन्ट’को उद्घाटन गर्दै उनले सूचना प्रविधिको वर्तमान युगमा यसको विकास नेपाली जनताले बुझ्ने र प्रयोग गर्ने भाषामा हुनुपर्ने बताइन्।

images

'नेपाल सरकारले आईसीटीको महत्वलाई बुझेर विकासका लागि धेरै काम गरेको छ, यसलाई अभियानका रुपमा विकास गरिनुपर्छ, सर्वसाधारणले बुझ्ने गरी सूचना प्रविधिलाई अगाडि बढाइनुपर्छ, यस वर्षको बजेटमा पनि आर्थिक समृद्धिका पाँच रणनीतिक क्षेत्रभित्र सूचनाप्रविधिलाई समेटिएको छ, १६औँ पञ्चवर्षीय योजनामा समेत आईसीटीलाई समेटिएको छ, बजेटमा कृषि दशक र आईसीटी दशक घोषणा भएको छ। उच्च क्षमताको इन्टरनेट उपलब्ध गराएर युवालाई अनुसन्धानमा सहयोग गर्नुपर्छ', मन्त्री शर्माले भनिन्।

images

चालु आर्थिक वर्षमा सातै प्रदेशमा डिजिटल साक्षरताका कार्यक्रम राखिएको भए पनि सञ्चालन हुन नसकेको उल्लेख गर्दै मन्त्री शर्माले उक्त कार्यक्रम आगामी आर्थिक वर्षमा सञ्चालन हुने विश्वास व्यक्त गरिन्। उनले त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थान देश र विदेशमा चिनिएको संस्था भएको उल्लेख गर्दै दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा सञ्चालित उक्त कार्यक्रम सफल पार्न संस्थानको भूमिका महत्वपूर्ण हुने बताइन्।

'विश्वविद्यालयबाट तयार भएका जनशक्ति र उद्योगलाई कसरी जोड्ने भन्ने चुनौती छ, आईसीटीको विकासले विदेशिनुपर्ने बाध्यता हट्ने छ, विश्वभर प्रतिस्पर्धा गर्न सक्छौँ, देशको सूचना प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्ने माध्यमको रुपमा संस्थान सफल हुनेछ', मन्त्री शर्माले भनिन्। साइबर सुरक्षाका लागि पुराना कानूनलाई संशोधन गर्ने र नयाँ कानून निर्माण गर्ने कार्यको सुरुवात भइसकेको उनले जानकारी दिइन्।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजंग बरालले आईसीटी क्षेत्रको विकासका लागि सरकार, विश्वविद्यालय र इञ्जिनियरिङ अध्ययन संस्थानसँगसँगै जानुपर्नेमा जोड दिए। 'सामाजिक र गुणस्तरीय जीवनका लागि उपयोगी हुनेगरी आईसीटी क्षेत्रको अनुसन्धान र नवप्रवर्तनमा ध्यान दिनुपर्ने छ, यसमा यो कार्यक्रम सफल हुनेछ भन्ने विश्वास छ', उनले भने।

नेपाल इञ्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा डा शशीधरराम जोशीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्यार्थीको आकर्षण बढाउन इञ्जिनियरिङ अध्ययन संस्थानले सामसुङ कम्पनी, क्यानाडाको आइटी कम्पनीसहित अन्य देशका आइटी कम्पनीसँग सम्झौता गरेर काम गरिरहेको बताए। उनले संस्थानले आईसीटी क्षेत्रमा नेपालका लागि मात्रै होइन अन्तर्राष्ट्रिय रुपमै काम गर्नसक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको उल्लेख गर्दै साइवर सुरक्षाका लागि दक्षिण कोरियाको विश्वविद्यालयसँग सहकार्य गरेर काम गरिरहेको बताए।

क्याम्पस प्रमुख प्रा डा इन्द्रप्रसाद आचार्यले  निरन्तर अध्ययन र अनुसन्धानका लागि दूरसञ्चार प्राधिकरणबाट सहयोग प्राप्त भएको बताए। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले अध्ययन अनुसन्धानबाट प्राप्त उपलब्धिले देशलाई महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले यस सहकार्यबाट नेपाल सरकारलाई डिजिटल प्रशासन सञ्चालन गर्न समेत सहयोग पुग्ने बताए। रासस


प्रकाशित : बिहीबार , असार २७ २०८११५:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend