काठमाडौं- यही असार २६ गते बुधबारदेखि १५ दिनसम्म पृथ्वी राजमार्गको नौबिसे-मलेखु खण्ड राति १० बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने भएको छ।
नागढुंगा-मुग्लिन सडक योजना (पूर्वीखण्ड) ले मंगलबार एक सूचना जारी गरी नौबिसे-मलेखु सडकखण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाको पुलमा गर्डर राख्नुपर्ने भएकाले असार २६ देखि साउन ९ गतेसम्म राति १० देखि बिहान ३ बजेसम्म सवारी साधन आवतजावत रोकिने जनाएको छ।
एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधन भने चल्न पाउने आयोजनाले जनाएको छ। राति यो सडक बन्द हुने बेलामा वैकल्पिक मार्गका रुपमा गल्छी-बिदुर-छहरे-टोखा सडक प्रयोग गर्न सकिने छ।