काठमाडौं- एनआईएमबी एस क्यापिटलले सञ्चालन गर्दै आएको एनआईबीएल इक्विटी पार्टनरले जगदम्बा स्पिनिङ मिलमा लगानी गर्ने भएको छ।
नेपाल धितोपत्र बोर्डबाट कोष व्यवस्थापनको अनुमति पाएको एनआईबीएलले जगदम्बामा लगानी गर्ने सम्बन्धमा सम्झौता भएको छ।
लगानीसम्बन्धी सम्झौतामा एनआईएमबी एस क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथबहादुर पाण्डे र जगदम्बा स्पिनिङको तर्फबाट विष्णु न्यौपानेले हस्ताक्षर गरेका छन्।
भविष्यमा सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारी गरेको जगदम्बा स्पिनिङले यो लगानीबाट ४० प्रतिशत क्षमता विस्तार गर्ने लक्ष्य लिएको छ। हाल दैनिक ५० टन धागो उत्पादनको क्षमता भएको उद्योगले १ हजार जनालाई प्रत्यक्ष रोजगारी दिएको छ।
९५ प्रतिशत उत्पादन निर्यात गर्दै आएको जगदम्बाले पोलिस्टर लगायतका धागो उत्पादन गर्दै आएको छ। अन्य ब्लेन्डेड धागो पनि उत्पादन गर्दै आएको उद्योगले निर्यातको गन्तव्य विविधीकरणसँगै उत्पादन क्षमता बढाउने घोषणा गरेको छ।
आन्तरिक रोजगारी सिर्जना तथा निर्यातमा केन्द्रित उद्योगमा लगानी गर्न पाउँदा गौरव महसुस गरेको एनआईएमबीका सीईओ पाण्डेले जानकारी दिए। ‘हामी नेपालको अर्थतन्त्रलाई बढावा दिने र देशभित्रै रोजगारी सिर्जना गर्ने दिगो व्यवसायको विकासलाई सहजीकरण गर्न प्रतिबद्ध छौँ,’ पाण्डेले भने। उनले नेपालमा जगदम्बा स्पिनिङ्ग मिल्सजस्तो अझ धेरै संस्थाहरुको आवश्यकता रहेको बताए।
त्यस्तै जगदम्बा स्पिनिङका प्रबन्ध निर्देशक न्यौपानेले बलियो वित्तीय साझेदार पाएकाले क्षमता विस्तारको आफ्नो योजनाले साकार रुप पाउनेमा विश्वास व्यक्त गरे। जेएसएमले स्थापना गरेका दुई प्लान्टबाट दैनिक ५० मेट्रिक टन धागो उत्पादन गर्ने क्षमता रहेको न्यौपानले बताए। यसको उत्पादनको लगभग ९५ प्रतिशत मुख्यतया भारतीय बजारमा निर्यात गरिन्छ, कम्पनीले दक्षिण एसियाली क्षेत्रलाई समावेश गर्न आफ्नो निर्यात रणनीतिलाई विविधीकरण गर्ने योजना बनाएको छ,’ न्यौपानेले भने।
जेएसएमले झण्डै एक हजार कामदारलाई रोजगारी दिएको समेत उनले बताए। कम्पनी उच्च गुणस्तरको धागो उत्पादन गरी नेपालको अग्रणी कपडा उद्योग बन्ने लक्ष्य राखेको समेत बताए।