आइतबार, भदौ २३ गते २०८१    
images
images

तीव्र विस्तार भइरहेका विश्वका १३ अटोमोबाइल ब्रान्ड

विद्युतीय कार उत्पादक कम्पनी अग्रस्थानमा

images
सोमबार, असार २४ २०८१
images
images
तीव्र विस्तार भइरहेका विश्वका १३ अटोमोबाइल ब्रान्ड

२०३० मा पुग्दा विश्व अटोमोबाइल बजारमा लाइट भेहिकलको भ्यालु २६ खर्ब ७० अर्ब डलर हुने अनुमान गरिएको छ।

images
images

काठमाडौं- पछिल्लो केही दशकयता अटोमोबाइल उद्योगले राम्रै वृद्धि हासिल गरिरहेको छ। तर कोरोना महामारीपछि केही ब्रेक भने लागेको छ। सोही कारण २०२२ मा विश्व अटोमोबाइल बजारमा प्यारेन्जर कारको मार्केट भ्यालु १६ खर्ब ६० अर्ब डलरको रहेको थियो। 

images
images
images

एसएन्डपी ग्लोबल मोबिलिटीका अनुसार २०२४ मा विश्वभर ८ करोड ८३ लाख कार बिक्री हुने अनुमान छ। विश्वको सबैभन्दा ठूलो अटोमोबाइल बजार अमेरिका हो। २०२३ मा अमेरिकामा १ करोड ५५ लाख हलुका सवारी बिक्री भएको थियो। त्यस्तै दोस्रो ठूलो अटोमोबाइल बजार चीन हो। अर्थतन्त्रमा व्यापक सुधार आएसँगै चीनमा पछिल्लो केही दशकयता कार बिक्री उल्लेख्य रुपमा बढेको छ। 

२०२३ देखि २०३० सम्म विश्व अटोमोबाइल बजारको चक्रिय वार्षिक वृद्धिदर ६.१ प्रतिशत हुने प्रक्षेपण गरिएको इनसाइडरमंकी डटकमले लेखेको छ। २०३० मा पुग्दा विश्व अटोमोबाइल बजारमा लाइट भेहिकलको भ्यालु २६ खर्ब ७० अर्ब डलर हुने अनुमान गरिएको छ। 

पछिल्लो पाँच वर्ष (२०१८-२०२३) विश्वका ठूला सवारी उत्पादन र उदीयमान अटोमोबाइल ब्रान्डको वार्षिक वृद्धिदरअनुसार सर्वाधिक वृद्धिदर हासिल गर्ने १३ ब्रान्डबारे उल्लेख गरिएको छ। विश्वभर विद्युतीय सवारीको माग तथा उत्पादन बढ्दै भएकाले विद्युतीय सवारी उत्पादक कम्पनी नै सर्वाधिक वृद्धि हासिल गर्ने कम्पनी बनेका छन्। 

images

१. बीवाईडी कम्पनी लिमिटेड

byd vs tesla.png

बीवाईडी संसारको सबैभन्दा तीव्र विकास भइरहेको पहिलो अटोमोबाइल कम्पनी हो। चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादन गर्ने बीवाईडीले हाल विद्युतीय र हाइब्रिड सवारी उत्पादन गर्दै आएको छ। ठूला बसदेखि कारसम्म विद्युतीय बनाइरहेको बीवाईडी विश्व बजारमा अत्याधुनिक विशेषता र डिजाइनसहितको विद्युतीय कार लिएर अघि बढिरहेको छ। 

२०१८ देखि २०२३ सम्मको आवधिमा बीवाईडीको चक्रिय वार्षिक वृद्धिदर ३५.८५ प्रतिशत रहेको छ। 

हाल बीवाईडीसँग विश्वभर ३० वटाभन्दा बढी औद्योगिक पार्कहरु रहेका छन्। बीवाईडीले चीनसहित थाइल्यान्ड प्लान्ट सञ्चालनमा ल्याइसकेको छ भने युरोपमा दुईवटा कार उत्पादन प्लान्ट स्थापनाको अन्तिम तयारीमा रहेको छ। बीवाईडीका विद्युतीय कार नेपाली बजारमा पनि लाकप्रिय रहेका छन्। साइमेक्स इंक प्रालिले बीवाईडीका डलफिन, एटो थ्री र सिल ईभी उपलब्ध गराएको छ। 

बीवाईडी २०२३ मा आइपुग्दा संख्याका आधारमा संसारको सबैभन्दा धेरै विद्युतीय सवारी (न्यू इनर्जी भेहिकल) उत्पादन कम्पनी बनेको थियो।  

२. टेस्ला इंक

byd vs tesla.png

पछिल्लो दशक र अहिलेपनि विश्वको सबैभन्दा चर्चित कम्पनी हो टेस्ला इंक। अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्ला इंक चर्चित हुनुमा कम्पनी र उत्पादन त छँदै छ, त्योभन्दा बढी कम्पनीका सीईओ एलन मस्क पनि हुन्।

एलन मस्कको कम्पनी टेस्लाले अटोमोबाइल उद्योगमा कारको मानक नै बदलिदिएको छ। टेस्लाका विद्युतीय कार उच्च प्रविधियुक्त र अत्याधुनिक विशेषताले भरिएका छन्। 

टेस्लाका कार नेपाली बजारमा पनि उपलब्ध छ। अरेट इन्टरनेशसनलले टेस्लाका विद्युतीय कार मोडल थ्री र मोडल वाई हाल उपलब्ध गराइरहेको छ। 

२०१८ देखि २०२३ काने आवधिमा टेस्ला इंकको चक्रिया वार्षिक वृद्धिदर २५.१५ प्रतिशत रहेको छ। 

३. बीएमडब्लू

byd vs tesla.png

बीएमडब्लू जर्मनीको विलासी कार उत्पादन मध्येको एक कम्पनी हो। बीएमडब्लूले मोटरसाइकलदेखि कारसम्म उत्पादन गर्दै आएको छ। बीएमडब्लू ग्रुपअन्तर्गत बीएमडब्लू, मिनि र रोल्स रोयस ब्रान्डहरु छन्। 

२०१८ मा बीएमडब्लूको वार्षिक आम्दानी ८४ अर्ब १ करोड डरल रहेकोमा २०२३ मा आइप्ग्दा कम्पनीको आम्दानी बढेर १ खर्ब ७० अर्ब डलर पुगेको थियो। २०१८ देखि २०२३ सम्म बीएमडब्लूको चक्रिय वार्षिक वृद्धिदर १५.१४ प्रतिशत रहेको थियो। 

बीएमडब्लूका कार नेपाली बजारमा पनि उपलब्ध रहेको छ। विगतदेखि नै नेपालमा उपलब्ध बीएमडब्लूको आधिकारिक बिक्रेतान पछिल्लो पटक लक्ष्मी प्रिमियम मोटर रहेको छ। लक्ष्मी प्रिमियमले बस्पएडब्लूको सेभेन सिरिजदेखि विद्युतीय कार आईएक्स वान र आईएक्स वान पनि भित्र्याएर बिक्री गरिरहेको छ। 

४. फरारी

इटालीयन स्पोर्टस तथा विलासी कार निर्माता कम्पनी हो फरारी। डिजाइन, इन्जिनियरिङ र उत्पादनका लागि विश्वप्रशिद्ध विलासी कार फरारीले उत्पादन गर्छ। फर्मुला वानमा पनि फरारीका कारहरु चर्चित रहँदै आएका छन्। 

फरारीका कार नेपाली बजारमा भने औपचारिक रुपमा भित्रिएका छैनन्। महँगो र उच्च विलासी कार भएकाले नेपाली सडकमा उक्त कार राम्रोसँग गुडाउन कठिन हुने भएकाले नआएका हुनसक्छ। 

२०१८ मा ३ अर्ब ६० करोड डलर रहेको फरारीको वार्षिक आम्दानी २०२३ मा आइपुग्दा बढेर ६ अर्ब ४० करोडल डलर पुगेको थियो। २०१८ देखि २०२३ को बीचमा फरारीको चक्रिय वार्षिक वृद्धिदर ११.७६ प्रतिशत रहेको थियो। 

५. हुन्डाई मोटर कम्पनी

byd vs tesla.png

कोरियाली कार निर्माता कम्पनी हुन्डाई मोटरले २०२३ मा विश्वभर ४२ लाख १६ हजार ८ सय ९८ वटा कार बिक्री गरेको थियो। आईसी इन्जिन कारमा केन्द्रित हुन्डाई पछिल्लो समय भने विद्युतीय कारमा आक्रामक छ। त्यस्तै हुन्डाईले हाइड्रोजन फ्युलसेलमा समेत काम गरिरहेको छ। 

हुन्डाईका कार नेपाली बजारमा पनि उपलब्ध छन्। हुन्डाईका कार बिक्री गर्दै आएको लक्ष्मी इन्टरकन्टिनेन्टलले अर्को कम्पनी लक्ष्मी मोटर कर्पोरेसनमार्फत दुई महिनाअघिदेखि नेपालमै हुन्डाईको भेन्यू एसेम्बल सुरु गरेको छ। 

अमेरिकी बजारका साथै एसियाली बजारमा आक्रामक विस्तारमा रहेको हुन्डाईको २०१८ देखि २०२३ सम्म चक्रिय वार्षिक वृद्धिदर १०.९४ प्रतिशत रहेको छ। 

६. स्टेलेन्टिस

byd vs tesla.png

फियाट क्राइसलर अटोमोबाइल र पीएसए ग्र्रुप मिलेर स्टेलेन्टिस कम्पनी बनेको हो। यो कम्पनी अन्तर्गत करिब एक दर्जन ब्रान्डका सवारीसाधन उत्पादन हुन्छन्। 

दुई शक्तिशाली अटो ग्रुप मिलेर बनेको स्टेलेन्टिसले विश्व अटोमोबाइल बजारमा आफूलाई थप शक्तिहशाली कम्पनीका रुपमा उभ्याएको छ। स्टेलेन्टिसअन्तर्गतका जिप, प्युजो, सिट्रोनलगायत कम्पनीका कार नेपाली बजारमा उपलब्ध छन्। 

२०१८ मा १ खर्ब ३२ अर्ब ७१ करोड डलर आम्दानी गरेको स्टेलेन्टिसले २०२३ मा आइपुग्दा आम्दानी बढाएर २ खर्ब ३ अर्ब २१ करोड डलर पुगेको हो। २०१८ देखि २०२३ सम्म स्टेलेन्टिसको चक्रिय वार्षिक वृद्धिदर १०.४३ प्रतिशत रहेको छ। 

७. पोर्सा एजी

पोर्सा जर्मन विलासी स्पोर्टस कार निर्माता कम्पनी हो। पोर्साका पूर्णविद्युतीय स्पोर्टस कार टाइकनले विश्वभर चर्चा बटुलिरहेको छ। निक्कै शक्तिशाली यो विद्युतीय कार हालै नेपाली बजारमा समेत भित्रिएको हो। 

गत वर्ष पोर्साले ४० हजार ६ सय २९ वटा विद्युतीय टाइकन बिक्री गरेको थियो। २०१८ मा पोर्साको आम्दानी २४ अर्ब ६५ करोड डलर रहेकोमा २०२३ मा बढेर ४३ अर्ब ४२ करोड डलर पुगेको हो। २०१८ देखि २०२३ सम्मको अवधिमा पोर्साको चक्रिय वार्षिक वृद्धिदर ९.४५ प्रतिशत रहेको थियो। 

८. टोयोटा मोटर कर्प

byd vs tesla.png

बिक्री संख्याका आधारमा विश्वको सबैभन्दा ठूलो सवारी उत्पादक कम्पनी टोयोटा मोटर हो। जापानी कम्पनी टोयोटाका कोरोला, र्‍याभफोर, क्याम्री विश्वभर चर्चिर रहेका मोडल हुन्। 

विद्युतीय कार उत्पादनमा कम सक्रिय रहेको आरोप खेप्दै आएको टोयोटाले ३० ब्याट्रीमा आधारित विद्युतीय कार उत्पादन गर्ने घोषणा गरेको छ। २०३० भित्रमा टोयोटाले वार्षिक ३५ लाख ब्याट्रीमा आधारित विद्युतीय उत्पादन गर्ने बताएको छ। 

टोयोटाका कार नेपाली बजारमा युनाइटेड ट्रेडर्सले बिक्री गर्दै आएको छ। टोयोटाको हाइलक्स र ल्यान्डक्रुजर नेपालमा लोकप्रिय छन्। 

२०१८ देखि २०२३ सम्मको अवधिमा चक्रिय वार्षिक वृद्धिदर ७.०८ प्रतिशत रहेको छ। 

९. फक्सवागन एजी

byd vs tesla.png

फक्सवागन अटो ग्रुप जर्मन कार उत्पादक कम्पनी हो। युरोपदेखि अमेरिका क्षेत्र र एसियाली बजारमा फक्सवागनका कार लोकप्रिय छन्। टोयोटाले उछिन्नुपूर्व बिक्री संख्याका आधारमा फक्सवागन विश्वको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी थियो। 

विद्युतीय कार उत्पादनमा केन्द्रित हुँदै गएको फक्सवागनले २०२३ मा ३ लाख ९४ हजार विद्युतीय कार बिक्री गरेको थियो। फक्सवागनका कार नेपाली बजारमा पूजा इन्टरनेसनलले बिक्री गर्दै आएको छ। 

२०१८ मा फक्सवागनको वार्षिक आम्दानी २ खर्ब ५२ अर्ब ९० करोड रहेकोमा २०२३ मा बढेर ३ खर्ब ४५ अर्ब ६८ करोड डलर पुगेको थियो। २०१८ देखि २०२३ सम्म फक्सवागनको चक्रिय वार्षिक वृद्धिदर ६.४५ प्रतिशत रहेको थियो। 

१०. होन्डा मोटर कम्पनी

जापानी कम्पनी होन्डा मोटरले कारदेखि मोटरसाइकल हुँदै पावर इक्युपमेन्टसमेत उत्पादन गर्दै आएको छ। कुनै समय होन्डाको सिभिक कार सर्वाधिक बिक्री हुने कार थियो। 

नेपालमा स्याकार ट्रेडिङले बिक्री गर्दै आएको होन्डा कारको बिक्री नगन्य रहेको छ। २०१८ देखि २०२३ सम्मको आवधिमा होन्डाको चक्रिय वार्षिक वृद्धिदर ५.८७ प्रतिशत रहेको थियो। 

११. जनरल मोटर्स कम्पनी

अमेरिकी कार उत्पादक कम्पनी जनरल मोटर्स (जीएम) उदीयमान अटोमोबाइल ब्रान्डको ११औँ नम्बरमा रहेको छ। जीएम अन्तर्गत सेब्रोले, जीएमसी, क्याडिलक र ब्युक ब्रान्डका कार उत्पादन हुन्छन्। 

जीएम पनि पछिल्लो समय विद्युतीय कार केन्द्रित हुन थालेको छ। गतमा आधिकारिक बिक्रेताको रुपमा जीएमको सेब्रोले ब्रान्ड नेपाल आएको भएपनि अहिले आउँदैन। २०१८ देखि २०२३ सम्मको अवधिमा जीएमको चक्रिय वार्षिक वृद्धिदर ३.१७ प्रतिशत रहेको छ। 

१२. टाटा मोटर्स

byd vs tesla.png

भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सले प्यासेन्जर कारका साथै कमर्सियल सवारी पनि उत्पादन गर्दै आएको छ। एसिया क्षेत्रमा टाटाका कमर्सियल र प्यासेन्जर कार ठूलो संख्यामा बिक्री हुँदै आएको छ। 

२०१८ मा टाटा मोटर्सको वार्षिक आम्दानी ४४ अर्ब २३ करोड डलर रहेकोमा २०२४ मा आइपुग्दा बढेर ५० अर्ब ९२ करोड डलर पुगेको हो। टाटा मोटर्स पछिल्लो समय विद्युतीय सवारी उत्पादनमा केन्द्रित रहेको छ। टाटा मोटर्सको प्यासेन्जर कार र कमर्सियल गाडी नेपाली बजारमा सिप्रदी ट्रेडिङले बिक्री गर्दै आएको छ। टाटाका विद्युतीय कार नेपालमा ठूलै संख्यामा बिक्री हुँदै आएको छ। 

२०१८ देखि २०२३ सम्ममा टाटा मोटर्सको चक्रिय वार्षिक वृद्धिदर २.८६ प्रतिशत रहेको छ। 

१३. फोर्ड मोटर कम्पनी

byd vs tesla.png

अमेरिकी कार उत्पादक कम्पनी फोर्डले कार, पिकअप तथा भ्यान उत्पादन गर्दै आएको छ। त्यस्तै फोर्डले लक्जरी ब्रान्ड लिंकन पनि अप्रेट गर्छ। २०१८ मा फोर्डको वार्षिक आम्दानी १ खर्ब ६० अर्ब ३० करोड डलर रहेको थियो। २०२३ मा आइपुग्दा यो बढेर १ खर्ब ७६ अर्ब डलर पुगेको छ। 

फोर्डका कार नेपाली बजारमा गोल्छा अर्गनाइजेसन अन्तर्गतको जीओ अटोमोबाइलले बिक्री गर्दै आएको छ। भारतमा प्लान्ट बन्द गरेपछि हाल नेपालमा फोर्डका प्रिमियम कार मात्र उपलब्ध छन्। 

२०१८ देखि २०२३ सम्मको अवधिमा फोर्ड मोटर कम्पनीको चक्रिय वार्षिक वृद्धिदर १.८९ प्रतिशत रहेको थियो। 


प्रकाशित : सोमबार, असार २४ २०८११०:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend