आइतबार, भदौ २३ गते २०८१    
images
images

नेपाल टेलिकमको प्रबन्ध निर्देशक सिफारिसलाई बार्गेनिङको अस्त्र बनाउँदै सचिव सुवेदी

images
सोमबार, असार २४ २०८१
images
images
नेपाल टेलिकमको प्रबन्ध निर्देशक सिफारिसलाई बार्गेनिङको अस्त्र बनाउँदै सचिव सुवेदी

टेलिकमको नयाँ बिलिङको टेन्डर विचाराधीन रहेको तथा फाइभजीको नयाँ परियोजना सुरू हुने मुखमा नेतृत्वमा बाहिरबाट ल्याउनु भनेको स्वार्थ रहेको कर्मचारीहरूको भनाइ छ।

images
images

काठमाडौं- नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले बार्गेनिङको अस्त्र बनाएका छन्। 

images
images
images

टेलिकममा प्रबन्ध निर्देशक नियुक्ति गर्नका लागि सचिव सुवेदीले जे चाहे त्यही हुने अवस्था रहेको छ। सुवेदीले चाहेको खण्डमा नियुक्ति रोक्न वा अघि बढाउन सक्ने अवस्था रहेको छ। 

यही सुविधाको फाइदा उठाउँदै सुवेदीले वर्तमान सरकार र सम्भावित नयाँ सरकारको नेतृत्व गर्ने पार्टीहरूसँग बार्गेनिङ गरिरहेका छन्। 

स्रोतका अनुसार नयाँ एमडी नियुक्तिको प्रक्रिया अघि बढाउने तयारी तीव्र भएपछि एमाले र कांग्रेसका नेताहरूले सुवेदीलाई फोन गरेर हतार नगर्न सुझाव दिएका थिए। 

images

यसरी सुझाव दिँदा सुवेदीले उल्टो आफ्नो भविष्यका बारेमा पनि कुरा गरेका थिए। यदि अहिले सहयोग गर्ने हो भने पछिको सरकारमा आफूले के पाउँछु भन्ने उनको प्रतिप्रश्न रहेको थियो। 

माओवादीनिकट मानिने सुवेदी अहिले नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै मुख्यसचिव बनाउन तयार भएमा आफू सिफारिस गर्न तयार रहेको भन्दै बार्गेनिङ गरिरहेका छन्। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रबन्ध निर्देशक नियुक्तिका लागि माग गरेको आवेदनमा टेलिकममै कार्यरत कर्मचारीदेखि पूर्वप्रबन्ध निर्देशकसम्मले इच्छा देखाएका छन्। 

पदावधि नसकिँदै यसअघिका प्रबन्ध निर्देशक भ्रष्टाचारमा दोषी ठहर भएपछि हाल कायममुकायम प्रबन्ध निर्देशक संगिता पहाडीदेखि पूर्वप्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यसम्मले आवेदन दिएका छन्।

त्यस्तै टेलिकमकै कर्मचारी विमल आचार्य, कृष्णप्रसाद भण्डारीले पनि आवेदन दिएका छन्। आवेदन दिएकामध्येबाट छनौट समितिले तीन जनालाई छनौट गरेर नियुक्तिका लागि सिफारिस गर्ने व्यवस्था रहेको छ। 

समितिले आजै १६ जनाको अन्तर्वाता लिइसकेको छ। यसरी सबैमध्येबाट तीनजनाको नाम सिफारिस गर्नुपर्नेछ। सचिव सुवेदीले यही सिफारिसका लागि बार्गेनिङ गरिरहेका छन्। यदि अहिलेको सरकारले मुख्यसचिव बनाउने भएमा सिफारिस गर्ने, नभए पछि आउने सरकारबाट लाभदायक ठाउँ पाउनका लागि भएपनि ढिला गर्दिने तयारी गरेका छन्। 

अहिले सचिवमध्ये वरिष्ठतामा दोस्रो नम्बरमा भएका सुवेदी जसरी पनि मुख्यसचिव बन्ने ध्याउन्नामा लाग्दा नेपाल टेलिकमको एमडी सिफारिसलाई औजार बनाएका हुन्। 

कम्पनीका रुपमा दर्ता भएको टेलिकमको नियुक्ति सञ्चालक समितिले गर्नुपर्नेमा मन्त्रिपरिषदबाट हुँदै आएको छ। टेलिकममा हुने खरिद तथा अन्य लाभ लिन राजनीतिक नेतृत्वले सधैँ नियुक्तिमा चलखेल गर्दै आएको छ। योपालि पनि त्यस्तो कसरत देखिएको छ। 

प्रबन्ध निर्देशक नियुक्तिका लागि निर्देशिका नै एउटा व्यक्तिलक्षित गरेर संशोधन गरिएको छ। जनक शिक्षा सामग्री लिमिटेडको प्रमुख रहेका इन्जिनियर अनिलकुमार झालाई टेलिकममा ल्याउनका लागि संशोधन गरिएको छ। झालाई टेलिकममा ल्याउन प्रधानमन्त्री दाहाल नै अग्रसर देखिएका छन्। 

यसअघि नै टेलिकमको व्यवस्थापन बाहिरबाटै प्रबन्ध निर्देशक नियुक्त गरिएको थियो। सुनिल पौडेललाई प्रबन्ध निर्देशक बनाउन पनि निर्देशिका संशोधन गरिएको थियो। फेरि पनि सरकारले आफूले रुचाएको व्यक्तिलाई टेलिकममा ल्याउन निर्देशिक संशोधन गरेको हो।

सुनिल पौडेल ल्याउन १५ वर्षको कार्य अनुभवलाई १२ वर्ष र व्यवस्थापकीय भूमिकामा ५ वर्ष काम गरेको हुनुपर्ने व्यवस्थालाई ३ वर्षमा झारिएको थियो। अहिले फेरि त्यसमा पनि संशोधन गरिएको छ।

अहिले संशोधन निर्देशिकामा सिभिल इन्जिनियरिङ वा मेकानिकल इन्जिनियरिङ शब्द थप गरिएको छ। यसैगरी ५६ वर्षको ठाउँमा ५८  वर्ष बनाइएको छ। साथै सबैभन्दा बढी सेटिङ तीन वर्षको व्यवस्थापकीय पदमा काम गरेको हुनुपर्ने व्यवस्था संशोधन गरेर गरिएको छ।

मेकानिकल इन्जिनियरिङलाई मान्यता दिनुको पछाडि झा लक्षित रहेको छ। जनक शिक्षाका प्रबन्ध निर्देशक इन्जिनियर अनिल झाका लागि यस्तो व्यवस्था बनाइएको हो। उनी दूरसञ्चार प्राधिकरणको अध्यक्षको प्रतिस्पर्धामा समेत थिए।

प्राधिकरणको अध्यक्ष बनाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले अन्तिमसम्म लबिङ गरे पनि सञ्चारमन्त्री रेखा शर्मा कुनै पनि हालतमा सहमत भएकी थिइनन्। शर्माले प्राधिकरणमा भुपेन्द्र भण्डारीको नाममा अडान कसेर झालाई कुनै पनि हालतमा अध्यक्ष बनाउन नसकिने अडान लिएकी थिइन्। तर प्राधिकरणमा अध्यक्ष हुन नपाएपछि झालाई मिल्नेगरी फेरि नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिमा खेल्न खोजिएको स्रोतहरूको भनाइ छ।

टेलिकमभित्रै ग्रुमिङ भएका व्यवस्थापकबाट प्रबन्ध निर्देशक बनाउँदा काम गर्न सहज हुने भन्दै कर्मचारी युनियनले पनि यसअघि विरोध गरेको थियो। बाहिरबाट नेतृत्व ल्याउने भनेको टेलिकमलाई सुधारभन्दा पनि भ्रष्टाचार गर्नका लागि हो भनेर प्रष्ट हुने त्यहीका अधिकारीहरूले बताउँदै आएका छन्।

टेलिकमको नयाँ बिलिङको टेन्डर विचाराधीन रहेको तथा फाइभजीको नयाँ परियोजना सुरू हुने मुखमा नेतृत्वमा बाहिरबाट ल्याउनु भनेको स्वार्थ रहेको कर्मचारीहरूको भनाइ छ।

‘मेकानिकल इन्जिनियर तथा किताब छाप्ने संस्थाको नेतृत्व गरेको मान्छेलाई टेलिकमको नेतृत्वमा ल्याउनुका पछाडि के स्वार्थ हुन्छ? टेलिकमको उन्नति त पक्कै पनि होइन। खरिदमा आफू निकट कम्पनीलाई जिम्मा दिने र त्यसबाट कमिसन आफ्नो खल्तीमा झार्नकै लागि हो भन्ने कुरा त यसअघिका सुनिल पौडेलको नियुक्तिबाट पनि प्रष्ट भएको छ’, एक कर्मचारीले भने।

अनिल झाका लागि प्रधानन्त्री दाहाल नै मरिमेटेर लागेका छन्। झा यस्ता पात्र हुन् कि उनी हरेक निकायमा भ्याकेन्सी खुल्दा योग्यताले भ्याएसम्म आवेदन दिन्छन्। पेसा नै सरकारी नियुक्तिलाई बनाएका झा जनक शिक्षामै हुँदा कागज खरिदको अनियमिततामा मुछिएका व्यक्ति हुन्।

प्रधानमन्त्रीका घरबेटी भनेर चिनिएका निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीका विश्वासपात्र मानिने झालाई प्रचण्डले योपालि भने टेलिकममा ल्याएरै छाड्ने मनस्थिति बनाएका छन्। 


प्रकाशित : सोमबार, असार २४ २०८१०६:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend