मोरङ- जिल्लाको धनपालथान गाउँपालिकाको अस्तित्वसँग जोडिएको पुरातात्विक महत्वको धनपालथान संरक्षणको पर्खाइमा रहेको छ। राजा धनपालको नामबाट गाउँपालिकाको नामाकरण गरिए पनि उक्त स्थानको संरक्षण र प्रवर्द्धन नहुँदा ओझेलमा पर्दै गएको हो।
धनपालथान गाउँपालिकाको वडा नं ७ मा अवस्थित छ। यो ठाउँलाई स्थानीय भाषामा राजा धनपालको रजवाडा भनिन्छ। प्राचीन रजवाडा झण्डै चार बिघाह क्षेत्रफलमा फैलिएको छ।
पुरातात्विक महत्व बोकेको यस स्थानको नामबाट साविकको नोचा, कदमाहा, दादरबैरिया, अमाही बरियाती र सोराभाग गाविसलाई समेटेर पुनःसंरचना भएको पालिकाको नाम धनपालथान गाउँपालिका राखिएको राजा धनपालथान संरक्षण तथा विकास समितिका अध्यक्ष सञ्जय सिंहले बताए।
रजवाडा परिसरमा निकै अगाडि बनाइएका टहरा जीर्ण अवस्थामा छन् भने २०५७ सालमा गठन भएको संरक्षण समितिले बनाएको देवी रणकाली र राजा धनपालको सिमेन्टको मुर्तिसमेत टुटेर जीर्ण बनेको उनले बताए।
समितिका अध्यक्ष सिंहका अनुसार यहाँ आसपासमा पुरातात्विक महत्वको कयौँ वस्तु तथा मुर्ति भेटिएका छन्। विसं २०७१ मा स्थानीय किसान रघुसिंह नुनियाले रजवाडा नजिकैको खेतमा हलो जोत्ने क्रममा भगवान विष्णुको धातुको प्राचीन मुर्ति भेटिएको थियो। उक्त मुर्ति संरक्षणका लागि ईलाका प्रहरी कार्यालय रंगेलीमा जिम्मा लगाइएको उनले जानकारी दिए।
'२०१७ सालमा नजिकै रहेको पोखरी उत्खन्न गर्ने क्रममा धातुका पुराना भाँडावर्तनलगायतका विभिन्न सामग्रि भेटिए पनि हाल ती सामग्री कहाँ छन्, यस विषयमा स्थानीय अनविज्ञ छन्', अध्यक्ष सिंहले भने।
धनपालथान-७ का स्थानीय उचितलाल मण्डलले रजवाडा परिसरमा खन्दा करिब डेढ फिट लम्बाइ र चौडाइका पुराना माटोका इँटाहरु भेटिने गरेको बताए। 'यहाँ निकै पुरानो संरचना भेटिने गरेका छन्। यस क्षेत्रको उत्खनन गर्नुका साथै यसको संरक्षण र प्रवर्द्धन गरी पर्यटन प्रवर्द्धन गर्न सकिन्छ', उनले भने।
स्थानीय राजेन्द्र कामतले उत्खनन र अध्ययनसम्म नगरिएकाले राजा धनपाल कुन कालखण्डका को हुन् भन्नेसम्म खुल्न नसकेको बताए। 'प्राचीन विराट राजाको राज्यअन्तर्गत पर्ने यस स्थानमा रहेको मन्दिर विराट राजाले निर्माण गरेको किंवदन्ती छ', उनले भने।
पुरातत्व विभागले यहाँको अध्ययन अन्वेषण गरी तथ्य पत्ता लगाउनुपर्ने गाउँपालिका अध्यक्ष जिवछप्रसाद गच्छदारले बताए। धनपालथान क्षेत्रमा गाउँपालिकाले मन्दिर मनाइसकेको भन्दै मन्दिर परिसरमा पर्खाल घेराबारा गरी मुर्ति स्थापना गरिने उनले जानकारी दिए।
अध्यक्ष गच्छदारले स्थानीय सरकारसँग पर्याप्त बजेट नहुँदा पूर्वाधार निर्माण र संरक्षणमा समस्या भएको बताए। उनले प्रदेश र संघ सरकारले आर्थिक सहयोग गर्नुपर्नेमा जोड दिए।
पुरातत्व विभागले यस ठाउँमा १५ वर्षअघि सामान्य अध्ययन गरी मध्यकालीन संरचना भएको हुनसक्ने निष्कर्षसहित विभागमा सूचीकृत गरेको पुरातत्वविद् भाष्कर ज्ञवालीले जानकारी दिए। उनले धनपालगढीमा बाहिरबाट संरचना नदेखिने भएकाले सतहमुनिको अध्ययन ‘जियोलोजिकल सर्वे’ गर्दा पौराणिकता तथ्य स्पष्ट हुने बताए। रासस