बुधबार, मंसिर १२ गते २०८१    
images
images

दोर्दीको दारबाट ठेकीदेखि करुवासम्म, माग पूरा गर्न भ्याइनभ्याइ

images
आइतबार, असार २३ २०८१
images
images
दोर्दीको दारबाट ठेकीदेखि करुवासम्म, माग पूरा गर्न भ्याइनभ्याइ

दारको काठबाट निर्माण भएका सामग्रीलाई उपहारको रुपमा दिने क्रम बढेसँगै उनलाई विभिन्न सामग्रीहरुको माग पूरा गर्न भ्याइनभ्याइ भएको छ।

images
images

सुन्दरबजार- लमजुङ जिल्लाको दोर्दीका राजेन्द्र विकलाई दारबाट निर्माण गरिने विभिन्न हस्तकलाका सामग्री बनाउने कामले भ्याइनभ्याइ छ। यतिबेला वर्षायाममा गाउँका अधिकांश खेत रोपाइँमा व्यस्त रहँदा पनि उनी भने घरसँगैको कटेरामा बसेर दारको काठबाट विभिन्न सामग्री बनाउनै व्यस्त छन्।

images
images
images

श्रीकृष्ण हस्तकला उद्योगको नाउँमा दर्ता भएको त्यही टहरोमा बनेका ससाना ठेकी, रक्सी राखिने कप, कप, कचौरा, थालदेखि करुवासम्मका सामग्रीहरु निर्माण हुने गर्दछन्। ३७ वर्षीय राजेन्द्र विकले आफ्नो पुर्ख्यौली पेसालाई निरन्तरतामात्र दिएका छैनन्, व्यावसायिकरुपमा दारका सामग्री बनाइ राम्रो आम्दानी पनि गरेका छन्।

images

जंगलमा प्रशस्त पाइने दारको काठबाट बनाइने ठेकी किन्न पहिलेदेखि मानिसहरु दोर्दी पुग्ने गर्दथे। हातले काटेर बनाइएका ठेकी लिएर गाउँघरमा बेच्दै आउनेहरुले सुरुको समयमा अन्नसँग साटेर र पछि नगदमा बिक्री गर्दथे। परम्परागत रुपमा निर्माण गरिंदै आएको घरासयी प्रयोजनमा आउने दारका विभिन्न सामग्रीहरुलाई उनले सायानुकूल परिमार्जन गर्दै लगेका छन्।

images

प्रविधिसँगै सामानहरुका आकार प्रकार र बनोट पनि परिस्कृत बन्दै गएका छन्। सानो आकारमा उत्पादन गरिएका ठेकी, रक्सी पिउने कप र करुवा बनाउन राजेन्द्र विकलाई विद्युतबाट चल्ने मेशिनले सजिलो बनाएको उनले बताए।

राजेन्द्रका बाबुले ठेकी बनाउँदा छालाको प्रयोग गरी दुईजनाले चलाउने घुर्रा हुन्थ्यो, यसैलाई दुईतिरबाट तानेर घुम्दै गरेको तिखो औजारबाट काठलाई छेडेर ठेकी तयार हुन्थ्यो। उनका दाजुले त्यसलाई अलि परिमार्जन गरी पानीको धाराबाट मदानी घुमाएर काम गर्न थाले। राजेन्द्रले दाजुको पछिपछि लागेर ठेकी बनाउन सिकेका थिए।

सुरुवाती समयमा पुर्ख्यौली पेसा अँगालेका विकले ठेकी उत्पादन गरेर गाउँगाउँसम्म पुर्‍याएको उनी स्मरण गर्छन्। ठेकी बेचेर मात्र आफ्नो परिवार पाल्न कठिन भएपछि राजेन्द्र यसैमा अडिन सकेनन्। परिवार पाल्नकै लागि विदेश हानिए तर विदेशमा कमाइ चित्तबुझ्दो भएन। 

विदेशमा बस्दा उनले काठबाट विभिन्न किसिमका सामग्री बनाएको भिडियोहरु देखेपछि आफ्नो पुर्ख्यौली पेसालाई परिमार्जन गरी व्यावसायिकरुपमा उत्पादन गर्न सकिएमा विदेशभन्दा घरमै राम्रो आम्दानी गर्न सकिने सोच आयो। झण्डै १० वर्षको विदेश बसाइपछि उनले घरमै आएर दारका आधुनिक सामग्री बनाउने उद्योग स्थापना गरे। 

सुरुवाती दिनमा दारबाट बनाएका सामान बेच्दै गर्जो टार्ने गरे पनि बिस्तारै उनका सामग्रीको माग बढ्न थालेको छ। उनी भन्छन्, 'अहिले यसरी घरघरमा पुगेर बेच्नुपर्ने अवस्था छैन। आफ्नो घरमै आएर किनेर लैजान्छन्।'

जिल्ला बाहिरसमेत दारको सामग्री चिनाउन सकेमा आफ्नो व्यवसायले ठूलै फड्को मार्ने विश्वास राजेन्द्रलाई छ। दोर्दीको वनमा पाइने दारलाई सदुपयोग गर्दे सामान बनाउने हो भने मासिक चार/पाँच लाखसम्मको सामान उत्पादन गर्न सकिने उनले बताए।

दारको काठबाट निर्माण भएका सामग्रीलाई उपहारको रुपमा दिने क्रम बढेसँगै उनलाई विभिन्न सामग्रीहरुको माग पूरा गर्न भ्याइनभ्याइ भएको हो। सुरुमा दोर्दी गाउँपालिकाले घरेलु सामग्री प्रवर्द्धनको लागि आफ्नै पालिकामा उत्पादन भएका सामग्रीलाई उपहार र मायाको चिनोको रुपमा प्रयोग गर्न थालेपछि यहाँका दारबाट बनेका सामानहरु बिस्तारै प्रख्यात हुन थालेका छन्।

पालिकाको चिनारी समेत हुने भएपछि गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी आफू जहाँ पुग्यो, तिनै सामान उपहारको लागि लिएर जाने गर्छन्। केही समयअघि आफू चीन भ्रमणमा जाँदा समेत यिनै सामग्री लिएर गएको बताउँदै अध्यक्ष अधिकारीले भने, 'त्यहाँ नेपाली उत्पादनलाई धेरैले निकै मन पराए।'

गाउँपालिकामा पनि सबैजसो टेबलमा दारबाट बनेका सामग्री राखिएको छ। त्यहाँ पुग्ने जो कोहीले त्यसबारेमा सोधखोज गर्दछन्। एकाध व्यक्तिबाहेक सबैले खोज्दै आएर वा फोन सम्पर्क गरेर सामग्री मगाउने राजेन्द्र बताउँछन्।

सामान खोज्दै ग्राहक आफ्नै दैलोमा आइपुग्दा राजेन्द्र हौसिने गर्छन्। दारको काठको बारेमा धेरैलाई जानकारी नहुँदा भने व्यवसायमा समस्या रहेको बताउँदै उनी भन्छन्, 'दारबाट सामान बनाउनको लागि मेहनत र लागत बढी पर्दछ, सोही अनुसार जिल्लाको बजार पुग्दैन, बाहिरी जिल्लामा लैजाँदा मानिसहरुले सामान चिन्न सक्दैनन्, अन्य काठबाट बनेका उस्तै सामान सस्तोमा पाइन्छ, तर सस्तोमा दिन सकिँदैन।' रासस


प्रकाशित : आइतबार, असार २३ २०८११२:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend