काठमाडौं- खाद्य संस्थानले विद्युतीय सवारीसाधन खरिद गरेको छ। आइतबार संस्थानले दुईवटा विद्युतीय कार र ५/५ वटा विद्युतीय मोटरसाइकल र स्कुटर खरिदका लागि बोलपत्र स्वीकृत गरेको हो।
संस्थानले आइतबार सूचना जारी गर्दै सीजी मोटर्सले बिक्री गर्ने दुईवटा विद्युतीय कार ६८ लाख ९० हजार ६ सय रुपैयाँमा किन्न लागेको हो। सीजी मोटर्सले बिक्री गर्ने कार मध्ये यो मूल्यमा निटा भी नै किन्न लागेको हो।
त्यस्तै ५ वटा मोटरसाइकल डी लाइफस्टाइलसँग २४ लाख १९ हजार ४ सयि ९९ रुपैयाँमा खरिद गर्न लागेको संस्थानले जनाएको छ।
विद्युतीय स्कुटर भने इको इन्फिनिटीसँग किन्न लागिएको छ। ५ वटा विद्युतीय स्कुटरका लागि संस्थानले २३ लाख ७५ हजार रुपैयाँमा टेन्डर स्वीकृत गरेको हो। यी सबै मूल्य मूल्यअभिवृद्धि करसहितको हो।
खाद्यसंस्थानले जेठ २२ गते २ वटा विद्युतीय कार, ५ वटा स्कुटर र ५ वटा मोटरसाइकल खरिद गर्न टेण्डर आह्वान गरेको थियो।
पछिल्लो समय विद्युतीय सवारीसाधनको खरिद र प्रयोग बढ्दै गइरहेको छ। सरकारले विद्युतीय सवारीसाधन खरिदलाई प्राथमिकता दिने नीति लिएको छ। सोहीअनुसार खाद्यसंस्थानले विद्युतीय सवारीसाधन खरिद गरेको हो।