मनाङ- मनाङको माथिल्लो र तल्लो भागलाई जोड्ने पुलमा बाढीले क्षति पुर्याउँदा दुई भेगबीच आवतजावत पूर्णरुपमा विच्छेद भएको छ। एकमात्र स्थलमार्गअन्तर्गत चामे गाउँपालिका-१ तिमाङ झरनामा आएको बाढीले मोटरेवल पुलमा क्षति पुर्याउँदा आवतजावतमा समस्या भएको हो।
यही असार १७ गते तिमाङ झरनामा बाढी तथा ठूलाठूला ढुङ्गा र गेग्रानसँगै आएको पहिरोले मोटरेवल पुलमा क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए।
पुलमा क्षति भएपछि तल्लो मनाङका स्थानीयलाई सदरमुकाम पुग्न समस्या भएको स्थानीय फुर्वा लामाले बताए। 'सदरमुकामसम्म आउन तल्लो मनाङका स्थानीयले सकस भोग्नुपरेको छ। बाढीले पुलमा क्षति भएपछि चामे पुग्न सक्ने अवस्था छैन', उनले भने, 'सबैजसो कार्यालय सदरमुकाममा छन्। अत्यावश्यक कामबाट पनि तल्लो भागका स्थानीय वञ्चित भएका छन्।'
बाढी कम नहुँदासम्म पुल मर्मत गर्न सकिने अवस्था नरहेको लामाले बताए। एक मात्र स्थलमार्ग भएको जिल्लामा पटकपटकको बाढी र पहिरोका कारण आवागमनमा सास्ती हुँदै आएको उनको भनाइ छ। अत्यावश्यक काम परेर सदरमुकामका साथै जिल्ला बाहिर जानुपर्दा तिमाङ खोला र तिमाङ झरना कट्न सकिने अवस्था नभएको उनको गुनासो छ।
स्थानीय मिनकासी गुरुङले असारमा कामको चापले सदरमुकाम जानुपर्ने बाध्यता रहेको भन्दै सडकका कारण निकै समस्या भोग्नुपरेको बताए। 'जिल्लाका बासिन्दा मनसुनको सुरुआतमा नै समस्या भोग्न बाध्य छन्। बाढीपहिरोले बाटो बन्द हुने, हिँडेर जान सास्ती, सवारीसाधन सञ्चालन गर्ने अवस्था छैन। मनाङको यो समस्या कहिलेसम्म? कहिले यस्ता समस्याका समाधान होलान् ?', उनले प्रश्न गरे।
तल्लो मनाङ बाढीपहिराको मारमा पर्दै आएको छ। नासों गाउँपालिका-५ का वडाध्यक्ष थुतेन लामाले अहिले बाढीले क्षति पुर्याएको स्थानमा वैकल्पिक मार्ग निर्माण गर्न सकिने अवस्था नभएको बताए। मर्स्याङ्दी नदी किनारकिनारै सडक निर्माण भएकाले वैकल्पिक व्यवस्था नहुँदा तल्लो भागका स्थानीय बढी समस्यामा परेका उनको भनाइ छ।
'मनाङलाई बेँसीसहर हुँदै अन्य जिल्लासँग जोड्ने एक मात्र सडक अवरुद्ध हुँदा जिल्लावासी प्रत्यक्ष प्रभावित भएका छौँ। पानी परिरहेकाले कहिलेसम्म यस्तो अवस्था भोग्नुपर्ने हो भन्ने आँकलन गर्न सकिएको छैन', वडाध्यक्ष लामाले भने, 'यसको मर्मत गरी मार्गलाई सहज बनाउन सरोकार भएका निकायसमक्ष छलफल गरिरहेका छौँ।' बाढी कम हुनासाथ काम थाल्ने गरी तयारी भइरहेको उनले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी लामिछानेले बगाएका पुलमा वैकल्पिक व्यवस्था गर्न तथा सडकलाई सफा गरी आवश्यक सुधार गर्न/गराउन सम्बन्धित निकाय तथा अधिकारीसँग समन्वय भइसकेको जानकारी दिए। उनका अनुसार मनाङमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको साविककै मूल्यमा बिक्री वितरण गर्न व्यापारी/व्यवसायीलाई अनुरोध गरिएको छ। कृत्रिम अभाव सिर्जना नगर्न समेत प्रशासनले अनुरोध गरेको छ।
मनसुनजन्य प्रतिकूल अवस्थामा स्थानीयवासी संयमित रहन, विपद्को प्रतिकुलताप्रति सतर्क, सजग रहन विपद्जन्य घटनाका बारेमा जानकारी गराउन र पारस्परिक सहयोगलाई थप प्रभावकारी बनाउन समेत अनुरोध गरिएको प्रजिअ लामिछानेले बताए। बाढी कम भए पनि आवश्यक औजार, सामग्री र प्राविधिकको अभावले सडक मर्मत समस्या भएको भन्दै स्थानीय तह र सरोकार भएका निकायबीच आवश्यक समन्वय गरिरहेका उनले बताए।
प्रजिअ लामिछानेका अनुसार मनसुन सुरुवात भइसकेकाले चामे बजारस्थित माडाखोला र घट्टेखोलामाथिको जीर्ण काठेपुल मर्मत गरिएको छ। काठेपुल जीर्ण हुँदा उक्त स्थानमा दुई हप्तामा नयाँ काठेपुल निर्माण गरिएको उनले जानकारी दिए।
उक्त क्षेत्रमा डुम्रे-बेँसीसहर-चामे सडक आयोजनाले पुल निर्माण गरेको हो। तिमाङ खोलामा आएको बाढीले तिमाङ पावर हाउस नजिकैको काठेपुल पनि बगाएको छ। बाढीले दुई ठाउँको पुलमा क्षति पुर्याउँदा आवतजावत पूर्णरुपमा अवरुद्ध भएको छ। रासस