आइतबार, चैत २४ गते २०८१     १ : ०२ : ०९
आइतबार, चैत २४ २०८१
images
images

गुल्मीमा किसानलाई दूधको शुद्धता र गुणस्तर मापन गर्ने मेसिन प्रदान

images
बिहीबार , असार २० २०८१
images
images
गुल्मीमा किसानलाई दूधको शुद्धता र गुणस्तर मापन गर्ने मेसिन प्रदान

दूधमा पानी र स्टार्च (माड) लगायत तत्वको मिसावट हुने भएकाले दूधको गुणस्तर सुनिश्चित गर्न मेसिन उपयोगी हुने चिकित्सक बताउँछन्।

images
images

गुल्मी- जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले किसानलाई ‘मिल्क एनलाइजर’ (दूधको शुद्धता र गुणस्तर मापन गर्ने) मेसिन प्रदान गरेको छ। केन्द्रले पशुपक्षी तथा मत्स्य प्रविधि प्रदर्शनअन्तर्गत जिल्लाको धुर्कोट गाउँपालिका-५ का व्यावसायिक किसान रवीन्द्र घिमिरेलाई उक्त मेसिन प्रदान गरेको हो।

images
images

काठमाडौंमा स्नाकोत्तर तह अध्ययन पूरा गरेपछि गाउँ फर्केर तीन वर्षदेखि घिमिरे व्यावसायिकरुपमा कृषि कर्ममा लागेका छन्। गाउँमै केही गर्नुपर्छ भन्ने सोचका साथ काठमाडौंबाट गाउँ फर्किएको उनले बताए। उनले उन्नत जातका भैँसीपालनबाट दैनिक चार सय लिटर दूध संकलन गरी बिक्री गरिरहेको जानकारी दिए।

images
images

स्थानीय उपभोक्ता, संकलक र उत्पादकलाई थप सहयोग पुर्‍याउने उद्देश्यले किसानलाई ‘बायोकेमिकल मिल्क एनलाइजर मेसिन’ उपलब्ध गराइएको केन्द्रका प्रमुख हुमकान्त पाण्डेयले बताए। उनका अनुसार उक्त मेसिनबाट दूधको शुद्धतासँगै दूधमा पाइने प्रोटिन, लैक्टोज (दूधमा पाइने चिनीको मात्रा), पानीको मात्रा लगायत अन्य तत्व र गुणस्तर मापन गर्न सकिने छ।

images
images

उक्त मेसिनबाट किसानलाई दूधको मूल्य निर्धारण गर्न र गुणस्तर मापन गर्न सजिलो हुने पशु चिकित्सक डा नवीना ढकालले बताए। दूधमा पानी र स्टार्च (माड) लगायत तत्वको मिसावट हुने भएकाले दूधको गुणस्तर सुनिश्चित गर्न मेसिन उपयोगी हुने उनको भनाइ छ।

गुल्मीमा हालसम्म पाँच स्थानमा मिल्क एनलाइजर वितरण गरिएको छ। जिल्लाको रेसुंगा नगरपालिका-८ स्थित बस्नेत डेरी उद्योग, सत्यवती गाउँपालिका-६ स्थित श्रीकृष्ण डेरी पकेट समूह, सत्यवती गाउँपालिका-५ अन्तर्गत सत्यवती दुग्ध उत्पादक सहकारी संस्था र रुरु क्षेत्र गाउँपालिकाको बम्घा दुग्ध उत्पादक सहकारीलाई मिल्क एनलाइजर वितरण गरिएको कार्यालय प्रमुख पाण्डेयले जानकारी दिए।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार जिल्लामा वार्षिक रूपमा २२ हजार दुई सय ५८ मेट्रिक टन दूध उत्पादन हुँदै आएको छ। जिल्लामा उत्पादित दूधमध्ये ८० प्रतिशत जिल्लामै खपत हुने गर्दछ भने बाँकी २० प्रतिशतमात्र बिक्री हुने गरेको पाण्डेयले जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , असार २० २०८११७:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend