बागलुङ- चार वर्ष अगाडि भूजीखोलामा आएको बाढीमा परी आफन्त गुमाएका स्थानीय रातको समय अलि ठूलो वर्षा हुँदा राम्रोसँग निदाउन सक्दैनन्। विसं २०७७ भदौ १७ गते राति ढोरपाटन नगरपालिका-८ र ९ स्थित भूजीखोलामा आएको बाढीले ३८ जनाको ज्यान लिएको थियो। बाढीमा १५ जना अझै बेपत्ता छन्।
पीडितले जसोतसो घर बनाएर बसे पनि बाढीको त्यो त्रास भने बिर्सिन सकेका छैनन्। बाढीले भूजीखोला किनारका एक सय ३१ घर बगाएको थियो। बाढीमा आफन्त गुमाएकाहरूको पीडा अहिलेसम्म पनि मत्थर हुन सकेको छैन। आफन्तसँगै बस्ने बास र खाने गास गुमाएकाले राज्यबाट पाउनुपर्ने सहयोग नपाएको गुनासो गर्दै आएका छन्।
ढोरपाटन नगरपालिका-९ का बाढीपीडित कुलबहादुर विक ऋण धन गरेर घर बनाए पनि आफन्त बिर्सिन नसकेको बताउँछन्। बाढीले उनको घर, जग्गासहित २२ वर्षीय जेठो छोरो, २१ वर्षीया बुहारी, १८ वर्षीया छोरी र चार वर्षकी नातिनी बगाएको थियो। बाढीले भएभरको सम्पत्ति बगाइदिएपछि लामो समय आफन्तकामा बसेको भन्दै अहिले सामान्य घर बनाएर बस्न थालेको उनी सुनाउँछन्। अलि ठूलो वर्षा हुँदा रातभर जाग्रम बस्ने गरेको उनी बताउँछन्।
'त्यो बाढीले हाम्रो उठीबास लगायो, लाउँलाउँ, खाउँखाउँ बन्ने बेलाका छोरा, बुहारी, छोरी र नातिनीसँगै सबै सम्पत्ति बगायो, हामी अहिले सुकुम्बासीजस्ता भएका छौँ। बर्खा सुरु भयो, कसरी ज्यान बचाउने हो भन्ने चिन्ता लाग्छ, ठूलो पानी पर्यो भने पहिलेको जस्तै बाढी आएर बगाउँछ कि भन्ने डर हुन्छ, त्यही भएर रातभरि निदाउँदैनौँ', विकले भने, 'बाढी आउँदाको रात हामीहरू गोठमा गएका थियौँ, त्यही भएर बच्यौँ, नत्र हामीलाई पनि बाढीले लैजानेरहेछ।'
स्थानीय बाढीपीडित निमबहादुर विश्वकर्मा बाढीले आफन्तसहित भएभरको सम्पत्ति बगाइदिएको बताउँछन्। बाढीले निमबहादुरको २५ वर्षीया श्रीमती, नौ वर्षीय जेठो छोरा, दुई वर्षीय माइलो छोरा र २२ दिनको कान्छो छोरासहित सबै बगाएको थियो। उनी परिवारका सबै सदस्य बाढीमा परेरपछि एक्लो बनेका थिए। बाढी आउँदाको रात आफू ढोरपाटन गएको हुँदा आफ्नो ज्यान बाँचेको उनी बताउँछन्। आफू ठूलो समस्यामा पर्दा पनि राज्य तहबाट सहयोग नभएको उनको गुनासो छ।
ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत नगरपालिकाको सीमित स्रोत र साधानबाट पीडितलाई सहयोग गरिएको बताउँछन्। विसं २०७७ को बाढीले ढोरपाटनमा ठूलो मानवीय क्षति पुर्याएको भन्दै यस वर्ष पनि वर्षा सुरु हुन लागेसँगै प्राकृतिक विपत्तिबाट बच्न तटीय क्षेत्रका स्थानीयलाई सचेत रहन आग्रह गरिएको उनी बताउँछन्।
भौगोलिक कठिनाइका कारण धेरै नागरिक अव्यवस्थित रूपमा बस्दै आएको हुँदा त्यसको व्यवस्थापनमा नगरपालिकाले योजना बनाइरहेको उपप्रमुख कायत बताउँछन्।
व्यवस्थित छैनन् ग्रामीण सडक
एक दशक अगाडिसम्म बागलुङको अधिकांश गाउँमा सडकको पहुँच पुगेको थिएन। जब स्थानीय तह स्थापना भए, त्यसपछि बस्तीसम्म सडक पुर्याउने लहड सुरु भयो। पालिकाहरूले नागरिकको आवश्यकता र मागका आधारमा सबै ठाउँमा सडक विस्तार गर्दै गए। गाउँगाउँसम्म पुगेको सडक भने गुणस्तरीय भने नभएका स्थानीय बताउँछन्।
हिउँदमा जसोतसो सञ्चालन हुने सडक बर्खाको करिब पाँच महिना ठप्पै हुन्छन्। बिना इन्जिनियरिङ र अव्यवस्थित रूपमा निर्माण भएका सडकले वातावारणसँगै बस्तीमा समेत नकारात्मक असर पुर्याएको निसीखोला गाउँपालिका-२ का नरबहादुर जिसीले बताए। उनका अनुसार हिउँदमा निर्माण भएका सडक बर्खामा कामै नलाग्ने गरी भत्किने गरेका छन्।
गाउँमा चार वर्ष अगाडि सडक पुगे पनि साँघुरो र अप्ठ्यारो हुँदा र सामान्य वर्षा पनि गाडी नगुड्ने जिसीले बताए। सडक निर्माण गर्दा नापजाँच नगरी अव्यवस्थित रुपमा बनाइएकाले समस्या भएको उनको भनाइ छ। गाउँमा सडक आउँदा स्थानीय खुसी भए पनि अहिले आवागमनमा समस्या हुँदै आएको भन्दै सडक हिउँदमा पनि सञ्चालन हुने गरी पुनः निर्माण गर्नुपर्नेमा उनले जोड दिए।
तमानखोला गाउँपालिका-६ नर्जाखानीका प्रेमबहादुर छन्त्यालले अव्यवस्थित सडकका कारण बर्खाका यस क्षेत्रका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको सुनाए। ठूलो वर्षा हुनेबित्तिकै खोलामा गाडी तर्न नसक्ने र सडक सबै भत्किने हुँदा बजारबाट सामान ओसारपसार गर्न कठिन हुने उनले बताए। उनले भौगोलिक विकटता र अव्यवस्थित सडकले सुविधाभन्दा बढी समस्या हुने गरेको बताए।
'अव्यवस्थित रुपमा बनेका सडकले सुविधाभन्दा सास्ती दिएका छन्। बर्खामा गाडी सञ्चालन हुदैनन्। गाउँमा कोही बिरामी पर्यो भने डोकोमा बोकेर अस्पताल पुर्याउनुपर्ने बाध्यता छ', छन्त्यालले भने, 'भूगोल नमिलेका कारण सडक व्यवस्थित हुनसकेको छैन, बर्खामा बजारबाट सामान ल्याउन र यात्रा गर्न निकै सकस हुन्छ।'
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले सबै बस्तीमा सडक पुर्याइएको भन्दै यथाशीघ्र स्तरोन्नति गरी व्यवस्थित बनाउने योजना रहेको जानकारी दिए। सीमित स्रोत साधानका कारण तत्काल सडक व्यवस्थित बनाउन नसकेको उनले बताए।
नर्जाखानी, वित्रिवनलगायत केही गाउँमा बाहेक अन्य ठाउँमा बर्खाको समयमा पनि यातायात सञ्चालन हुने गरी सडकलाई व्यवस्थित बनाउन थालिएको अध्यक्ष बुढामगरले बताए। रासस