आइतबार, भदौ २३ गते २०८१    
images
images

राजनीतिक अस्थिरताबीच अवसर खोज्दै बैंकर्स, खस्किँदो वासलात सुधारमा सहयोगी बन्ला बढ्दो सेयर बजार‍?

images
बिहीबार , असार २० २०८१
images
images
राजनीतिक अस्थिरताबीच अवसर खोज्दै बैंकर्स, खस्किँदो वासलात सुधारमा सहयोगी बन्ला बढ्दो सेयर बजार‍?
images
images

काठमाडौं- सत्ता समीकरणमा हुन लागेको फेरबदललाई बैंकर्सले अवसरको रुपमा हेरेका छन्। नेपाली कांग्रेस र नेकपा एमालेले सहमतिको सरकार बनाउने निर्णय गरेसँगै तरङगित बनेको सेयर बजार उपयोग गर्ने रणनीतिमा बैंक वित्तीय संस्था देखिएका छन्। 

images
images
images

गएको मंगलबार केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र अर्थमन्त्री पनि नेकपा एमालले राख्ने विषय अगाडि आएसँगै सेयर बजारमा दुई पटकसम्म सर्किट लागेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने र विश्वासको मत लिने भन्ने खबर बाहिरिएसँगै सेयर बजार परिसूचक नेप्से समालिएको थियो। 

उक्त दिनको कारोबारमा नेप्से ४७.०७ अंकले बढ्दै २१०० को बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो भने करिब ४ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो। दाहालको राजीनामाको पर्खाइमा रहेको नेप्से बुधबार दिनभर घटेपनि अन्तिम समयमा आएर ३.७९ अंकले बढेर करिब ५ अर्बमाथिको कारोबार गर्दै बन्द भएको छ। 
 
राजनीतिक फेरबदलले उत्साहित बनेका सेयर बजारबाट लाभ प्राप्त गर्दै बिग्रँदो वासलात सुधारमा उपयोग गर्ने सोचमा देखिन्छ बैंक वित्तीय संस्थाहरू।

विगत लामो समयदेखि शिथिल रहेकोले अर्थतन्त्रमा सुधार नआउँदा पछिल्लो समय बैंक वित्तीय संस्था उच्च दबाबमा पर्दै आएका छन्। एकातर्फ बैंकिङ प्रणालीमा अधिक तरलता र न्यून ब्याजदर हुँदासमेत कर्जा प्रवाह बढेको छैन भने अर्कोतर्फ आर्थिक शिथिलताले कर्जा असुली प्रभावित हुँदा खराब कर्जा बढिरहेको छ। 

images

चालु आर्थिक वर्षको सुरुवातबाटै बैंक वित्तीय संस्थाहरूले वित्तीय विवरणमा दबाब झेलेका थिए। निष्कृय कर्जा बढेकाले बैंकहरूको वितरणयोग्य घाटा बढ्न थालेको थियो। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १० वाणिज्य बैंक वितरणयोग्य घाटामा छन्। यसले बैंकहरूको सञ्चित नोक्सानी बढ्दा प्राथमिक पुँजीकोषको चापमा बैंक वित्तीय संस्थाहरू परेका छन्। 

पुँजीकोषको समस्या समाधानका लागि राष्ट्र बैंकले अग्राधिकार सेयर जारी गर्ने सुविधा दिएको छ। केही वित्तीय संस्थाहरूले यसलाई अवसरको रुपमा उपयोग गर्दै पुँजीकोषको समस्या समाधान गर्ने दिशामा अगाडि बढेका छन्। 

पुँजीकोषको समस्या अग्राधिकार सेयरले समाधान गरेपनि चालु आर्थिक वर्ष बैंकहरूको बिग्रँदो वित्तीय विवरण समाधानको उपाय भने अगाडि आइरहेको थिएन। रकमान्तर गरेर भएपनि अर्थ मन्त्रालयले निर्माण व्यवसायीको रकम भुक्तानी गर्ने निर्णय गरेको छ। यसले खराब कर्जा घटाउन केही राहत दिएपनि बैंकहरूको नाफा बढाउन यसले मद्दत गर्ने देखिँदैन। 

पछिल्लो समय सेयर बजारमा भइरहेको उत्तरचढावबाट विगतमा गरिएको सेयर लगानीबाट पुँजीगत लाभ प्राप्त गर्ने रणनीतिमा बैंक वित्तीय संस्था छन्।

राष्ट्र बैंकले तेस्रो समीक्षामार्फत एक वर्ष अगाडि खरिद गरेको सेयर बिक्री गर्न पाउने सीमा १ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याएपछि बैंक वित्तीय संस्थाका प्रमुखहरू सेयर बजार बढोस् भन्ने चाहान्छन्।

बढेको बजारबाट लाभ गरेर वितरणयोग्य नाफामा केही सुधार गर्ने सोचमा बैंकर्स रहेको देखिन्छन्। त्यसैले पछिल्लो राजनीतिक परिवर्तनले आफूहरूलाई केही उत्साहित बनाएको एक बैंकर्सले बताए। 

'राजनीतिक परिवर्तनबाट सेयर बजारका लगानीकर्ता उत्साहित रहेकाले बैंकर्सले पनि यसलाई अवसरको रुपमा लिएका छन्। अर्थतन्त्रमा छाएको शिथिलताले वितरणयोग्य कम गर्ने उपाय नदेखिरहेको समयमा सेयर बजार बढ्न सकेमा बैंकहरूले आफूसँग भएको सेयर बिक्रीबाट लाभ प्राप्त गर्ने अवस्था बन्न सक्छ। यस बैंकहरूको खस्किँदो वासलातमा केही राहात प्रदान गर्छ', ती बैंकर्सले भने। 

चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा सबैभन्दा धेरै कृषि विकास बैंकले १४ अर्ब ५२ करोड रुपैयाँ सेयर बजारमा लगानी गरेको छ।

निजी क्षेत्रको बैंकतर्फ सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकको ११ अर्ब ४३ करोड रुपैयाँ सेयर बजारमा लगानी गरेको छ। ‍प्रभु बैंकले ९ अर्ब ३४ करोड रुपैयाँ र कुमारी बैंकले सेयर बजारमा ९ अर्ब १ करोड रुपैयाँ लगानी गरेका छन्। 

यसबाहेक सेयर बजारमा नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको ८ अर्ब ४० करोड रुपैयाँ, सिद्धार्थ बैंकको ७ अर्ब ६४ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ७ अर्ब ४७ करोड रुपैयाँ, ग्लोबल आईएमई बैंकको ६ अर्ब ६२ करोड, एनआईसी एसिया बैंकको ४ अर्ब ७० करोड रुपैयाँ लगानी छ।

यस्तै नेपाल बैंक लिमिटेडको ६ अर्ब ३२ करोड रुपैयाँ, एनएमबि बैंकको ५ अर्ब ८ करोड, सानिमा  बैंकको ३ अर्ब, एभरेष्ट बैंकको ३ अर्ब ३८ करोड, प्राइम बैंकको २ अर्ब ७९ करोड, हिमालयन बैंकको २ अर्ब ८६ करोड, सिटिजन्स इन्टरनेशल बैंकको २ अर्ब १४ करोड, माछापुच्छ्रे बैंकको २ अर्ब २ करोड, स्टाण्डर्ड चार्टर्ड बैंकको १ अर्ब २७ करोड, नेपाल एसबिआई बैंकको ४३ करोड ३७ लाख रुपैयाँ सेयर बजारमा लगानी रहेको छ।  

यस्तै विकास बैंकहरूले सेयर बजारमा कुल ९ अर्ब ५९ करोड रुपैयाँ लगानी गरेका छन्।


प्रकाशित : बिहीबार , असार २० २०८१०६:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend