शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

सरकार फेरिने चर्चासँगै सेयर बजारमा तरंग, नयाँ अर्थमन्त्रीको हल्ला चलाएर बजार चलायमान गराउने प्रयास

मंगलबार, असार १८ २०८१
सरकार फेरिने चर्चासँगै सेयर बजारमा तरंग, नयाँ अर्थमन्त्रीको हल्ला चलाएर बजार चलायमान गराउने प्रयास

काठमाडौं- लामो समयदेखि सेयर बजार उतारचढावबीच २००० देखि २१०० बिन्दुकै आसपासमा छ। उकालोतर्फ लाग्ने अपेक्षा गरिएको सेयर बजार कमजोर देखिइरहँदा आम लगानीकर्ता वृद्धितर्फको आशमा रहे पनि बजार बलियो सुधारतर्फ जान सकेको छैन। 

वर्तमान सत्ता समीकरण फेरबदल हुने चर्चासँगै सोमबार धितोपत्र बजारमा नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ। पछिल्ला तीन कारोबार दिनदेखि ओरालो लागिरहेको बजारमा एमाले-कांग्रेस गठबन्धन निर्माणको चर्चासँगै एकाएक रौनकता देखिने संकेत दिएको छ।

अहिले पनि बैंकहरूमा ७ खर्ब ऋण प्रवाह गर्ने क्षमता छ। ब्याजदर घट्दो ट्रेण्डमा रहेको छ। सोही कारण पनि अब आउने मौद्रिक नीतिपछि सेयर बजार बढ्ने सक्ने अनुमानकाबीच सरकार नै परिवर्तन हुने संकेतले नयाँ तरंग आएको छ।

नयाँ सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेमा कांग्रेसका गगन थापा अर्थमन्त्री बन्नेसम्मको चर्चा छ। यता एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री समेत रहेका बिष्णु पौडेलसमेत अर्थमन्त्रीमा आउने चर्चा सेयर बजारका लगानीकर्ताले गराएर बजार चलायमान गराउने प्रयास गरेका छन्। 

२०७८ भदौ २ नेप्से परिसूचक हालसम्मकै उच्च ३१९९ बिन्दुमा पुगेको थियो। तर त्यसयता उतारचढावबीच घटिरहेको बजार सम्हालिन सकेको छैन। केही दिन वृद्धितर्फ देखिए पनि स्थायी सुधारका आधारहरू भेटिएका छैनन्। सोही बीचमा नयाँ सरकारको चर्चामा सोमबार सेयर बजार बढेको अनुमान गरिएको छ। 

लगातार तीन दिन घटेको सेयर बजार सोमबार अन्तिम समयमा १६.२९ अंकले बढेर बजार २०५३.३८ बिन्दुमा पुगेको छ। १७६ कम्पनीको सेयर मूल्य बढेको बजारमा २ अर्ब ९९ करोड ९९ लाख ६५ हजार रुपैयाँको कारोबार भएको छ। ६० कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।   

जसमा लामो समयदेखि स्थिर रहेको बैंकिङ समूहमा लगानीकर्ता आकर्षित हुने खोजेको सोमबारको कारोबारले देखाएको छ। सोमबार बैंकिङ उपसमूहको परिसूचक बढेसँगै नेप्से बढेको हो। कारोबारमा आएका १३ उपसमूहमध्ये ११ वटा बढेको छ भने वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक मात्र घटेको छ। बैंकिङ सर्वाधिक २.०४ प्रतिशत बढेको भने विकास बैंक १.३१ प्रतिशत बढेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०१ प्रतिशतले उकालाे लागेर ३६१.७७ मा पुगेको छ। नेप्सेका अनुसार हिमालयन ऊर्जा विकास कम्पनी ९.७४, दोर्दी खोला जलविद्युत् कम्पनी ८.४७, कर्पोरेट डेभलपमेन्ट बैंक ७.५२ प्रतिशतले बढेको छ। त्यस्तै हिमालयन बैंकको ऋणपत्र ७.४८ र सानिमा बैंकको ऋणपत्रका लगानीकर्ताले ७.०७ प्रतिशतले बढेको छ।

नेपाल फाइनान्स १०, मैलुङ खोला जलविद्युत् कम्पनी ८.४४, स्वाभिमान लघुवित्त ३.९७, कुमारी सबल योजना ३.६० र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ३.४३ प्रतिशतले गुमाएका छन्।


प्रकाशित : मंगलबार, असार १८ २०८१०७:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend