गलेश्वर- म्याग्दीको बेनी नगरपालिका-३ मुसुङका लालबहादुर घर्ती यतिखेर खेतमा रोपाइँ गर्दै छन्। रोपाइँमा व्यस्त भए पनि उनको ध्यान भने पाखो र खेत नजिकैको खाली जग्गामा लगाएको टिमुरका बोटमा पुगेको देखिन्छ।
घर्तीले आफ्नै बारीमा नर्सरी स्थापना गरेर टिमुरका बिरुवा उमारी बिक्री गर्दै आएका छन्। डिभिजन वन कार्यालय, उद्योग वाणिज्य संघलगायत संघसंस्थाको पहलमा प्राविधिक तालिम लिएर स्थापना गरिएको नर्सरीबाट २५ रूपैयाँमा प्रतिबिरुवा बिक्री हुने गरेको घर्तीले जानकारी दिए।
म्याग्दीमा टिमुरखेती व्यावसायिक बन्दै गएको छ। खेतबारीका कान्ला र बाँझो जग्गामा मात्रै होइन खेतीयोग्य जमिनमा पनि अरू खेती छोडेर यहाँका किसानले टिमुरखेती गर्न थालेका छन्। बेनी वडा नं ३ भकिम्ली, वडा नं ९ घतान, तोरीपानी र वडा नं १० पात्लेखेतसहित मालिका, मंगला र अन्नपूर्ण गाउँपालिकामा व्यावसायिकरुपमा टिमुरखेती गरिएको डिभिजन वन कार्यालयले जनाएको छ।
अन्य अन्नबाली छाडेर खेतबारी, निजी तथा सामुदायिक वनमा टिमुरखेती गर्न थालिएको कार्यालयका सहायक वन अधिकृत एवं टिमुरविज्ञ चन्द्रमणि सापकोटाले जानकारी दिए। एक दशकअघिसम्म त्यत्तिकै खेर गइरहेको टिमुरको पछिल्लो समय स्वदेश तथा विदेशबाट अत्यधिक माग हुन थालेपछि यहाँका किसान टिमुरखेतीमा आकर्षित भएका उनको भनाइ छ।
जिल्लामा २० समूह गठन गरी टिमुरखेती विस्तार भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ। टिमुरविज्ञ सापकोटाले सामुदायिक वनमा रहेको टिमुर आर्थिक अवस्था कमजोर भएका र एकल महिलाले संकलन गरेर बिक्री गर्ने गरेका बताए। पाँच वर्ष अघिसम्म ६० घरधुरीले टिमुरखेती गरेकामा अहिले करिब एक सय ५० घरधुरीले टिमुरखेती गरिरहेका उनले जानकारी दिए।
टिमुरखेतीलाई प्रोत्साहन गर्न जिल्लास्थित उद्योग संघले विभिन्न किसिमका औजारसहित तालिममा सहयोग गरिरहेको छ। ‘एक गाउँ एक उत्पादन’अन्तर्गत तोरीपानीसहित विभिन्न गाउँमा १९ हजार पाँच सय बिरुवासहित प्राविधिक सहयोग गरिएको संघले जनाएको छ।
जिल्लामा किसानले टिमुर प्रशोधन गर्ने औजारसमेत ल्याएका छन्। तोरीपानीका नीलपहरा सामुदायिक वन उपभोक्ता समूहले टिमुर सुकाउने, प्रशोधन गर्ने, तौलने, मसला बनाउने औजार खरिद गरेको छ। वन डिभिजन कार्यालयको १० लाख रूपैयाँ अनुदानमा ती औजार खरिद गरिएको स्थानीय टेकबहादुर चोखालले बताए।
तोरीपानी गाउँबाट वार्षिक छ हजारको हाराहारीमा बिरुवा जिल्लाबाहिर बिक्री हुने गरेको छ। एकजना किसानले छ किलोदेखि माथि टिमुर उत्पादन गर्दै आइरहेका छन्। प्रशोधन औजारको प्रयोगसँगै मसला बनाई बजारमा बिक्री गर्न, मिसावट रोक्न, गाउँकै ‘ब्रान्ड’लाई स्थापित गर्नलगायत बजारीकरणमा सहज भएको कृषक समूहले जनाएको छ।
जिल्लामा वार्षिक पाँच हजार किलो टिमुरको माग भए पनि वार्षिक तीन हजार किलो मात्र उत्पादन हुने अनुमान गरिएको छ। यहाँको टिमुर विदेशमा समेत निर्यात हुने गरेको छ।
म्याग्दीका गाउँमा फलेको टिमुर स्वादिलो हुने भएकाले पनि व्यापारी गाउँमै पुग्ने गरेका बेनी-३ मुसुङका अगुवा कृषक लालबहादुर घर्तीले बताए। उनका अनुसार गाउँबाटै प्रतिकिलो एक हजार छ सयदेखि दुई हजार रूपैयाँसम्ममा बिक्री हुने गरेको छ। रासस