आइतबार, भदौ २३ गते २०८१    
images
images

व्यावसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत गरिरहेका छन् अर्जेवाका चन्द्रबहादुर

images
सोमबार, असार १७ २०८१
images
images
व्यावसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत गरिरहेका छन् अर्जेवाका चन्द्रबहादुर

मलेसियामा पाँच वर्ष रोजगारी गरेर स्वदेश फर्किएपछि चन्द्रबहादुरले व्यावसायिक बाख्रापालन गर्दै आएका हुन्। उनको जिमिरे बाख्राफार्म अहिले यस क्षेत्रको नमूना बाख्राफार्मका रुपमा चिनिन थालेको छ।

images
images

बागलुङ- जिल्लाको जैमिनी नगरपालिका-६ अर्जेवाका चन्द्रबहादुर थापाले व्यावसायिक बाख्रापालनबाट वार्षिक चार लाख रूपैयाँ बचत गरिरहेका छन्।

images
images
images

मलेसियामा पाँच वर्ष रोजगारी गरेर स्वदेश फर्केपछि ४१ वर्षीय थापाले ‘चन्द्रबहादुरको जिमिरे बाख्राफार्म’ मार्फत व्यावसायिक बाख्रापालन गर्दै आएका हुन्।

आमा मनरुपा थापाले गाउँलेको अधियाँ लिएर बाख्रापालन गरी घरखर्च गर्दै आएको देखेकाले विदेशबाट फर्किएर फार्म दर्ता गरी व्यावसायिक बाख्रापालन सुरु गरेको थापाले बताए। चार वर्षदेखि उक्त व्यवसायमा लागेको भन्दै उनले सबै खर्च कटाएर वार्षिक चार लाख रूपैयाँ बचत भइरहेको जानकारी दिए।

चन्द्रबहादुरको जिमिरे बाख्राफार्म अहिले यस क्षेत्रको नमूना बाख्राफार्मका रुपमा चिनिन थालेको छ। व्यावसायिक बाख्रापालनमा आमाको प्रेरणा रहेको बताउँदै उनले बाख्रापालनमा बजारीकरणको समस्या नरहेको उल्लेख गरे।

images

थापाका अनुसार अहिले फार्ममा तीन वटा परम्परागत खोरमा ७५ बाख्रा र पाठा छन्। 'आमाले अधियाँमा बाख्रापालन गरेको देख्दा बाख्राफार्म सञ्चालन गर्ने रहर थियो। लगानी अभावमा भएकाले पाँच वर्ष मलेसियामा कमाएर आएपछि सोही रकम बाख्रापालनमा लगानी गरेको हुँ', उनले भने।

अहिले दुई सय बाख्रा क्षमताको आधुनिक खोर निर्माणमा जुटेको जनाउँदै थापाले आमाले अधियाँमा पालन गरिरहेका बाख्रालाई आफूले व्यावसायिक बनाएको बताए। 'लगानी नहुँदा १६ वर्ष पहिला मलेसिया पुगेँ। त्यहाँ कमाएको रकमले बाख्रापालन थालेको हुँ। आमाको दुःख देखेकाले आफू बाख्रा उद्यमी सपना देखेको थिएँ, अहिले पूरा गर्ने चरणमा छु', उनले भने।

एक वर्षभित्रै दुई सय बाख्रा पुर्‍याउने उद्देश्यले अहिले आधुनिक खोर निर्माण थालेको थापाले जानकारी दिए। 'आधुनिक खोर निर्माणमा १० लाख रूपैयाँ लगानी भइसक्यो', उनले भने, 'बाख्रापालनबाट खर्च कटाएर वार्षिक चार लाख रूपैयाँ बचत हुन्छ। स्थानीय जातका खसी, बोका यहाँ हुने भएकाले स्थानीय व्यापारीले लागि खोजी-खोजी लैजान्छन्।' एक वर्षमा तीस वटा बोका बिक्री गर्दै आएको जनाउँदै थापाले सरकारी निकायबाट समेत बाख्रापालनलाई प्रोत्साहन प्राप्त भइरहेको बताए।

पहिला गाउँलेका बाख्राका पाठा लिएर अधियाँमा हुर्काउने र पाठा बढेपछि बिक्री गरी जीविकोपार्जन गर्दै आएकामा अहिले छोराले व्यावसायिक रुपमा फार्म दर्ता गरी बाख्रापालन गरेको देख्दा निकै उत्साहित भएको आमा मनरुपाले बताइन्। छोराले बाख्रापालनलाई बढाउँदै बचत भएको रकमबाट लगानी वृद्धि गरिरहेको उनको भनाइ छ।

'बाख्रापालनमा मेहनत गर्न सके प्रशस्त आम्दानी हुनसक्ने रहेछ। आम्दानीका लागि विदेश जानुभन्दा स्वदेशमा परिवारसँगै बसेर मेहनत गर्न सकिन्छ भन्ने उदाहरण छोराले दिएको छ', मनरुपाले भनिन्, 'परम्परागतरुपमा पाल्दै आएको बाख्रापालनलाई अहिले छोराले व्यवसायिकता दिएको छ।' उनका अनुसार तीन वटा परम्परागत शैलीका खोरमा बाख्रापालन गर्दै आएकामा अहिले आधुनिक खोर निर्माणको अन्तिम चरणमा पुगेको छ। 

बाख्रापालनको खोर सुधारका लागि भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले एक लाख १९ हजार रूपैयाँ र जैमिनी नगरपालिकाले २३ हजार रूपैयाँ अनुदान दिएको चन्द्रबहादुरले जानकारी दिए। घाँसमा आधारित पशुपालनबाट उत्पादन लागत घट्ने र आम्दानी बढ्ने भएकाले स्थानीय जातका बाख्रापालनलाई जोड दिइएको उनको भनाइ छ। रासस


प्रकाशित : सोमबार, असार १७ २०८११३:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend