बुधबार, मंसिर १२ गते २०८१    
images
images

सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी

images
सोमबार, असार १७ २०८१
images
images
सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी

बागमतीबाट वर्षामा दैनिक १३ करोड र हिउँद याममा दैनिक नौ करोड लिटर पानी राजधानीको मुख्य सहरमा वितरण गरिन्छ।

images
images

काठमाडौं- बागमती नदीबाट काठमाडौं उपत्यकामा खानेपानी वितरण गरिने सुन्दरीजल क्षेत्र हिउँदमा खानेपानी अभाव र वर्षाका बेला धमिलो पानी पिउनुपर्ने बाध्यताबाट गुज्रन परेको छ।

images
images
images

मुहान क्षेत्रमै पानी नआउने र पानी परेका बेला धमिलो पानीमात्र आउन थालेपछि स्थानीय आक्रोशित बनेका छन्। यहाँका स्थानीयवासी खानेपानीका लागि ढुंगेधारा, कुवा खोज्दै हिँड्न बाध्य भएका छन्।

images

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको कार्यालय पुगेर स्थानीयवासीले यस विषयमा जानकारी गराए पनि समस्या समाधान हुन नसकेको स्थानीय रञ्जन श्रेष्ठले गुनासो गरे। वर्षाका बेला आउने धमिलो पानी खाँदा घाँटी दुख्ने, नुहाउँदा जीउ चिलाउनेलगायत समस्या हुने गरेको उनले बताए। वर्षाका बेला लिमिटेडले सुन्दरीजल क्षेत्रमा पठाउने पानी धमिलो हुने गरेको स्थानीय रविना तामाङको भनाइ छ।

images

सुन्दरीजलबाट काठमाडौं उपत्यकामा बागमतीको मात्र नभइ मेलम्चीको पानी पनि वितरण गरिन्छ। बागमतीबाट वर्षामा दैनिक १३ करोड र हिउँद याममा दैनिक नौ करोड लिटर पानी राजधानीको मुख्य सहरमा वितरण गरिन्छ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको अम्बाथानबाट २६ दशमलव पाँच किमी सुरुङ मार्ग हुँदै आउने १७ करोड ५० लाख लिटर पानी सुन्दरीजल महांकालस्थित पानी प्रशोधन केन्द्रमा प्रशोधन भएर काठमाडौं उपत्यकामा वितरण हुने गरेको छ।

हिउँदमा आउने मेलम्चीको पानी वर्षा लागेपछि बन्द हुन्छ। जसले गर्दा राजधानीवासीले खानेपानीको समस्याबाट उन्मुक्ति पाउन सकेका छैनन्। गत सातामात्र मेलम्चीको पानी राजधानीमा वितरण बन्द गरिएको थियो।

सुन्दरीजलवासीको खानेपानी समस्या समाधानमा स्थानीय सरकारले लामो समयदेखि मौन बस्दै आएको छ। गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदीले नगर क्षेत्रको खानेपानी समस्या समाधानका लागि काम गरिरहेको बताए।

केही क्षेत्रको खानेपानी समस्या समाधान भए पनि मुहान क्षेत्र सुन्दरीजलमै समस्या भोग्नुपरेको गुनासो आइरहेको उनले स्वीकार गरे। लिमिटेडले समयमै काम नगर्दा सुन्दरीजल क्षेत्रमा हिउँदमा पानी नआउने, वर्षामा आउँदा धमिलो आउने गरेको नगरपालिकाले जनाएको छ। रासस


प्रकाशित : सोमबार, असार १७ २०८११२:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend