आइतबार, भदौ २३ गते २०८१    
images
images

चक्रपथ विस्तारमा संसददेखि सडकसम्म दबाब बढेसँगै चिनियाँ दूतावासलाई अर्थ मन्त्रालयले लेख्यो पत्र

images
सोमबार, असार १७ २०८१
images
images
चक्रपथ विस्तारमा संसददेखि सडकसम्म दबाब बढेसँगै चिनियाँ दूतावासलाई अर्थ मन्त्रालयले लेख्यो पत्र

चीन सरकारको अनुदान सहयोगमा बन्ने भएकाले नेपाल सरकारले चीनलाई छिटो काम थाल्न दबाब पनि दिन सकेको छैन। चीनले बरु नेपाल सरकारलाई चक्रपथ विस्तारबारे औपचारिकबाहेक नबोल्न भन्दै आएको छ।

images
images

काठमाडौं- चक्रपथको दोस्रो खण्डको विस्तारमा चिनियाँ पक्षले आनाकानी र अलमल गरेपछि अर्थ मन्त्रालयले चिनियाँ दूतावासलाई पत्र लेखेको छ।

images
images
images

कलंकी-महाराजगञ्ज-धोबीखोला क्षेत्रको सडक विस्तारका लागि नेपाल र चीन सरकारबीच २०७४ फागुनमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो। सम्झौताअनुसार विस्तारको काम दुई वर्षभित्र सम्पन्न हुनुपर्ने थियो तर ६ वर्षसम्म पनि काम नै सुरु नगरेपछि संसददेखि सडकसम्म विरोध भइरहेको छ।

चक्रपथ विस्तारलाई लिएर सडक विभाग र काठमाडौं महागरपालिकाबीच पछिल्लो समय टकराव बढ्दो छ। महानगरपालिकाले त चक्रपथ बनाउने काम आफ्नो क्षेत्रािधकार नभएको भन्दै सडकमै सो कुरा लेखेर बोर्ड राखेको थियो।

लगातारको विरोधले दबाबमा रहेको सरकारले अहिले चिनियाँ दूतावासलाई पत्र लेखेको हो। अर्थ मन्त्रालय स्रोतका अनुसार गत सातामात्रै चिनियाँ दूतावासलाई पत्र लेख्दै सडक विस्तारको बारेमा जानकारी माग गरिएको छ। 

images

चक्रपथको दोस्रो खण्डमा ११.६ किलोमिटर विस्तार गर्ने लक्ष्य रहेको छ। चिनियाँ पक्षले अहिलेसम्म विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) समेत बुझाएको छैन। पहिलो खण्ड विस्तारमा भएका कमजोरी सच्याएर दोस्रो खण्ड बनाउने प्रतिबद्धता जनाएको चीनले हालसम्म सो खण्डको नक्सा तथा डिजाइन नेपाललाई दिएको छैन। 

गएको जेठ ३० गते नेपाली कांग्रेसका सांसद् प्रदीप पौडेल प्रस्तावक भएर चक्रपथ विस्तारका लागि संसद्‍मा संकल्प प्रस्ताव दर्ता गरेका छन् भने शनिबार सांसद पौडेलकै नेतृत्वमा पैदल यात्रासमेत गरेर दबाब दिइएको थियो।

सांसद पौडेलले चक्रपथ विस्तार चाँडो सुरु नभए सरकारी गाडी चल्न नदिने चेतावनीसमेत दिएका छन्। चक्रपथ कलंकी-धोबीखोला सडकखण्ड विस्तारका लागि दबाब यात्राको सुरुवात गर्दै सांसद पौडेलले यस्तो बताएका हुन्। 

गत चैतमा चक्रपथ विस्तारको दोस्रो खण्डअन्तर्गत कलंकी-बसुन्धरा सडकखण्डको विस्तारका लागि चिनियाँ पक्षले सकारात्मक चासोसहित कुटनीतिक (डिप्लोमेटिक) नोट पठाएको थियो। त्यसयता काम अघि बढाउनेबारे केही विषय बाहिर आएको छैन। 

चक्रपथ विस्तारमा सडक विभागले नै तीन किलोमिटरको सर्भिस लेनको काम गरिरहेको छ। नारायणगोपाल चोकको घरहरू अझै हटाउन सकिएको छैन। यो खण्डमा मुख्य सडक ८ लेनमा विस्तार हुने र बाँकी दाँयाबाँया गरेर २ लेन सर्भिस लेन थपेर १० लेनको बन्नेछ।

अहिले यस क्षेत्रमा धुलोका कारण छेउछाउका नागरिकहरू दिक्क भएका छन्। छेउछेउमा अनधिकृत रुपमा माटो थुपारेका कारण सडक जाम  हुने गरेको स्थानीयको गुनासो छ। उपत्यकाबाट लामो दुरीमा छुट्ने सवारीसाधन बसपार्कदेखि कलंकीसम्म यही सडक भएर जानुपर्ने हुँदा कलंकीसम्म आइपुग्न नै झण्डै एक घण्टा लाग्ने गरेको छ।

चिनियाँ पक्षले दोस्रो खण्डमा साइट क्लियर नभएसम्म आफूहरूले काम नथाल्ने जनाएपछि नेपाल पक्षले सबै साइट क्लियर गरिसकेको जनाएको छ। सडक छेउछाउका रुखको कटान, बिजुलीका पोलहरू सार्ने काम र मुआब्जा वितरणको काम सकिएको छ। 

यसअघि चीन सरकारकै सहयोगमा चक्रपथ पहिलो खण्ड कोटेश्वर-कलंकी सडक ८ लेनमा विस्तार भइसकेको छ। जसको दुरी १०.३९ किलोमिटर छ। यो सडक खण्ड २०७५ माघमा चीनले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।

सन् १९७७ मा चीन सरकारकै सहयोगमा २७.२ किलोमिटर चक्रपथ निर्माण भएको थियो। कोटेश्वर-कलंकी सडक चीन सरकारकै आर्थिक तथा प्राविधिक सहयोगमा बनेको हो।

पहिलो खण्ड चीनको सांघाई कन्स्ट्रक्सन ग्रुपले २०७० मा विस्तार थालेको थियो। विस्तारको काम २०७३ माघसम्म सक्ने भनिए पनि दुईवर्ष ढिलोगरी २०७५ माघमा हस्तान्तरण भएको थियो। यो खण्ड विस्तारको लागत ३१ करोड २० लाख चिनियाँ युआन रहेको चीनले बताएको थियो। 

चीन सरकारको अनुदान सहयोगमा बन्ने भएकाले नेपाल सरकारले चीनलाई छिटो काम थाल्न दबाब पनि दिन सकेको छैन। चीनले बरु नेपाल सरकारलाई चक्रपथ विस्तारबारे औपचारिकबाहेक नबोल्न भन्दै आएको छ। दुई/तीन पटक चिनियाँ प्राविधिक टोली आएपनि विस्तारको काम अघि बढ्न सकेको छैन। 

चीनले यो आयोजनालाई पनि बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) सँग जोड्न खोजेकाले पनि ढिलो भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले बताएका छन्। केही सयमअघिको एउटा छलफलमा चिनियाँ पक्षले अनौपचारिक रुपमा बीआरआईको कुरा जोडेको ती अधिकारीले जानकारी दिए। 


प्रकाशित : सोमबार, असार १७ २०८११२:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend