सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

नेपाल टेलिकमले भीस्याट प्रविधिमार्फत रानीसैनमा सञ्चालनमा ल्यायो टेलिफोन सेवा

images
आइतबार, असार १६ २०८१
images
नेपाल टेलिकमले भीस्याट प्रविधिमार्फत रानीसैनमा सञ्चालनमा ल्यायो टेलिफोन सेवा

सो क्षेत्रमा सेवा सञ्चालन भएपश्चात त्यहाँ बसोबास गर्ने हुम्ला र बाजुरा दुवै क्षेत्रका बासिन्दा लाभान्वित हुनेछन्।

images
images

काठमाडौं- नेपाल टेलिकमले देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा हुम्ला, बाजुरा र बझाङको सीमा क्षेत्रमा पर्ने सैपाल हिमालको काखमा अवस्थित रानीसैनमा टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ।

images
images
images

हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ३ मा अवस्थित रानीसैनमा कम्पनीले गत असार ९ देखि भीस्याट प्रविधिबाट सेवा सञ्चालन गरेको टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए।

images
images

बाजुरा सदरमुकाम मार्तडीदेखि गाडीमा एक दिन र त्यसपछि करिब चार दिन हिँडेर तथा हुम्ला सदरमुकाम सिमकोटदेखि गाडीमा तीन, चार घण्टा र एक दिन पैदल हिँडेर मात्र यो स्थानमा पुग्न सकिने स्थानीय बासिन्दा सोनाम लामाले बताए।

images
images

योभन्दा पहिले करिब २० किलोमिटर तल लाम्पाटा र माथि ५ हजार ५ सय मिटर उचाइको साके पुगेर मात्र मोबाइल सेवामार्फत सम्पर्क गर्न सकिने अवस्था थियो। अब भने यहाँका करिब ६ सय बासिन्दाले सहज तरिकाले आफन्तसँग टेलिफोन गर्न सक्ने उनले बताए।

रानीसैन खासगरी चरिचरण क्षेत्र हो। यहाँ ६ महिना भन्दा बढी हिउँ पर्ने भएकाले अन्य समयमा मानिसको बसोबास हुँदैन। करिब ३ हजार ६ सय मिटरको उचाइमा अवस्थित सो क्षेत्रमा सेवा सञ्चालन भएपश्चात त्यहाँ बसोबास गर्ने हुम्ला र बाजुरा दुवै क्षेत्रका बासिन्दा लाभान्वित हुनेछन्।

भीस्याट सेवा सञ्चालनका लागि आवश्यक उपकरण हुम्लाको ताँजाकोट जिमानादेखि करिब चार दिनसम्म मानिसले बोकेर रानीसैन पुर्‍याएका थिए। दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो।

प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानमा समेत समानरुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै चालु आर्थिक वर्षमा दार्चुलाको टिंकर, रसुवाको गोसाइँकुण्ड, संखुवासभाको किमाथांकालगायतका स्थानमा भीस्याटमार्फत सेवा सञ्चालन गरिएको छ।                                                                                                            


प्रकाशित : आइतबार, असार १६ २०८११७:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend