शनिबार, भदौ २९ गते २०८१    
images
images

बाढी आएका बेला बस्न मिल्नेगरी कुतियाकबरमा 'सुरक्षित आवास' निर्माण

images
आइतबार, असार १६ २०८१
images
images
बाढी आएका बेला बस्न मिल्नेगरी कुतियाकबरमा 'सुरक्षित आवास' निर्माण

कुतियाकबरका स्थानीय बाढी आएका बेला घर छोडेर दोधारा चाँदनी-७ स्थित अम्बिका माध्यमिक विद्यालयमा आश्रय लिएर बस्दै आएका थिए।

images
images

वेदकोट- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० स्थित कुतियाकबरमा सुरक्षित आवास (सेफ हाउस) निर्माण भएको छ।

images
images
images

महाकाली र जोगबूढा नदीले घेरेको बाढीको उच्च जोखिममा रहेको बस्ती कुतियाकबरका स्थानीय बर्सेनि बाढीको समस्या झेल्दै आएका छन्। बाढी आएका बेला बस्न मिल्नेगरी कुतियाकबरका स्थानीयका लागि दुई वटा सेफ हाउस निर्माण गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार लिम्बुले बताए। नगरपालिका, नेपाली सेना र विभिन्न संघसंस्थाको लगानीमा उक्त आवास निर्माण भएपछि स्थानीय खुसी भएका छन्।

नगरप्रमुख लिम्बुका अनुसार नगरपालिकाको पाँच लाख रूपैयाँसहित विभिन्न संघसंस्थाको गरी कुल २७ लाख रूपैयाँमा एउटा र सेनाको २० लाख रूपैयाँ र नगरपालिकाको पाँच लाख रूपैयाँको लगानीमा अर्को सेफ हाउस निर्माण भएको हो।

'बाढीले बर्सेनि खाद्यान्न, लत्ताकपडा बगाएर लैजान्छ। ज्यान जोगाउनै मुश्किल पर्छ', स्थानीय टेकबहादुर सुनारले भने, 'एक किलोमिटर टाढा गएर आश्रय लिएर बस्नु पर्थ्यो। सेफ हाउस निर्माण भएपछि त्यो बाध्यता हट्ने छ।' कुतियाकबरका स्थानीय बाढी आएका बेला घर छोडेर दोधारा चाँदनी-७ स्थित अम्बिका माध्यमिक विद्यालयमा आश्रय लिएर बस्दै आएका थिए।

images

'बर्सात लाग्नेबित्तिक्कै डर त्रास हुन्थ्यो। सेफ हाउस भएपछि केही हदसम्म डर हटेको छ। ज्यान जोगिने आशा जागेको छ', स्थानीय मायादेवी सुनारले भनिन्, 'खाद्यान्न, लुगाफाटो त बचाउन सकिँदैन। सेफ हाउसले ज्यान जोगिनेमा ढुक्क छौँ।'

सीमामा नेपाली भूमिको रक्षक बनेर बसेका कुतियाकबरका स्थानीयले सरकारसँग वर्षात्मा बस्न सुरक्षित स्थानमा आवास उपलब्ध गराउनुपर्ने माग गर्दै आएका थिए। महाकाली नदीमा पक्की तटबन्धन नहुँदा कुतियाकबरमा कटान भएर उर्वराभूमि बगरमा परिणत हुँदै गएको छ।

हाल महाकाली नदीमा जैविक तटबन्धन निर्माण गर्ने काम समेत भइरहेको नगरप्रमुख लिम्बुले जानकारी दिए। उनका अनुसार महाकालीको तटीय क्षेत्रका स्थानीयलाई पानीको बहावबारे सूचना दिन पक्की पुलमा उपकरण जडान गरिएको छ।

'जोगबूढा नदीमा पनि उपकरण जोड्ने तयारी गरेका छौँ। महाकालीमा जडित उपकरणले पानीको बहाव सतर्कता तह पार गरेको मापन गरेपछि साइरन बजाएर वा म्यासेजमार्फत जानकारी गराइन्छ', उनले भने। रासस


प्रकाशित : आइतबार, असार १६ २०८११४:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend