काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले नेपालका दुई नयाँ विमानस्थल सञ्चालनमा भारतीय पक्षले सहकार्य गर्नुपर्ने बताएका छन्।
‘हाम्रा दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलहरूमात्रै पूर्ण रुपमा सञ्चालनमा नआएका होइनन्, भारतले निर्माण गरेका नयाँ विमानस्थलहरूमा समेत उल्लेख्य मात्रामा हवाई उडानहरू भएको देखिँदैन तसर्थ सीमा क्षेत्र नजिकका सहरहरूलाई जोड्ने उडानहरू तथा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय उडान सञ्जालको विस्तारमा समेत हामी एक साझा उद्देश्यका साथ अगाडि बढ्नुपर्ने छ,’ महानिर्देशक अधिकारीले भने।
भारतीय आकाशमा हवाई जामको अवस्था सृजना हुनसक्ने अवस्थामा नेपालको आकाशलाई पूर्ण प्रयोग गरी पूर्वी एसिया र पश्चिमलाई जोड्ने हवाई रुटहरूको निर्माण र सञ्चालनबाट नेपाल तथा भारत दुवैलै अधिकतम फाइदा लिन सकिने विषयमा गम्भीर भएर सोच्न भारतीय पक्षका प्रतिनिधिहरूलाई उनले अनुरोध गरेका छन्।
हवाई सुरक्षाका चुनौतीहरूलाई साझा समस्याका रुपमा समाधान गर्न एउटै मुद्दा बनाएर जानुपर्ने उनले जोड दिएका छन्। महानिर्देशक अधिकारीले नेपाल, भारत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका लगायतका साउथ एसिया क्षेत्रका अर्थात साउथ एसिया क्षेत्रमा उड्डयन क्षेत्रमा भइरहेको प्रगति तथा आगामी दिनहरूमा हुने प्रक्षेपणले भविष्य राम्रो देखिएको बताउँदै सो क्षेत्रका सबै साझेदार राष्ट्रहरूले अधिक लाभ लिन सकिने समय आएको समेत बताएका छन्।
२०२४ जुन २४-२६ मा अमेरिकाको वासिङटन डिसिमा सम्पन्न सातौँ युएस इण्डिया एभिएसन समिटमा मुख्य वक्ताको रुपमा भाग लिएका महानिर्देशक अधिकारीले अमेरिका र भारतबीच विगत २० औँ वर्षदेखि प्रत्यक्ष हवाई सम्पर्क कायम रहेको विषयमा समेत राय व्यक्त गरेका थिए।
उक्त विस्तार नेपाल लगायत एसिया प्रशान्त क्षेत्रका अन्य मुलुकमा क्रमशः कसरी विस्तार गर्न सकिन्छ एवं हवाई तथा उड्डयन सुरक्षामा अमेरिकी सरकार तथा युनाइटेड स्टेट ट्रेड एण्ड डेभेलपमेण्ट एजेन्सीले खेल्न सक्ने भूमिका तथा पुर्याउन सक्ने सहयोगका बारेमा समेत महानिर्देक अधिकारीले बताएका थिए।
कार्यक्रममा प्राधिकरणका महानिर्देशक अधिकारीले प्राकृतिक सुन्दरताले भरिपूर्ण, पशुपतिनाथ तथा मुक्तिनाथ जस्ता मन्दिरहरू रहेको, गौतमबुद्धको जन्मभूमि लुम्विनी तथा सगरमाथाको देश नेपाल विश्वमा सानो तर सुन्दर भन्ने आफ्नो छुट्टै पहिचान बनाएकोसमेत बताए।
नेपालले एसिया प्रशान्त क्षेत्रमा देखिएको हवाई गतिविधिहरूको वृद्धि तथा यसबाट उत्पन्न हुनसक्ने खतराहरूको सामना गर्न नेपाल तयार रहेको बताए।
७५ वर्षदेखि एउटा मात्रै अन्तराष्ट्रिय विमानस्थलबाट सेवा प्रदान गरिरहेको नेपालले हालै मात्र भगवान गौतमबुद्धको जन्मभूमिमा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल तथा नेपालको पर्यटकीय नगरीका रुपमा परिचित पोखरामा पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण गरी संचालनमा समेत ल्याइ सकिएको जानकारी दिए। तथापी अपेक्षित रुपमा नियमित हवाई उडानहरू संचालन भइनरहेका र सो को पूर्ण क्षमताका लागि आफुले सेवा शुल्कहरूमा छुट लगायत सबै खालको प्रोत्साहन तथा आकर्षणका कार्यक्रमहरू संचालनमा ल्याएकोसमेत जानकारी गराएका थिए।
नेपालका दुर्गम क्षेत्रका विमानस्थलहरू खाद्यान्न, औषधी, नुन लगायत आधारभूत आवश्यकताका परिपूर्तिका लागि अत्यावश्यक रहेको र दुर्गम क्षेत्रका बासिन्दाहरूको यातायातको साधनमा जहाज मात्रै रहेकोले त्यस्तो विमानस्थलको संचालन र नियमित उडानको प्रत्याभूति गर्नु प्राधिकरणको दायित्व रहेको जानकारी दिए। हवाई यात्रालाई विलाशिताको परिभाषा भित्रबाट हेर्ने आँखाहरूलाई नेपालको दुर्गम क्षेत्रमा हुने उडान र यसका चुनौतीहरूलाई विवशताका रुपमा हेरिदिन अनुरोध गरेका थिए।
कोभिड पूर्वकोपर्यटक सँख्या हेर्ने हो भने साउथ एसियामा २७ मिलियन, नर्थ अमेरिकामा १९८ मिलियन, युरोपमा ९६८ मिलियन, पूर्वि एसियामा ४९० मिलियन देखिन्छ भने चिन एक्लैले ३० मिलियन पर्यटक भित्राएको रेकर्डले देखाउँछ। भारत आफैं ८ प्रतिशत भन्दा बढीको जि.डि.पि. बोकेर बसेको अनुभूति गरिरहँदा ३ प्रतिशत भन्दा कमको जीडीपी भएको नेपाल लगायत उसका अन्य छिमेकी मुलुकहरूले समेत त्यसको लाभ पाउनुपर्नेमा उनले जोड दिए।
क्षेत्रीय समन्वय र सहकार्य आजको आवश्यकता रहेको र नेपाल त्यसका लागि सँधै तत्पर रहेको तर ठूलो अर्थतन्त्र भएका छिमेकी मुलुकहरूले यसको अग्रसरता लिनुपर्नेमा महानिर्देशक अधिकारीले जोड दिए।
२.७ मिलियन नेपालीहरू खाडी मुलुकमा श्रमिकका रुपमा काम गरिरहेको अवस्थामा भारतबाट मात्रै ८.७ मिलियन कामदारहरू अरब मुलुकमा रहेको तथ्यांक छ। त्यस्तै बंगलादेशबाट ७.४ मिलियन कामदारहरू खाडीमा रहेको देखाउँछ। अर्थात, भारत र उसका छिमेकी देशहरूबाट मात्रै युवा जोश जाँगर र श्रम क्षमता भएका नागरिकहरू अरब मुलुकहरूमा मात्रै अदक्ष कामदारका रुपमा रहेका श्रमिकहरूको डाटा हेर्ने हो भने क्यानडाको जनसंख्याको आधा जनसँख्या जति त हाम्रो छेत्रबाट खाडीमा कामदारका रुपमा रहेको पाइन्छ। तसर्थ सहकार्यका माध्यमबाट आर्थिक रुपान्तरणमा जोड दिन साउथ एसियाका राष्ट्रहरू एक ठाउँमा उभिनुपर्ने उनको आह्वान रह्यो। युरोपमा इयु तथा इयासाले साझा फोरमका रुपमा काम गरे जस्तो यो क्षेत्रमा त्यस्तो कुनै संस्था नरहेकोले त्यस विषयमा समेत सबैको साझा सहमति आवश्यक रहेको बताए।
यसको कार्यान्वयनका लागि सृजनात्मक भूमिका खेल्न सो फोरममा भएका सबै अमेरिकी प्रतिनिधि तथा अधिकारीहरूलाई समेत अनुरोध गरे। आईकाओले गरेको प्रक्षेपण र एसिया प्रशान्त क्षेत्रमा देखिएको हवाई गतिविधिहरूको वृद्धिदरबाट समेत भविष्यमा दक्ष प्राविधिक जनशक्तिहरूको ठूलो मात्रामा माग हुने र त्यसका लागि आज बाटै सहकार्य र समन्वयका माध्यमबाट हामीले जनशक्तिहरू तयार गनुपर्ने अवस्था देखिएको बताउँदै महानिर्देशक अधिकारीले विमानस्थल संचालन तथा एयर ट्राफिक म्यानेजमेन्टका लागि प्राविधिक एवं व्यवस्थापकिय क्षमता अभिवृद्धि गर्दै जानुपर्ने भएकोले क्षेत्रीय स्तरमा तालिम, गोष्ठी तथा सेमिनारहरूमा वृद्धि गर्दै जाने र एक आपसमा भएका ज्ञान, क्षमता र सीपको आदान प्रदान गनुपर्ने बताए।
नेपालमा आईकाओको मान्यता प्राप्त ट्रेन एयर प्लस प्रमाणित नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठान रहेको र त्यहाँबाट ए.टि.सि., एभिएसन फायर सर्भिस लगायतका प्राविधिकहरू जनशक्ति उत्पादन देखि रिफ्रेसर, ट्रेनिङ, रेटिङ लगायतका तालिमहरू संचालन हुने गरेको र विदेशी प्रशिक्षार्थीहरूलाई समेत प्रशिक्षित गर्ने गरिएको जानकारी गराए।
हवाई पूर्वाधार तथा क्षमता विकासको विषयमा नेपालले कुनै कञ्जुस्याईं नगरेको र आफ्नो क्षमताले भ्याए सम्म यसको समयानुकुल विस्तारमा लागिरहने प्रतिबद्धता व्यक्त गर्दै महानिर्देशक अधिकारीले आफुले नेतृत्व गरे पश्चात नेपालको उड्डयन गतिविधिहरूमा विस्तार गरेको, हवाई तथा उड्डयन सुरक्षामा उल्लेख्य सुधार गरेको, यात्रुको सेवा र सुविधालाई प्राथमिकतामा राखी उनीहरूलाई प्रदान गरिने सेवालाई अन्तर्राष्ट्रिय स्तरको बनाईएको साथै प्राविधिक तथा व्यवस्थापकीय क्षमतामा सुधारका लागि आईकाओमार्फत विश्वमै पहिलो पटक सिभिल एभिएसन मास्टर प्लानिङ तालिम नेपालमा संचालन गर्नुका साथै थुप्रै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तालिम, गोष्ठी, सम्मेलन तथा सभा समारोह मार्फत जनशक्तिहरूलाई चुस्त दुरुस्त पारिएको प्रकाश पारे।