आइतबार, भदौ २३ गते २०८१    
images
images

कृषि सामग्री कम्पनी भन्छ - सिरहामा रासायनिक मलको पर्याप्त मौज्दात छ

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार १४ २०८१
images
images
कृषि सामग्री कम्पनी भन्छ - सिरहामा रासायनिक मलको पर्याप्त मौज्दात छ

सिरहामा करिब ६३ हजार ९ सय ६८ हेक्टर जमिन खेतीयोग्य रहेको छ। बजारको माग अनुसार नै रासायनिक मलको आयात भइरहेकाले मौज्दात रहेको हो।

images
images

सिरहा- यस वर्ष जिल्लाका किसानले धान रोपाइँको समय रासायनिक मलको अभाव झेल्नु नपर्ने भएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ। लिमिटेडको शाखा कार्यालय लहानसँग पर्याप्त मौज्दात मल भएकाले सिरहाका किसानलाई समस्या नहुने भएको हो।

images
images
images

जिल्लामा आवश्यक रासायनिक मल तीन किस्तामा वितरण भइरहेको लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयले जनाएको छ। बाँकी मल आउने क्रम जारी रहेकाले अभाव नहुने कार्यालयका प्रमुख दीपकराज पौडेलले जानकारी दिए। यसअघि कम्पनीले बजार मागअनुसार मल ल्याउन नसक्दा किसानले अभाव झेल्नुपरेको उनको भनाइ छ।

प्रमुख पौडेलका अनुसार सिरहामा करिब ६३ हजार ९ सय ६८ हेक्टर जमिन खेतीयोग्य रहेको छ। बजारको माग अनुसार नै रासायनिक मलको आयात भइरहेकाले मौज्दात रहेको मल वितरण भइरहेको उनले जानकारी दिए। रासायनिक मलको सबैभन्दा धेरै माग असारमा हुने भन्दै मागअनुसारको थप मल आइरहेकाले अभाव नहुने उनले बताए।

'हामीले असार सुरुदेखि पहिलो चरणको सात सय मेट्रिकटन रासायनिक मल वितरण गरिसकेका छौँ। अहिले दोस्रो चरणको आठ सय मेट्रिकटन वितरण भइरहेको छ। तेस्रो चरणमा यही असार २२ गतेसम्म वितरण हुन्छ', प्रमुख पौडेले भने, 'यसरी सबै किसानलाई आवश्यकताका आधारमा मल वितरण गरिने हुँदा ढुक्क हुनलाई म आग्रह गर्दछु।' युरिया, डिएपी, पोटासलगायत रासायनिक मल कम्पनीसँग प्रयाप्त मौज्दात रहेको उनको भनाइ छ।

images

जिल्लाका किसानका लागि पालिकाले तोकेका कृषि सहकारी संस्थामार्फत मल वितरण हुँदै आएको छ। सम्बन्धित निकायले पहुँचका आधारमा सिफारिस गर्ने हुनाले वास्तविक किसान मल पाउनबाट छुटेको हुनसक्ने भन्दै पौडेलले भने, 'कतिपय किसानले मलखाद नपाएको गुनासो आएको छ। किस्तामा मल वितरण गर्नुपरेकाले उहाँहरुको पालो अब क्रमशः आउने छ।'

जिल्लामा कृषि सामग्री केन्द्रसँगै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले पनि रासायनिक मल वितरण गरिरहेको छ। कृषि ज्ञान केन्द्रले आवश्यकता अनुसार पालिकालाई रासायनिक मलको कोटा निर्धारण गर्ने र पालिकाले सोहीअनुसार पत्र पठाएपछि मल प्रदान गरिने पौडेलले जानकारी दिए।

गत वर्षभन्दा यसवर्ष धेरै मल आयात भएकाले मल अभाव नहुने उनको विश्वास छ। रासायनिक मलले गोठमलभन्दा तुरुन्त काम गर्ने, लागत कम लाग्ने, उत्पादन र उत्पादकत्व बढाउने किसानको भनाइ छ। रासस


प्रकाशित : शुक्रबार, असार १४ २०८१११:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend