काठमाडौं- माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन्। परीक्षामा सहभागीमध्ये १ सय ८६ जनाले ४ जीपीए ल्याएका छन्।
कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७ सय ८५ विद्यार्थीमध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन्। परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन्। एनजी ल्याउने विद्यार्थीको संख्या २ लाख ४२ हजार ९२ रहेको छ।
यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक भएको हो। यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशतअर्थात् २६ दशमलव २५ अंक अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भएसरह मानिने गरी ‘एनजी’ उल्लेख गरिने व्यवस्था गरिएको हो।
आन्तरिकतर्फ २५ पूर्णाकंको परीक्षामा ४० प्रतिशतअर्थात् १० अंक ल्याउनुपर्छ। ‘एनजी’ आउने परीक्षार्थीले ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन्। विद्यार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने छन्।
दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष ‘एनजी’ लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन्।