शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

डोल्माले लगानी गरेका दुई कम्पनी बन्द

बिहीबार , असार १३ २०८१
डोल्माले लगानी गरेका दुई कम्पनी बन्द

सस्तो डिल अहिले बन्दको अवस्थामा छ। यसका संस्थापक अमुन थापाले घोषित रुपमा नभनेपनि सर्कलमा घोषणा गरेर कम्पनी छाडिसकेका छन्।

काठमाडौं- लगानी कोष व्यवस्थापन कम्पनी डोल्माले लगानी गरेका दुईवटा कम्पनी बन्द भएका छन्। प्रतिफलको सम्भावना देखेर व्यावसायिक लगानी कोषले नै लगानी गरेका दुईवटा कम्पनी हालै बन्द भएका हुन्। 

डोल्माले लगानी गरेको ई-कमर्श कम्पनी सस्तो डिल बन्द भएको केही समयपछि नै निदान अस्पताल पनि बन्द भएको हो।

डोल्माले सस्तोडिलमा सन् २०१९ मा २६ लाख डलर लगानी गरेको थियो। तर सस्तो डिल अहिले बन्दको अवस्थामा छ। यसका संस्थापक अमुन थापाले घोषित रुपमा नभने पनि सर्कलमा घोषणा गरेर कम्पनी छाडिसकेका छन्। 

डोल्मासँगै नेपालकै मर्चेन्ट बैंक, कर्पोरेट हाउसको पनि लगानी जुटाउन सफल भएको सस्तोडिल बन्द भइसकेको छ। सन् २०११ मा स्थापना भएको यो कम्पनीको वेबसाइट नै अहिले खुल्दैन। 

डोल्माले नै लगानी गरेको अर्को कम्पनी निदान अस्पताल पनि बन्द भएको छ। व्यावसायिक रुपमा सञ्चालन हुन नसकेपछि निदान बन्द भएको धेरै भइसकेको छ। काम गर्ने कर्मचारीको तलबभत्ता दिन नसकेर निदान बन्द भएको हो। निदानमा डोल्माले १३ लाख डलर लगानी गरेको थियो। जसमा प्रतिबद्धता भने २५ करोड डलरको गरेको थियो। 

डोल्माले लगानी गरेका अरु स्टार्टपको पनि खासै राम्रो प्रदर्शन देखिएको छैन। उपायसिटी कार्गोले पछिल्लो समय सन्तोषजनक व्यापार गर्न सकिरहेको छैन। 

युरोपियन लगानी कोष तथा संस्थाबाट लगानी ल्याएर नेपालका विभिन्न कम्पनी तथा स्टार्टपमा लगानी गर्दै आएको डोल्मालाई पछिल्लो समय आफैले लगानी गरेका दुई कम्पनी बन्द हुँदा धक्का लागेको छ। 

स्टार्टप कम्पनीको असफलताको जोखिम सदैव धेरै हुन्छ। यस्तोमा कोष विशेषको लगानीको रणनीतिको तुलना स्वभाविक हुँदैन। यद्यपि यसरी कुनै पनि कम्पनीमा लगानी गर्नुभन्दा पहिला व्यावसायिक र दक्ष कोष व्यवस्थापकको गहिरो अनुसन्धान हुन्छ। प्रतिफल दिन सक्ने सम्भावना बलियो भएमा व्यवस्थापकीय सुझाव र मनिटरिङसहित लगानी गर्छन्। 

यस्ता कोष व्यवस्थापकले सम्भावनाभन्दा पनि पहुँचको भरमा लगानी गरेपछि भने आफ्नोमात्र होइन अरुको पनि लगानी जोखिममा पर्छ। कोष व्यवस्थापकले लगानी गरेपछि अरूले पनि त्यही विश्वासमा लगानी गर्न सक्ने सम्भावना धेरै हुन्छ।


प्रकाशित : बिहीबार , असार १३ २०८११६:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend