शुक्रबार, चैत १५ गते २०८१    
शुक्रबार, चैत १५ २०८१
images
images

लमजुङमा पहिरोले तीन घर पुरिँदा एकजनाको मृत्यु, तीनजना बेपत्ता

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार १२ २०८१
images
images
लमजुङमा पहिरोले तीन घर पुरिँदा एकजनाको मृत्यु, तीनजना बेपत्ता

लगातारको वर्षासँगै घरमाथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो।

images
images

लमजुङ- लमजुङको क्व्होलासोथार गाउँपालिका-३ बगुम गाउँमा गए राति पहिरोले तीन घर पुरिँदा तीनजना बेपत्ता भएका छन्। एकजनाको शव भेटिएको छ। पहिरोमा परी एकजना घाइते भएका छन्। 

images
images

वडासदस्य विनप्रसाद घलेका अनुसार पहिरोमा परी बेपत्ता भएकामध्ये ६९ वर्षीय रूद्रमान गुरुङको शव फेला परेको हो। पच्युटोलमा गए राति पहिराले तीन घर पुरिँदा चार बेपत्ता भएका थिए भने एकजना घाइते भएका थिए। बेपत्ता भएकाहरुको आज बिहानैदेखि स्थानीय र प्रहरीले खोजी गरिरहेका छन्।

images
images

लगातारको वर्षासँगै घरमाथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो।

images
images

पहिरोमा परी पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए।

रुद्रमान र पञ्चकुमारी ससुरा बुहारी हुन् भने इच्छा रुद्रमानका भाइकी नातिनी हुन्। पञ्चकुमारीको छोरो अर्को घरमा सुत्न गएकाले सकुशल छन्। 

क्व्होलासोथार गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेका अनुसार गए राति २ः३० बजे पहिरो गएको हो। राति नै प्रहरी चौकी मालिङलाई खबर गरेको उनले जानकारी दिए।

स्थानीय जुना घलेका अनुसार रुद्रमानकी श्रीमती भने छोरीको घरमा गएकाले उक्त घटनाबाट जोगिएकी छिन्। 'पानी बेस्सरी परिरहेको छ, पहिरो गएको ठाउँमा जान सकिएको छैन', उनले भनिन् 'प्रहरी चौकी मालिङबाट दुई प्रहरी राति नै उद्धारका लागि आउनुभएको छ, श्रोतसाधनको अभावले पहिरो पन्छाउन सकिएको छैन।'

सो ठाउँमा ६ वटा घर रहेका छन्। तीन घर भने पहिरोबाट जोगिएका छन्। रासस


प्रकाशित : बुधबार, असार १२ २०८१०९:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend