शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

मौद्रिक नीतिका आफ्नै सीमा छन्, समस्या बुझेर अगाडि बढ्न आवश्यक छ : गभर्नर अधिकारी

'विभिन्न सुझावका आधारमा नै मौद्रिक नीति आउँछ'

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार ११ २०८१
मौद्रिक नीतिका आफ्नै सीमा छन्, समस्या बुझेर अगाडि बढ्न आवश्यक छ : गभर्नर अधिकारी

काठमाडौं- मुद्रास्फीति सहज भएको अवस्थामा चलिलो मौद्रिक नीति र मुद्रास्फीति बढी भएको समयमा कसिलो मौद्रिक नीति ल्याउने गरेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन्।

कोभिड १९ को समयमा 'अनकन्भेसनल' मौद्रिक नीति लिएपनि पछिल्लो समय अवस्था त्यस्तो नरहेको उनले बताएका छन्। कर्जा बढी लिने व्यवसायीहरूले मौद्रिक नीतिमाथि अपेक्षा बढी राख्ने गरेको उनको भनाइ छ। 

यसअघि नै बढी कर्जा लिएर समस्यामा परेका ऋणीहरूले मौद्रिक नीतिले समस्या समाधान गरिदियोस् भन्ने चाहाना राख्ने गरेको उनले बताए।

'मौद्रिक नीतिका आफ्नै सीमाहरू छन्। अहिले नै बढी ऋण लिइसकेका ऋणीहरूले अझै थप ऋण माग गर्दै हुनुहुन्छ। अहिले ऋण दियो भने आगामी वर्ष आएर फेरि व्यवसायको साँचो बुझाइदिन्छु भन्ने खतरा छ। त्यसैले विरोधका लागि विरोध होइन कि समस्या बुझेर अगाडि बढ्न आवश्यक छ', आर्थिक पत्रकार समाज(सेजन) ले आयोजना गरेको प्रि मोनेटरी पोलेसी छलफल कार्यक्रममा गभर्नर अधिकारीले भने। 

बैंक कर्जा लिँदा कमिसन लिने कुरा सबैभन्दा गलत भएको उनले बताए। कर्जा लिँदा कमिसन लिने कुरा राष्ट्र बैंकका लागि सबैभन्दा ठूलो आक्षेप र बैंक वित्तीय संस्थाका लागि सबैभन्दा सबैभन्दा ठूलो आरोप भएकाले यस्तो आरोपको छानबीन गर्नसमेत गभर्नर अधिकारीले राष्ट्र बैंकका कर्मचारीलाई निर्देशन दिएका छन्। 

राज्यको उद्देश्य उत्पादन बढाउने भएकाले कर्जालाई कृषि, ऊर्जा र साना तथा मझौला उद्योगी व्यवसायीलाई प्राथमिकतामा राखेर त्यसतर्फ प्रवाह गरिएको उनले बताए।

बैंकहरूका लागि आयात गर्नका लागि एलसी खोल्न दिने र नाफा कमाउन दिन सहज हुने भएपनि आन्तरिक उत्पादन बढाउनतर्फ केन्द्रित भएकाले प्राथमिकताप्राप्त क्षेत्रमा कर्जा प्रवाह बढाउनेतर्फ नीति लिएको उनले बताए। 

अब बैंक वित्तीय संस्थाहरूमा थप प्रभावकारी नियमन गर्नेतर्फ केन्द्रित हुने र नियमन आवश्यक रहेको उनले बताए।

विभिन्न क्षेत्रबाट प्राप्त सुझावका आधारमा आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमा हुने गभर्नर अधिकारीको भनाइ छ। 


प्रकाशित : मंगलबार, असार ११ २०८११२:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend