शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

दबाबबीच नीतिगत स्थिरतालाई ध्यानमा राखेर बजेट तर्जुमा गरेका हौँ : अर्थसचिव मरासिनी

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार ११ २०८१
दबाबबीच नीतिगत स्थिरतालाई ध्यानमा राखेर बजेट तर्जुमा गरेका हौँ : अर्थसचिव मरासिनी

बैंकिङ प्रणालीमा रहेको ६ खर्ब तरलता परिचालनको सम्बन्धमा अर्थ मन्त्रालयको पनि चासो रहेको उनले बताए। यस विषयलाई ध्यानमा राखेर आगामी मौद्रिक नीति तर्जुमा हुनुपर्नेमा उनले जोड दिए।

काठमाडौं- नीतिगत स्थिरतालाई ध्यानमा राखेर चालु आर्थिक वर्षको बजेट तर्जुमा गरेको अर्थसचिव मधुकुमार मरासिनीले बताएका छन्। २० खर्बको बजेट ल्याउन दबाब भएपनि विनियोजन घटाएर १८ खर्ब ६० अर्ब रुपैयाँ बजेट ल्याएको उनको भनाइ छ।  

चालु आर्थिक वर्ष निर्माणलाई प्रमुख प्राथमिकतामा राखेर बजेट तर्जुमा गरेको बताउँदै उनले विनियोजनमा बजेटरी अनुशासनभित्र रहेर ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरेको उल्लेख गरे। 

आर्थिक पत्रकार समाज(सेजन) ले आयोजना गरेको प्रि मोनेटरी पोलेसी छलफल कार्यक्रममा उनले कुनै पनि ठूलो महत्वकांक्षा नराखी तथ्यमा आधारीत भएर बजेटको लक्ष्य राखिएको बताए। यस्तै राजस्वको अनुमान पनि अवास्तविक नरहेको उनले बताए। 

छिटो छिटो समयमा सरकार परिवर्तन भएका कारणले दीर्घकालीनरुपमा (कम्तिमा ५ वर्ष) सम्म निश्चित राजस्वका दरहरु चलाउन नपाउने व्यवस्था ल्याउने तयारी अन्तिम समयमा काटिएको उनले बताए। 

यतिबेला अर्थतन्त्रको प्रमुख माग भनेको पुँजीमा इन्जेक्ट गर्ने नै भएको उनको भनाइ छ। राष्ट्र बैंकको सञ्चालक समितिको बोर्डमा भएको नाताले आगामी मौद्रिक नीतिमा केही लचकताका लागि आफूले प्रयास गर्ने उनले बताए। 

सरकारले पछिल्लो समय भुक्तानी दिइरहेको उनले बताए। स्रोतको दुरुपयोग भयो भन्ने विषयले बजेट निकासामा अवरोध सृजना गरिरहेको उनको भनाइ छ। 

'कति र के भन्ने विषयमा कन्फ्युजन हुन्छ। वर्षको अन्तिम समयमा छ। सरकारी खर्च बढाउनुपर्ने आवश्यकता छ। केही भइरहेको पनि छ। तर, बजेटको दुरुपयोग भन्ने विषयले कर्मचारीको मनोबल घटेको छ। कुन पत्रिकामा के आयो भनेर साथीहरुलाई हेरेर मात्रै काम गर्न मन्त्रालयका कर्मचारीहरुलाई भनेको छु', उनले भने। 

नयाँ चरणको आर्थिक सुधार हुनेगरी बजेट तर्जुमा गरिएको उनले बताए। युवा पुस्ताको देशमा विश्वास बढ्न नसकेकाले विश्वास बढाउने गरी बजेट तर्जुमाको प्रयास गरेकाले आगामी आर्थिक वर्षको मौद्रिक नीति त्यसैतर्फ केन्द्रित हुनुपर्नेमा मरासिनीले जोड दिए। 

बैंकिङ प्रणालीमा रहेको ६ खर्ब तरलता परिचालनको सम्बन्धमा अर्थ मन्त्रालयको पनि चासो रहेको उनले बताए। यस विषयलाई ध्यानमा राखेर आगामी मौद्रिक नीति तर्जुमा हुनुपर्नेमा उनले जोड दिए।

बाह्य क्षेत्रका कारण आउने चुनौती सम्बोधन गर्न विगतमा बजेट सफल भएपछि मौद्रिक नीतिमार्फत सहुलियत दिएकाले पनि मौद्रिक नीतिमाथिको अपेक्षा बढेको उनले बताए। आगामी समयमा भने 'कोर्स करेक्सन' गर्दै जानुपर्नेमा उनले जोड दिए।


प्रकाशित : मंगलबार, असार ११ २०८११२:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend