आइतबार, भदौ २३ गते २०८१    
images
images

विराटनगरमा ३ अर्ब ४९ करोडको बजेट, १ अर्ब १० करोड आन्तरिक आय उठाउने लक्ष्य

प्लास्टिकका झोलामा प्रतिबन्ध लगाउने घोषणा

images
सोमबार, असार १० २०८१
images
images
विराटनगरमा ३ अर्ब ४९ करोडको बजेट, १ अर्ब १० करोड आन्तरिक आय उठाउने लक्ष्य

वातावरण प्रदूषण गर्ने उद्योग, कलकारखाना तथा सवारीलाई कार्यविधि बनाएर नियमन गरिने कार्यक्रममा उल्लेख छ।

images
images

इटहरी- कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकाले ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रूपैयाँको बजेट ल्याएको छ। १ अर्ब १० करोड आन्तरिक आय प्रक्षेपण गरेको महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले बताइन्।

images
images
images

आर्थिक वर्ष २०८१/८२ को बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले प्लास्टिकका झोलामा प्रतिबन्ध लगाउने घोषणा गरिन्। प्लास्टिकको झोलालाई प्रतिस्थापन गरेर कपडाको झोलालाई प्रयोगमा ल्याउने उनको भनाइ छ।

वातावरण प्रदूषण गर्ने उद्योग, कलकारखाना तथा सवारीलाई कार्यविधि बनाएर नियमन गरिने कार्यक्रममा उल्लेख छ। व्यक्ति वा संस्थाको खाली जग्गामा फोहोर राख्न नपाउने र त्यस्तो अवस्था भेटिए स्वयम् जग्गा धनीको मालपोत वा राजस्वमा थप गरेर जरिबाना तिर्नुपर्ने भएको व्यवस्था गरिने भएको छ।

उत्कृष्ट करदातालाई सम्मान गर्ने कार्यक्रम ल्याएको महानगरले ‘कर कहरले हैन रहरले तिरौँ’ भन्ने नारालाई संस्थागत गर्न स्वयंसेवक परिचालन गरी कर संकलन गर्ने उपमेयर कार्कीले बताएकी छिन्। संकटग्रस्त, रुग्ण र निष्क्रिय सहकारी पहिचान गरी व्यवस्थित गरिने भएको छ।

images

कृषकलाई बीउमा ५० प्रतिशत अनुदान दिने बताएको महानगरले कृषि बीमालाई अगाडि बढाउने भएको छ। मेयर इन्जिनियरिङ छात्रवृत्ति कार्यक्रममार्फत २५ जनालाई निःशुल्क प्राविधिक शिक्षा प्रदान गरिने बताउँदै उनले महानगरमा सुलभ फार्मेसी सञ्चालन गर्ने कार्कीले बताइन्।

सडकपेटीमा जथाभाबी सामग्री राख्न नपाउने नीति अवलम्बन गर्ने बजेट नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। सञ्चार माध्यमको विकासको लागि लोककल्याणकारी विज्ञापनमा मार्फत सहयोग उपलब्ध गराइने भएको छ। कात्तिक मसान्तसम्म दर्ता नवीकरण भएका सञ्चार माध्यमलाई मासिक सुविधा उपलब्ध गराइने भएको हो। खोजपत्रकारिता गर्ने पत्रकारको क्षमता अभिवृद्धि गर्ने नीति अवलम्बन गर्ने भएको छ।

बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ५९ करोड रुपैयाँ बजेट विनियोजन गरेको भने ऋणको साँवा र ब्याज भुक्तानीमा ५ करोड विनियोजन गरिएको छ।

संघीय सरकारकै भर परेको महानगरपालिकाले समानीकरण अनुदानबापत ३२ करोड ६६ लाख र प्रदेश सरकारबाट २ करोड ४९ लाख २९ हजारको अनुमान गरिएको छ। संघीय सरकारकै सशर्त अनुदान ८० करोड ७७ लाख, विशेष अनुदान ७ करोड ५० लाख र समपूरक अनुदान १ करोड १० लाख प्राप्त हुने अनुमान गरेको छ।

प्रदेश सरकार सशर्त अनुदानतर्फ ३ करोड ९० लाख ४३ हजार रूपैयाँ र प्रदेश सरकार समपूरक अनुदान २ करोड गरी कुल ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रूपैयाँ आउने अनुमान विराटनगरको छ।

राजस्व बाँडफाँटमध्ये मूल्य अभिवृद्धि करबाट १६ करोड ११ लाख ७६ हजार, अन्तःशुल्कबाट ५ करोड ८५ लाख, वन रोयल्टी ५ लाख ८२ हजार आय हुने अनुमान कार्कीले प्रस्तुत गरिन्। घर जग्गा रजिस्ट्रेसन दस्तुरबाट ५६ करोड ७९ लाख २८ हजार, सवारी साधन करबाट ३ करोड ८७ लाख १ हजार र मनोरञ्जन तथा विज्ञापन करबापत १ करोड गरी आन्तरिक आयतर्फ १ अर्ब १० करोड ८६ लाख ८५ हजार अनुमान गरिएको छ।

आर्थिक वर्ष २०८०/८१ को लागि विराटनगरले आन्तरिक आयतर्फ ८९ करोड ५० लाख अनुमान गरेकोमा २०८१ जेठ मसान्तसम्ममा ४१ करोड ९८ लाख २५ हजार मात्र संकलन भएको छ। जुन कुल अनुमानित आन्तरिक आयको ४६.९० प्रतिशत मात्र हो।

उपमेयर कार्कीले पेस गरेको बजेटमा बहुवर्षीय ठेक्का तथा गौरवका आयोजना एवं दायित्वका योजनाहरूको भुक्तानीका लागि ५० करोड, बस्ती विकास र तराई-मधेस समृद्धि कार्यक्रमतर्फ ५ करोड ६० लाख र मर्मतसम्भारतर्फका लागि १० करोड विनियोजन भएको छ।

सवारीसाधन खरिदका लागि २ करोड बजेट विनियोजन गरेको बताएकी उनले सामाजिक विकास क्षेत्रअन्तर्गत शैक्षिक विकास कार्यक्रमतर्फ ७८ करोड ७८ लाख रूपैयाँ विनियोजन भएको बताइन्। स्वास्थ्य विकास कार्यक्रमतर्फ २० करोड ५७ लाख ९३ हजार, महिला लक्षित कार्यक्रमतर्फ ९९ लाख ५७ हजार रूपैयाँ विनियोजन भएको छ। 

यसैगरी सुशासन तथा संस्थागत विकासमा राजस्व सुदृढीकरणतर्फ ३० लाख, नगर प्रहरी तथा ट्राफिक व्यवस्थापनका लागि ४० लाख छुट्टाइएको छ। सहरी विकासतर्फ ९० लाख, सूचना तथा सञ्चारका लागि ६० लाख र सूचना तथा प्रविधितर्फ ८० लाख विनियोजन भएको छ।

सुशासन तथा सेवा प्रवाहमा १ करोड ८ लाख ४५ हजार, कानून तथा न्यायतर्फ ७२ लाख ५० हजार, फोहोर पानी प्रशोधन केन्द्रतर्फ २ करोड ९५ लाख, भू-उपयोग आवास तथा बस्ती विकास कार्यक्रमतर्फ ८५ लाख ४९ हजार, विद्युतीय कार्यक्रमका लागि २ करोड ९ लाख  बजेट विनियोजन भएको छ।


प्रकाशित : सोमबार, असार १० २०८११४:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend