काठमाडौं- प्रतिकुल मौसमका कारण बुधबार बिहानदेखि नै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार अहिले आइएफआर प्रणालीबाट उडान तथा अवतरण भइरहेको छ।
आइएफआर उडान यान्त्रिक उपकरणको सहयोगमा हुने उडान हो। सामान्यता विमानस्थलमा भिएफआर प्रणालीबाट उडान तथा अवतरण हुने गर्छ। भिएफआरमा पाइलटले सिधै रनवे देखेर नै उडान तथा अवतरण गर्ने हो।
मौसक प्रतिकुलताका कारण पहाडी भेगमा अधिकांश विमानस्थलमा उडान हुन सकेको छैन। सुगम क्षेत्रमा विमानस्थलमा भने आइएफआर माध्यमबाट उडान तथा अवतरण भइरहेको छ। तर पोखरा र तुम्लिङटार विमानस्थलमा भने अहिलेसम्म उडान हुन नसकेको बुद्ध एयरले जनाएको छ।
आइएफआर प्रणालीबाट उडान तथा अवतरण हुँदा डिले भने भएको छ।