शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

दूधका लागि अब बाख्रा पाले हुने, तयार हुँदै छ दैनिक चार लिटर दूध दुहुन मिल्ने बाख्रा [भिडियोसहित]

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार ९ २०८१
images
images
दूधका लागि अब बाख्रा पाले हुने, तयार हुँदै छ दैनिक चार लिटर दूध दुहुन मिल्ने बाख्रा [भिडियोसहित]

आम किसानलाई दूधको लागि पाल्न मिल्ने ‘सानान’ जातको बाख्रा बितरणको लागि बाख्रा विकास फार्म चित्लाङले तयारी गरिरहेको छ।

images
images

हेटौँडा- आम उपभोक्ता र कृषकहरूलाई समेत दूध भन्नेबित्तिकै गाई र भैँसीको तस्बिर मानसपटलमा आइहाल्छ तर दैनिक चार लिटर दूध दुहुन मिल्ने ‘सानान’ जातको बाख्रा पनि हुन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ।

images
images
images

अब नेपाली गोठमा पनि बाख्राको दूध उत्पादन हुने भएको छ। आम रुपमा हाम्रो गाउँघरमा पाईने बाख्रा भनेको खरी र जमुनापारी हो जसलाई दूध होइन मासुको लागि उपभोग गर्ने गरिइएको छ। अब भने गाई भैँसी पाल्न नसक्ने र सानो क्षेत्रको साथै घाँसको अभाव भएका किसानले दूधका लागि पाल्न मिल्ने बाख्रा, बाख्रा विकास फार्म चित्लाङले तयार गरिरहेको हो।

वर्षमा दुईपटक ब्याउने र प्रतिबेत करिब आठ सयदेखि एक हजार लिटरसम्म दूध दिने ‘सानान’ जातको बाख्रा अब गाउँघरमा मात्र होइन सहर बजारमा पनि पाल्नको लागि तयार भैरहेको छ।

images

बाख्राको दूध छिमेकी मुलुकमा लिटरको एक हजार रुपैयाँसम्ममा बिक्री भइरहेको बताउँदै अब नेपाली किसानको गोठमा पनि उक्त बाख्राको दूध उत्पादन गर्न सक्ने अबस्था रहेको बाख्रा विकास फार्म चित्लाङका फार्म प्रबन्धक विश्वेश्वर प्रसाद यादवले जानकारी दिए।

images

यद्यपी नेपाली बजारमा भने मूल्य निर्धारण गर्न बाँकी रहेको उनले बताए। नेपालमा वि.सं २०७२ सालमा स्वीट्जरल्याण्डबाट ल्याइएको उक्त बाख्रा हालसम्म जग्मा ३५ वटा भएको र अब किसानलाई पालनको लागि वितरण गर्दै जाने उनले बताए। 

आम किसानलाई दूधको लागि पाल्न मिल्ने ‘सानान’ जातको बाख्रा बितरणको लागि बाख्रा विकास फार्म चित्लाङले तयारी गरिरहेको छ। दूध उत्पादनको लागि पालिने बाख्रा भएकाले यसलाई गरिबको गाई भन्न मिल्ने उनले बताए।

'एउटा बाख्राले दिनमा तीनदेखि चार लिटरसम्म दूध दिने गरेको छ, बाख्राले बच्चालाई दूध खुवाएर पनि यतिधेरै दूध आउने भएकाले यो गरिबको गाई पनि हो' उनले भने 'हामीले लोकल बाख्रा र सानान जातको क्रस पनि हामिले उत्पादन गरिसकेका छौँ, जसलाई नेपालको कुनैपनि हावापानिमा पाल्न मिल्छ र बलिया र निरोगी पनि रहेका छन्।'

बिषेशगरी दूधमा आत्मनिर्भर हुन र सहर बजारमा पनि आफ्नै उत्पादनको पोसिलो दूधको लागि यो बाख्राको क्रस जात जझ उपयुक्त रहेको उनको भनाइ छ। क्रस जातले पनि करिब चार लिटरको हाराहारीमा दूध दिइरहेको प्रबन्धक यादवको भनाइ छ। 

प्रबन्धक यादवले सानो परिवारलाई तीनदेखि चार लिटर दैनिक दूध हुँदा मनग्य पुग्ने गरेको बताउँदै बाख्राको दूधमा कोलेस्ट्रोलको मात्र शून्य भएकाले यो संसारकै उत्कृष्ट भएको जानकारी दिए।

कृषि तथा खाद्य सुरक्षा आयोजना मार्फत बाख्रा विकास फार्म चित्लाङमा पाँचवटा बाख्रा ल्याएर हाल बढाउँदै ३५ वटा पुर्याइएको फार्म प्रबन्धक यादवले जानकारी दिए। सानन जातको बयस्क बोकाको तौल ९० देखि १०० केजीसम्म हुने र बाख्राको तौल ७५ देखि ८० केजीसम्म हुने गरेको प्रबन्धक यादवको दाबी छ। 

प्रबन्धक यादवको अनुसार भर्खर जन्मेकादेखि जुनसुकै उमेर समूहले बाख्राको दूध खान मिल्छ र उक्त दूध प्रेसर, सुगर भएका बिरामीलाई पनि पिउन उपयुक्त हुन्छ। सरकारी दररेट अनुसार सानन जातको पाठापाठी प्रतिकेजी एकहजारका दरले फार्म मार्फत बिक्री गर्ने गरेको उनले बताए। 

नेपालमा गरिएको अनुसन्धानबाट सानन जातको बाख्रा समुन्द्री सतह देखि १५००/२५०० मिटर सम्मको उचाइका क्षेत्रमा (दक्षिण मोहडा फर्केको पहाडी भेगमा अझ उत्तम) सफलतापूर्वक पालन गर्न सकिने फार्म प्रबन्धक यादवले जानकारी दिए।

उनका अनुसार उक्त जातका बाख्रा अन्य जातका बाख्राहरू भन्दा चाडो हुर्कने र दूध उत्पादनको लागि पालिने भएकोले यिनीहरूको आहाराको मात्रा अन्य जातका बाख्रालाई भन्दा बढाएर दिनुपर्ने हुन्छ।

सामान्यतया हाम्रो स्थानीय खरी बाख्रालाई शारीरिक तौलको २.५ प्रतिशत देखि ३ प्रतिशतसम्म सुख्खा पदार्थ भए पुग्नेमा सानन बाख्राको लागि कम्तिमा शारीरिक तौलको ४ प्रतिशतका दरले सुख्खा पदार्थ चाहिने उनले जानकारी दिए। सानन बाख्राको लागि जीवन निर्वाह, शारीरिक बृद्धि, प्रजनन, गर्भावस्थाका लागि पोषणको आवश्यक पर्दछ। 

तत्कालीन राणा शासकले २००१ सालमा स्थापना गरेको भेडा फार्म (हाल बाख्रा विकास फार्म)ले मागअनुसार किसानहरूलाई बाख्रा उपलब्ध गराउन सकेको छैन। फार्ममा उत्पादन भन्दा तेब्बर बढीले किसानबाट बाख्राको माग आएको फार्मले जानकारी दिएको छ।

सरकारी फार्ममा शुद्ध नश्लको बाख्रा पाइने विश्वासले किसान र व्यवसायिक बाख्रा पालन गर्दै आएकाहरूले माग धेरै गर्ने गरेको फार्म प्रबन्धक यादवले बताए। फार्मले सानन, सानन र खरीको क्रस तथा शुद्ध खरी गरी तीन थरीको बाख्रा उत्पादन गर्दै आइरहेको हो। 

फार्मलाई चरिचरण क्षेत्रमा बाह्रै महिना हरियो घाँस नहुँदा बाख्रा, भेडा पालनमा समस्या हुँदै आएको छ। फार्ममा जग्गा पर्याप्त भएपनि चरिचरण क्षेत्र थोरै भएकाले वर्षको ६ महिना अर्थात बर्खे समयमा मात्रै बाख्रा र भेडाले पोषिलो घाँस खान पाउँछन्।

फार्मले वर्षायामको घाँसलाई सुकाएर राख्ने तथा नेपियर, मकै आदि घाँसलाई साइलेज (घाँसको गुन्द्रुक) बनाएर राख्ने र हिउँदको घाँस अभाव टार्ने गर्दै आएको थियो। फार्ममा बाख्रा, भेडा, मासुको लागि खरायो र दूधको लागि जर्सी गाई पालन गरिएको छ । फार्म पर्यटकीय स्थलका रुपमा पनि चर्चित छ।

झट्ट हेर्दा च्याङग्राको जस्तो सिङभएको सेतो रौं, छोटा र ठाडा कान, मिलेको शरीर भएको शुद्ध सानन जातकोे बाख्रा प्रतिकेजी एक हजारको दरले उपलब्ध गराइने यादवले जानकारी दिए। खरी बाख्रा प्रतिकेजी पाँच सयका दरले बिक्री गर्ने गरिएको उनको भनाइ छ। किसानहरूले सम्बन्धित स्थानीय तहको सिफारिस ल्याएपछि मात्रै फार्मले बाख्रा बिक्री गर्ने गरेको छ। फार्मले बाहिरी जिल्लामा बाख्रा बिक्रीलाई प्राथमिकता दिने गरेको यादव बताउँछन्।

दूध उत्पादनका लागि विश्वविख्यात बाख्राको जातमा पर्ने सानन पहिलो पटक १० देखि १२ महिनाको उमेरमा बालि जाने र ब्याएपछि ८ देखि १० महिनासम्म दूध दिइरहन्छ। यो जातको बाख्राको दूध उत्पादन क्षमता बढी भएकोले यो बाख्रालाई बाख्रा जगतकी दूधकी रानी पनि भन्ने गरिएको छ।

मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाको सीमाना चित्लाङमा रहेको सरकारी बाख्रा विकास फार्ममा अमेरिकाबाट ल्याइएको र अमेरिकी तथ्यांकअनुसार प्रति बेत २ हजार लिटरको हाराहारीमा दूध उत्पादन रेकर्ड भएता पनि यस फार्मको रेकर्ड अनुसार प्रति बेत ८ सयदेखि १ हजार लिटर दूध उत्पादन पाइएको छ। रासस


प्रकाशित : आइतबार, असार ९ २०८११५:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend