म्याग्दी- म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्ग निर्माणले तिब्रता पाएको छ। वि.स.२०६८ सालमा पहिलो पटक सम्भाव्यत्ता अध्ययन गरिएको धौलागिरि आइसफल पदमार्गको पूर्वाधार विकास र प्रवर्द्धनका लागि रघुगंगा गाउँपालिकाले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरेपछि पर्यटन विभागले क्रमागत योजनाको रुपमा आइसफल पदमार्गलाई अघि बढाएको हो।
अहिले चिमखोलाको ससलधारा हुँदै आधार शिविरनजिकको धौलागिरी भ्यू पोइन्ट हिल सम्म पदमार्ग निर्माण गरिएको छ।
चिमखोलाको कछुवा ओढार क्षेत्रमा अहिले करिब ३० जनाको समूह जंगलमै बास बसेर पदमार्ग निर्माण गरिरहेका छन्। विगत दुई महिनादेखि जंगलमै अस्थायी बसोबासको व्यवस्था मिलाएर सिंढी चिनेर पदमार्ग बनाउने काम भैरहेको छ। पर्यटन विभागसंग दुई वटा प्याकेजमा ठेक्का सम्झौता गरेको कल्पबृक्ष विल्डर्सले आइसफल पदमार्ग बनाउन थालेको हो।
गत वर्षदेखि पदमार्ग बनाउने काम गरेको कम्पनीले प्रतिकुल मौसम र बाढी, पहिरोको कारण योजनालाई सम्पन्न गर्न दुई वर्ष लागेको जनाएको छ। बस्तीदेखि टाढा र हिमालको नजिकका भू-भागमा पदमार्ग बनाउन मजदूर र व्यवस्थापकहरु वनजंगलमै त्रिपाल टाँगेर बास बस्ने गरेका छन्। हिमालको फेदी नजिकै बाटो बनाउनुपर्ने भएकाले जंगलमै बसेर काम गर्नुपरेको सोलुखुम्बुबाट पदमार्ग बनाउन आएका खड्क बस्नेतले बताए।
आर्थिक वर्ष २०७९/०८० मा पर्यटन मन्त्रालयबाट विनियोजन भएको बजेटबाट सुरु भएको आइसफल पदमार्ग निर्माण योजना अन्तर्गत अहिले सिँढी चिनेर पदमार्ग बनाउने कामले गति पाएको छ।
निर्माण कम्पनीका सञ्चालक रामेश्वर पुडासैनीले दुई वटा प्याकेजमा कुल १ करोड ५४ लाख बजेटबाट ठेक्का सम्झौता गरेको र अहिलेसम्म ८ किलोमिटर बढी पदमार्ग निर्माण भैसकेको जानकारी दिए।
यो वर्ष मात्रै तीन किलोमिटर बढी पदमार्ग बनेको छ। अक्करे भीर बाहेक अन्य ठाउँको पदमार्ग बनाएर सक्ने लक्ष्य रहेको छ। यो वर्ष छिस, कछुवा ओढार हुँदै धौलागिरि भ्यू पोइन्ट हिल सम्मको नदि किनार र घना जंगलमा व्यवस्थित पदमार्ग बनाउने काम भैरहेको छ।
पदमार्ग बनाउन सोलुखुम्बु, उदयपुर, पाल्पा, नुवाकोट, रसुवा लगायतका जिल्लाबाट मजदुरहरु यहाँ आइपुगेका छन् । दुई समूहमा बाँडीएर झाँडी फाँडेर पदमार्ग बनाउने गरेको फुर्वा तामाङले बताए। जंगलमा बास बसेका मजदुरहरुले विहानेखि साँझसम्म नै पदमार्ग बनाउन खटिने गरेका छन्। झाडी फाँडने, ढुंगा फोर्ने, बोक्ने, सिँढी चिन्ने र खाना, खाजा बनाउन काम विभाजन गरेका मजदुरहरुले सामूहिक रुपमा बाटो बनाउने काम गरिरहेका छन्।
जंगल, भीर पहाड र खोला किनारमा दुइ मिटर फराकिलो सिँढी चिनेको पदमार्ग निर्माण हुन थालेपछि पर्यटकहरुलाई धौलागिरि आइसफल आधार शिविर पुग्न सहज हुन थालेको छ।
परम्परागत गोरटो बाटोमा सिँढी चिनेपछि पदमार्ग चिटिक्क भएको छ। उच्च हिमाली क्षेत्र भएकाले चिसो अत्यधिक हुने र हिमपात तथा वर्षाको प्रतिकुलताका बिच पदमार्ग बनाउने कामलाई तिब्रता दिएको कार्यक्षेत्रमा खटिएका निर्माण कम्पनीका प्रतिनिधि लाक्पा लामाले बताए।
पर्यटन विभागबाट कार्यान्वनय भएको यस पदमार्ग निर्माण योजना अन्तर्गत रघुगंगा गाउँपालिका ७ चिमखोलाको ससलधाराक्षेत्रबाट गत वर्षदेखि पदमार्ग निर्माण थालिएको थियो। असार अन्तिमसम्म पदमार्ग निर्माणलाई सक्ने लक्ष्य रहेको छ।
यस पदमार्ग अन्तर्गत कोखेभिर र धौलागिरि भ्यू पोइन्ट हिलको अक्करे पहाडमा पदमार्ग छिचोल्न बाँकी छ। यसअघि चिमखोलाका स्थानीयले कोखे भिरमा पहाड काटेर पदमार्ग बनाउने प्रयास गरेपनि कडा चट्टानको कारण उक्त भिरमा अझै ५० मिटर बढी पहाड काट्न काट्न बाँकी रहेको छ।
धौलागिरि भ्यू हिलको भिर र खोँचमा पदमार्ग बनाउन कठिनाई भएपछि पर्यटन विभागले पुल बनाउने गरि अध्ययन गरिरहेको जनाएको छ। गत वर्ष ससलधारादेखि पदमार्ग बनाउन सुरु गरेकोमा यस वर्ष कालीबराह दोभान अघिदेखि काम भैरहेको छ।
धौलागिरि आइसफल पदमार्गको पूर्वाधार विकास र प्रवर्द्धनका लागि रघुगंगा गाउँपालिकाले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ।
धौलागिरि हिमालको आधारशिविरलाई समेटिएको १ सय ८२ किलोमिटर लामो आइसफल पदमार्ग डीपीआर तयार गरि संघीय र प्रदेश सरकारमार्फत पूर्वाधार बनाउन पहल थालिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए।
अहिले चिमखोलाको ससलधारा हुँदै आधार शिविर पुग्ने पदमार्ग निर्माण सुरु गरिएपनि आधार शिविर देखि कालीबराह हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरेटोबाटो र भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पहिचान गरिएको पदमार्गमा समेत सिँढी चिनेर पदमार्गलाई स्तरोन्नती गर्नुपर्ने काम बाँकी रहेको छ।
नेपाल सरकारले धौलागिरि आइसफल पदमार्गलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा छनौट गरेको एक दशक पुगिसकेको छ।
संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यको रुपमा समेत रुईसे डाँडादेखि धवलागिरि आइसफल सम्मको पदमार्गलाई छनौट गरेको थियो। तर पूर्वाधार र आवश्यक व्यवस्थापकीय अभावले यो पदमार्ग औपचारिक रुपमा अझै सञ्चालनमा आउन सकेको छैन। रासस
भिडियो हेर्नुहोस् -