शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

सदाबहार दामनको ‘एभरेस्ट पानारोमा’ : ३१ करोड लगानी थपेर फेरिँदै छ स्वरुप

निर्माण हुँदै छ जिपलाइन, एडभेन्चर पार्कदेखि वाटर पार्कसम्म

images
आइतबार, असार ९ २०८१
images
images
सदाबहार दामनको ‘एभरेस्ट पानारोमा’ : ३१ करोड लगानी थपेर फेरिँदै छ स्वरुप

दामनमा उभिएर वरपर फन्को लगाउँदा अग्ला हिमालहरू आँखाअघि घुमिरहन्छन्। यस्तो अनुपम दामनमा गएको ३३ वर्षदेखि एभरेस्ट पानारोमा रिसोर्टले पाहुनाको स्वागत गरिरहेको छ। उतारचढावको लामो यात्रा तय गरेको पानारोमाले अहिले आफ्नो स्वरुप फेर्दै छ।

images
images

काठमाडौं- दामन सदाबहार छ। कहिल्यै पुरानो नहुने यसको सुन्दरताले नयाँ-नयाँ आयामहरू देखाइरहन्छ। हिउँको घुम्टोमा रहँदा होस् या मुटु छुने छिरेटोमा उति नै मनमोहक छ। वसन्त, गृष्म, शरद, शिशिर जुनै याममा दामनले यहाँ पुग्नेहरूलाई तुरुन्त प्रसन्न मुद्रामा पुलकित बनाइहाल्छ।  

images
images
images

यही गुणले हो पर्यटकीय भूमि दामनले आफूलाई सधैँ उचो राखिरहेको। के हेर्न जाने त दामन? यहाँ पुग्नेहरूले थाहा पाउँछन्, यो अनुभूत हुने विषय हो। 

छटपटी हुने गर्मी याममा पनि दामनको सिरेटोले हिमालको हावा यसरी सिन्चन गरिदिन्छ कि शरीरभर झनझनाहट ल्याइदिन्छ। प्रकृतिको बेजोड स्वरुपमा दामनले यसरी स्वागत गरिरहन्छ कि मानौँ जस्तै दु:खी शिशु पनि आमाको काखमा सहृदयी भइरहेको छ।

images

वि.सं. २०१३ सालमा खुलेको नेपालकै पुरानो राजमार्ग त्रिभुवन राजपथले फन्को लगाएको दामन पर्यटकलाई नौलोपन दिन हरबखत तयार छ। बाइरोडको त्यही बाटो उक्लिएर दामन पुग्दा प्रकृतिको नवीनताले यात्रीमा नूतनता थपिदिन्छ। 

images

थानकोट, नौबिसे हुँदै ७५ किलोमिटर दूरी पार गरेर दामन पुग्न सकिन्छ। दक्षिणकालीबाट फाखेल हुँदै कुलेखानी मार्खुबाट पनि दामन पुग्ने अर्को बाटो छ। दामन पुग्नका लागि चन्द्रागिरि हुँदै चित्लाङको बाटो पनि छ। तर यो छोटो बाटो अहिले निर्माणाधीन छ। हेटौंडातर्फ बाट पनि ५५ किलोमिटर पार गरेपछि दामन पुगिन्छ।

दामनमा उभिएर वरपर फन्को लगाउँदा अग्ला हिमालहरू आँखाअघि घुमिरहन्छन्। यस्तो अनुपम दामनमा गएको ३३ वर्षदेखि एभरेस्ट पानारोमा रिसोर्टले पाहुनाको स्वागत गरिरहेको छ। उतारचढावको लामो यात्रा तय गरेको पानारोमाले अहिले आफ्नो स्वरुप फेर्दै छ। 

everest panaroma (1).jpg

एभरेस्ट पानारोमाको त्यो सुरुवात 

काठमाडौं लगनमा जन्मिएका पर्यटन व्यवसायी रविचन्द्र हमालले काठमाडौं, चितवन र पोखराको गोल्डेन रुट पहिल्याउँदै मध्य भाग मकवानपुरको दामनमा २०४८ सालमा नै रिसोर्ट खोलेका हुन्। 

दामनको त्यो आलु र मुला रोप्ने बारी हमालले २०४५ सालमा किने। २०४८ सालमा उनले एभरेस्ट पानारोमाको निर्माण सुरु गरे। वरपर हिमालहरूको ‘पानारोमा भ्यू’ देखेर नै उनले रिसोर्टको नाम ‘एभरेस्ट पानारोमा’ राखे।  

‘यो ठाउँ गोल्डेन रुट्सअन्तर्गत काठमाडौं, चितवन र पोखरालाई जोड्न पनि महत्वपूर्ण छ। काठमाडौं इतिहास र सम्पदाले भरिएको ठाउँ छ। चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँ पाइने जीवजन्तु र वनस्पतीका कारण महत्वपूर्ण छ। पोखरा हिमाल र तालहरुका कारण सुन्दर छ। यही रुटको बीचमा ऋषेश्वर महादेव मन्दिरनजिकै यो पानारोमा रिसोर्ट रहेको छ’ हमालले सुनाए। 

उनी भन्छन्, ‘एभरेस्ट पारानोमा असाध्यै सुन्दर ठाउँमा छ। संसारका ८ हजार मिटर अग्ला ८ वटा हिमाल यहीँ नेपालमा छ। यहाँबाट ती सबै अग्ला हिमालहरू देखिन्छन्। तिब्बतको सिसापाङ्‍गमादेखि भुटानको हिमालसम्म पनि देखिन्छ।'

everest panaroma (8).jpg

२०५० सालमा बाढी पहिरो गएपछि दामन र यसवरपर ठूलो क्षति भएको हमाल सुनाउँछन्। ‘त्यो समयमा यही भेगमा मात्रै ११ सय मानिसको निधन भयो। यहाँ रिसोर्टनजिकै हामीले हेलिप्याड बनाएर धेरै मानिसहरुको उद्धार पनि गर्‍यौँ। पहाड नै पहाड बगेर धेरै नै क्षति भएको थियो’ उनले भने।

त्यही बाढी पहिरोपछि नै आफूहरुले यस भेगमा अभियान नै चलाएर हजारौँ रुख रोपेको हमाल सुनाउँछन्। ‘ललितपुर गोदावरीबाट ट्रकका ट्रक विरुवा ल्याएर रोप्यौँ। यहाँमात्र होइन तल नौबिसेदेखि नै बोटविरुवा रोप्दै रोप्दै नै आएका थियौँ। गाउँलेहरूलाई पनि २०/२० रुपैयाँ दिएर रुख रोप्न लगाएका थियौँ। त्यसरी जंगल नै बनाएर यहाँ संरक्षणको कामहरू भइरहेको छ’ उनले भने। 

हमालले नेपालको पर्यटन क्षेत्रमा काम गर्न थालेकै ४५ वर्ष भयो। नेपालको पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिण सबैतिर कुना-कुनामात्र होइन उनले विभिन्न ७० देश घुमिसकेका छन्। त्यो सबै भ्रमण र अनुभवबाट उनलाई लाग्छ- नेपाल त साँच्चै स्वर्ग नै हो।    

everest panaroma (5).jpg

‘नेपाललाई स्वीट्जरल्याण्डसँग अलिअलि दाँज्न खोज्छु। स्वीट्जरल्याण्ड धनी देश भएर त्यहाँ विकासले नछोएको ठाउँ नै छैन। दुईजनामात्र बस्ने एउटा सानो घरमा पनि सडक पुगेको छ। सबैतिर फूल नै फूल फुलेका हुन्छन्। त्योभन्दा राम्रो हुन सक्छ नेपाल’ उनले भने। 

राम्ररी विकास गर्न सक्ने हो भने नेपालले पर्यटन क्षेत्रबाटै धेरै गर्न सक्ने भन्दै उनी सुनाउँछन्, ‘एभरेस्ट पानारोमा रिसोर्टमा मात्र वर्षमा हजारौँ पर्यटक हामीले भित्र्याएका छौँ। संसारका धेरै ठाउँमा हामीले जीएसए एजेन्ट राखेका थियौँ। यसको प्रचार-प्रसार पनि संसारभर गरिरहेका छौँ। पहिले त निकै राम्ररी चलेको रिसोर्ट हो यो।'

मकवानपुर संघीय राजधानी काठमाडौंबाट नजिक भएर पनि विकासबाट भने अलि पर नै छ। ‘यो ठाउँको विकासमा निजी क्षेत्रबाट हुनुपर्ने काम पनि होस्, यहाँका मानिसले रोजगारी पनि पाउन् भनेर यहाँ नै रिसोर्ट खोलेका हौँ। त्यो समयमा धेरै त नगरकोट र धुलिखेलतिर नै रिसोर्ट खोल्नेमा थिए। हामीले नयाँ ठाउँमा गरौँ भनेर मकवानपुरमा आयौँ’ हमालले भने।

everest panaroma (6).jpg

फेरिँदै छ एभरेस्ट पानारोमा 

पानारोमा रिसोर्टमा अहिले पुनरूत्थानका लागि विभिन्न योजनाअनुसार कामहरू भइरहेका छन्। लगानी थप गरेर विभिन्न संरचनाहरू थप हुँदै छ। पानारोमा रिसोर्टमा गुम्बाका कला झल्काउन सकिनेगरी कामहरू भइरहेका छन्। सिक्किमका कलाकार नरेन्द्र प्रधानले त्यसको डिजाइन गरेर काम गरेका हुन्।  

‘हामी नयाँ ठाउँमा नयाँ आयाममा नै कामहरू गर्छौँ। यसमा सौहार्द्ध चन्द्र हमाल, दृष्टि हमाल, समसेन्द्र चन्द्र हमालले अहिले यसको सबै काम हेरिरहेका छन्’ अहिले पानारोमा रिसोर्टको पुनर्जीवनबारे रविचन्द्र हमालले सुनाए। 

एभरेस्ट पानारोमा रिसोर्टमा एडभेन्चर पार्क खोल्ने तयारीका साथ अहिले कामहरू भइरहेका छन्। अनेक जनावरका आकृतिहरु बनाएर यहाँ छुट्टै पार्क बन्दै छ। ‘२००१ देखि नै त्यसका लागि सामानहरू किनेर राखिरहेका छौँ। द्वन्द्वको समय, भुइँचालो र कोरोनाजस्ता कारणहरूले गर्दा हामीले काम गर्ने समय र हौसला पाएनौँ। धेरै पहिलेदेखिको सपनाले अहिले भने मूर्तरुप पाउँदै छ’ हमालले भने। 

everest panaroma (3).jpg

एभरेस्ट पानारोमामा वाटर पार्कसमेत बनाइँदै छ। दामनको यो रिसोर्ट चिसो ठाउँ भएकाले सबै मौसमा अलि चिसो नै हुन्छ। अरू स्थानमा गर्मी हुँदा पनि दामनको यो भेगमा भने आगो ताप्ने नै मौसम हुन्छ। यहाँको हावामा रहेको स्वच्छता नै यहाँ आउने पाहुनाका लागि प्रिय लाग्छ। यस्तोमा वाटर पार्कको योजना निकै भिन्न देखिन्छ। 

पानारोमा वरपरको हरियालीमा ४० रोपनी जग्गामा रहेको छ। जहाँ जिपलाइनको पनि काम हुँदै छ। रक क्लाइम्बिङको अभ्यास गराउने भन्ने सोचअनुसार पनि काम भइरहेका छन्। ‘विद्यार्थीहरूका लागि यहाँ जंगलमा सर्भाइबर कोर्सहरू गराउने योजना पनि छ। जंगलमा कसरी हिँड्ने र विरुवा कसरी चिन्ने भन्नेजस्ता कुराहरू पनि हामीले सिकाउने योजना बनाइरहेका छौँ’ हमालले सुनाए। 

पहिले ऋण लगानीमा नै कामहरू गरेको सुनाउँदै हमाल भन्छन्, ‘लोन समयभन्दा अघि नै पनि तिरिरहेका छौँ। हामीले विभिन्न महत्वपूर्ण पर्यटकीय स्थानहरूमा गरेर आठवटा होटल खोल्ने योजनाअनुसार काम गरिरहेका छौँ। पानारोमामा थप हामीले ३१ करोड रुपैयाँको परियोजनामा विभिन्न योजना बनाएका छौँ।'

everest panaroma (10).jpg

अहिले एभरेस्ट पानारोमा २४ वटा कटेजमा ३४ वटा कोठा छन्। अब सबै गरेर एकसय वटा रुम बनाउने योजनाका साथ काम भइरहेको छ। कुनै समय ३ सय ५० जनाले काम गरेकोमा रिसोर्टमा अहिले भने २२ जना कर्मचारी रहेका छन्। ‘अहिले हामीले पूर्ण क्षमतामा चलाएका छैनौँ। यसमा निर्माणका विभिन्न कामहरू पनि सँगै चलिरहेको छ। यी कामहरू सकिएपछि केही समयमा पूर्ण क्षमतामा सञ्चालन गर्ने छौँ’ हमालले भने। 

‘यहाँ हामीले आफूमात्र बन्नेभन्दा पनि सबैका लागि केही होस् भन्ने सोचिरहेका हुन्छौँ। यहाँ यो रिसोर्ट खोल्नकै लागि नै हामीले पहल गरेर बिजुलीबत्ती ल्याएका हौँ। पहिले यहाँ बिजुली थिएन। हामीले नै यहाँभन्दा माथि सिमभञ्याङसम्म बिजुली पुर्‍याएका हौँ। स्थानीयले श्रमदान गरे, प्राधिकरणले प्राविधिक दिए र हामीले अरु सबै खर्च उठाएर बिजुली पुर्‍यायौँ’ हमालले सुनाए। 

अहिले दामनमा ठूला रिसोर्टहरु मात्रै होइन साना होटलहरू खोलेर नयाँ व्यवसाय गर्नेहरू पनि केही बढेका छन्। दामन, पालुङ, सिमभञ्याङजस्तो ठाउँमा सरकारले खास ध्यान भने नदिएको हमाल सुनाउँछन्।

everest panaroma (9).jpg

देशभर होटल विस्तारको योजना

आमादब्लम ग्रुपमार्फत नेपालको पुरानो ट्रेकिङ ट्राभल एजेन्सी चलाइरहेका हमालले आफ्नो पूरा समय नै पर्यटनका लागि खर्चिरहेका छन्। ‘ट्रेकिङ इन नेपाल’ नामक पुस्तकका लेखकसमेत रहेका हमालले नेपालको ट्रेकिङ रुटहरुको विकासमा महत्वपूर्ण कामहरू गरेका छन्।

पर्यटन बोर्ड आउनुभन्दा पहिले नै नेपाल प्रमोसन बोर्डमा विभिन्न कमिटीमा रहेर पनि काम गरेका हमालले अहिले आफूले गरेका कामहरू फर्केर हेर्दा सन्तुष्टी सुनाउँछन्। ‘नेपालमा ट्रेकिङ ग्रुप लिडरको ट्रेन नै हामीले नै गरेका हौँ। धेरै ट्रेकिङ रुटहरू खोल्ने काम पनि गर्‍यौँ, अहिले पनि हरेक रुटको हरेक विषयबारे बताउन सकिन्छ’ उनले भने। 

पर्यटन विकासमा अझ व्यापक सम्भावना सरकारले भने देख्न नसकेको सुनाउँदै उनी भन्छन्, ‘सरकार राजनीतिक खिचातानीभन्दा बाहिर सोचिरहेको छैन। पर्यटनमा त आवश्यक भिजन नै देखिँदैन। भएका केही कामहरू पनि निजी क्षेत्रले नै गरिरहेका छन्। पहिले पहिले टुरिजम बोर्डले पनि केही कामहरू त गरेको हो तर अहिले त्यहाँ पनि राजनीति नै छ।’

everest panaroma (4).jpg

अहिले विभिन्न महत्वपूर्ण पर्यटकीय स्थानहरूमा गरेर आठवटा होटल खोल्ने योजनाअनुसार हमाल र उनको समूहले काम गरिरहेको छ। जसमध्ये पानारोमाबाहेक पनि काठमाडौं, चितवन र पोखरामा उनीहरूले होटल खोलिसकेका छन्। 

‘यो पानारोमासहित चितवन र पोखरामा समेत गरेर चारवटा होटल त भइ नै सकेको छ। चितवनमा ब्लिस रिसोर्ट रहेको छ। पोखरामा चारतारे हेरिटेज होटल स्विट्स एण्ड स्पा रहेको छ। त्यो जीवित संग्रहालयजस्तो नै छ’ हमालले सुनाए। 

पोखरामा चारतारे हेरिटेज होटल स्विस एण्ड स्पा राम्ररी नै सञ्चालनमा आइसकेको छ। जहाँ हाम्रो सम्पदा र संस्कार झल्काउनेगरी सुन्दर बनाइएको बताउँछन् हमाल। ‘हराउँदै गएको सम्पदा जोगाउने काम पनि हामीले आफ्नो व्यवसायमार्फत गर्न सक्छौँ भनेर काम गरिरहेका छौँ’ उनले भने। 

यी विभिन्न होटलहरूमध्ये आफ्नो सुरुवातदेखिको मेहनत र लगानी परिरहेको एभरेस्ट पानारोमा नयाँ शैलीमा उठाउने योजनाअनुसार हमालले काम गरिरहेका छन्। जसले सदाबहार दामनमा उसैगरी सदाबहार बनिरहन सक्छ ‘एभरेस्ट पानारोमा’। 


प्रकाशित : आइतबार, असार ९ २०८११२:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend