आइतबार, भदौ २३ गते २०८१    
images
images

सागसब्जी बेचेर शालिजावासी भित्र्याउँछन् वार्षिक पाँच करोड रुपैयाँ

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार ९ २०८१
images
images
सागसब्जी बेचेर शालिजावासी भित्र्याउँछन् वार्षिक पाँच करोड रुपैयाँ

माथिल्लो शालिजा, तारे, पातलखर्क, ओख्रेनी र तल्लो शालिजाको भोटेडाँडा, दीप, स्वारा, गामलगायत स्थानमा आलु र ताजा सागसब्जी उत्पादन गरिँदै आएको छ।

images
images

पर्वत- उत्तरी पर्वतको जलजला गाउँपालिका-६ शालिजाका किसानले मौसमी तथा बेमौसमी सागसब्जी बेचेर वार्षिक पाँच करोड रुपैयाँभन्दा बढी भित्र्याउन सफल भएका छन्। 

images
images
images

पर्वतको सबैभन्दा उच्च भेगमा रहेको शालिजाका अधिकांश किसानले व्यावसायिक रूपमा सागसब्जी लगाउने गरेका छन्। कृषि ज्ञान केन्द्रमार्फत सागसब्जी उत्पादनको पकेट क्षेत्रका रूपमा विकास गरिएको शालिजामा मौसमीभन्दा बेमौसमी सागसब्जी बढी उत्पादन हुने भएकाले किसानको आम्दानी बढेको हो। 

व्यावसायिक सागसब्जी उत्पादन गर्न थालेपछि यहाँका किसानको जीवनस्तरमा परिवर्तन आएको छ। यहाँ उत्पादन भएको आलु, काउली, बन्दागोभी, बोडी, सिमी, लौका, डल्ले खुर्सानी, काँक्रोलगायत ताजा सागसब्जी छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनी, पर्वतको कुश्मा, बागलुङ बजार र पोखरासम्म बिक्री हुने गरेको स्थानीय किसान बुद्धि सुवेदीले जानकारी दिए।

माथिल्लो शालिजा, तारे, पातलखर्क, ओख्रेनी र तल्लो शालिजाको भोटेडाँडा, दीप, स्वारा, गामलगायत स्थानमा आलु र ताजा सागसब्जी उत्पादन गरिँदै आएको छ। शालिजाका अधिकांश किसानले अन्नबाली छाडेर ताजा सागसब्जी उत्पादन गर्दै आएका छन्। उनीहरूको खेतबारी कहिल्यै बाँझो रहँदैन। हरेक मौसममा विभिन्न सागसब्जीले हरियाली छाएको देखिन्छ। 

images

मगर समुदायको बाहुल्य रहेको यस गाउँमा सडकको पहुँच पुगेपछि व्यावसायिक सागसब्जी खेतीमा लाग्ने किसानको आकर्षण बढेको सुवेदीले बताए। उच्च भाग, चिसो हावापानी र खेतीयोग्य जमिन भएकाले यहाँ आलु र मौसमी तथा बेमौसमी सागसब्जी उत्पादन हुँदै आएको छ।  

शालिजाका आठ सय परिवार व्यावसायिक सागसब्जीखेतीमा संलग्न भएका जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ। सागसब्जीखेती गरेर यहाँका किसानले वार्षिक रूपमा न्यूनतम दुई लाखदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्।

पछिल्लो समय जलजला गाउँपालिकाले आलुको बीउको स्रोत केन्द्रका रूपमा यो ठाउँलाई विकास गरेपछि स्थानीय किसानको आलुलगायतका सागसब्जी उत्पादनमा झनै आकर्षण बढेको हो।

आलु बिक्री गरेर मात्र गाउँमा करिब एक करोड भित्रिने गरेको स्थानीय किसान तथा शालिजाका पूर्ववडाध्यक्ष होमबहादुर पुनले जानकारी दिए। पुस, माघमा लगाएको आलुखेतीले यतिखेर गाउँ नै भरिएको छ। अहिले आलु खनेर बजार पुर्याउन स्थानीयलाई भ्याइनभ्याई भएको उनले बताए। 

यहाँका अधिकांश किसानले व्यावसायिक सागसब्जीखेती गरेर राम्रो आम्दानी लिएको जलजला गाउँपालिका-६ शालिजाका पूर्ववडाध्यक्ष पुनले बताए। राम्रो सिँचाइ र उत्पादित कृषि उपजको बजारीकरणमा सरकारी निकायले सहयोग गरे अझै ताजा सागसब्जी उत्पादन वृद्धि हुने पुनले बताए। 

शालिजा गाउँमा एउटै किसानले २५ मुरीदेखि ५० मुरीसम्म आलु फलाउने गरेको अर्का किसान वीरबहादुर पुनले जानकारी दिए। उनका अनुसार शालिजामा आलुमात्रै बिक्री गरेर दुई लाखदेखि छ लाखसम्म कमाउने गर्दछन्।

विगत १४ वर्षदेखि निरन्तर आलुखेती गर्दै आएका पुनले उत्पादन भएको आलु बिक्रीका लागि कुनै समस्या नभएको र पोखरा, काठमाडौँ, कुश्मा, बागलुङबाट माग आउने बताए। 

घरबाटै बीउ आलुलाई दुई सयदेखि दुई सय ५० पाथीमा बिक्री गर्न सकिने उनले भने। 'शालिजामा उत्पादन भएको आलुको मुख्य बजार पोखरा हो, त्यसपछि बागलुङ, कुश्मा र बेनी जान्छ', उनले भने। मिलनचोक-शालिजा सडक स्तोरन्नति भए आलु ढुवानीमा सहज हुने उनले बताए।

जलजला गाउँपालिकाले आलुको बीउमा आत्मनिर्भर बनाउन बीउ उत्पादनलाई जोड दिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताए। उनले गाउँपालिकाले व्यावसायिक रूपमा सागसब्जी लगाउने किसानलाई प्रोत्साहनस्वरुप तालिम, उपकरण र बीउमा अनुदान दिँदै आएको बताए। रासस


प्रकाशित : आइतबार, असार ९ २०८१०९:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend