सोमबार, मंसिर १७ गते २०८१    
images
images

कालीगण्डकी र शालिग्राम संरक्षणका लागि नागरिक अभियान

images
बिहीबार , असार ६ २०८१
images
images
कालीगण्डकी र शालिग्राम संरक्षणका लागि नागरिक अभियान

नदीको अप्राकृतिक दोहनले मुक्तिनाथदेखि देवघाटसम्म कालीगण्डकी तटमा रहेका दर्जनौँ तीर्थस्थलसमेत संकटमा परेका छन्।

images
images

म्याग्दी- कालीगण्डकी नदीलाई प्रदूषणमुक्त बनाइ धार्मिक र आर्थिक महत्वले युक्त मानिएको शालिग्राम शिलाको संरक्षणका लागि जनस्तरबाट स्वःस्फुर्त रूपमा नागरिक अभियान सञ्चालन गरिएको छ।

images
images
images

धार्मिक, आर्थिक र पर्यावरणीय दृष्टिकोणले समेत महत्वपूर्ण मानिएको कालीगण्डकी नदीमा मात्रै पाइने बहुमूल्य शिला शालिग्राम चोरी निकारी र अवैधरूपमा गरिएको व्यापक नदी दोहनका कारण मासिँदै जान थालेपछि म्याग्दीका नागरिकले यसको संरक्षणका लागि अभियान सञ्चालन गरेका हुन्।

images

शालिग्राम संरक्षण अभियानले शालिग्रामको चोरी निकासी र दोहन रोकेर संरक्षणका लागि समुदायमा सन्देश प्रवाह गराउने तथा सरोकारवालालाई दबाब दिन कालीगण्डकीको शिलाहरूमा हिन्दूहरुले पुज्दै र मान्दै आएका देवीदेवता तथा भगवानको नाम लेख्ने अभियान चलाएको हो। 'कालीगण्डकी नदीलाई प्रदूषणमुक्त बनाउन र विश्वमा नै खोजिने तर कालीगण्डकी नदीमा मात्रै पाइने शालिग्राम शिलाको संरक्षण गर्न हामीले कालीगण्डकी बचाउँ र शालिग्राम जोगाउँ अभियान सञ्चालन गरेका हौँ' कालीगण्डकी तथा शालिग्राम संरक्षण समितिका संयोजक तथा अभियन्ता नेत्रबहादुर महतले भने।

images

कालीगण्डकी नदी र शालिग्राम शिलालाई विश्व सम्पदा सूचीमा समावेश गर्न, नदीको स्वच्छता र पवित्रता कायम गरी प्रकृति र पर्यावरणको जगेर्ना गर्ने अभियानको उद्देश्य रहेको संयोजक महतले बताए।

अभियानअन्तर्गत गत सोमबार म्याग्दी र कालीगण्डकी नदीको दोभानमा सरसफाइ गरिनुका साथै त्यहाँ रहेका शिला (पत्थर)हरुमा शालिग्रामका विभिन्न पर्यायवाची नामसँग सम्बन्धित देवीदेवताहरुको नाम लेखिएको छ। इनामेल र विभिन्न रङको प्रयोग गरेर शिलामा भगवान र दवीदेवताका नाम लेखिएको संयोजक महतको भनाइ छ।

अभियानमा सर्वसाधारण, साधु, सन्त र पर्यावरणप्रेमी नागरिकहरूको संलग्नता रहेको छ। अभियन्ताहरुले कालीगण्डकी तटका शिलाहरुमा हरहर गंगे, मच्छेमूर्ति, महाकुर्ममूर्ति, बराहमूर्ति, लक्ष्मीनारायण लगायत देवीदेउताका नाम लेखेका छन्। सोही अवसरमा दुई नदीको दोभानमा सरसफाइ गर्नुका साथै भजनकीर्तन र कविता वाचन समेत गरिएको थियो।

'संसारभरका हिन्दू धर्मावलम्बीहरुले शालिग्राम शिलालाई भगवान् विष्णुको अंशका रूपमा पुज्ने गर्छन्', संयोजक महतले भने, 'कालीगण्डकी नदीमा मात्र पाइने धार्मिक, आर्थिक र जैविक महत्वले युक्त यो शिला कालीगण्डकीमा बढ्दो प्रदूषण, गैरकानूनी रूपमा अवैज्ञानिक तरिकाले गरिने नदी उत्खनन र चोरी निकासीका कारण संकटमा पर्दै लोपोन्मुख अवस्थामा पुगेकोले यसको संरक्षणका लागि नागरिक स्तरबाट यो अभियान सञ्चालन गरेका हौँ।'

‘कालीगण्डकी बचाऔँ अभियान’ र ‘प्रकृति, पर्यावरण र शालिग्राम संरक्षण समिति’मा आबद्ध अभियानीहरूले गत जेठ ६ गतेदेखि म्याग्दीको प्रसिद्ध गलेश्वरधामबाट बागलुङ हुँदै पर्वतको मोदीवेणीधाम सम्मको क्षेत्रमा अवस्थित प्रमुख धर्मघाटहरूमा शालिग्राम भगवानका नाम शिलांकित गरेका छन्। गण्डकी स्नान गरी हरिहर सङ्कृतनका साथ शिलाहरूमा भगवानका नाम अंकित गरिएको अभियानका प्रवक्ता रेमबहादुर खत्रीले बताए।

कालीगण्डकी नदीको पवित्रता एवम् चक्रांकित र निष्चक्रांकित शालिग्राम शिला र नदी संरक्षणको सन्देश दिनु पनि अभियानको उद्देश्य रहेको उनको भनाइ रहेको छ। 'प्रदूषण र उत्खनन्का कारण कालीगण्डकी नदीको जलचक्र प्रणाली नै प्रभावित भएको छ, कालीगण्डकीसँगै शालिग्रामको समेत अस्तित्व संकटमा छ। कालीगण्डकी नदी र शालिग्राम संरक्षणमा सरोकारवाला निकायहरुको पनि ध्यानाकर्षण होओस् र जनस्तरमा सन्देश पनि पुगोस् भनेर यो अभियान थालिएको हो', प्रवत्ता खत्रीले भने, ‘सभ्यता बोकेको नदी मानवीय अतिक्रमणको चपेटमा छ, यसतर्फ बेलैमा सबैको ध्यान जानु जरुरी छ।'

नदी र खोलाका किनारैकिनार खनिएका सडक, अव्यवस्थित सहरीकरण र विकास गतिविधि, प्रकृति दोहन आदि कारणले मानव र प्राणी जगत जोखिममा परेको उनले बताए। म्याग्दी, पर्वत र बागलुङ जिल्लामा पर्ने कालीगण्डकी नदी आसपासका क्षेत्रहरुबाट व्यापकरूपमा कालीगण्डकी नदी दोहन भइरहेको र नदीको प्राकृतिक बहाव परिवर्तन हुनुका साथै शालिग्राम शिलाको समेत नास भैरहेको अर्का अभियन्ता यामबहादुर घिमिरेले बताए।

कालीगण्डकी नदी किनारका आनन्द बगर, फोर्से, सती बगर, राजा बगर, सहश्रधारालगायत क्षेत्रमा सञ्चालित दर्जनौँ क्रसर उद्योगले मनोमानी नदीजन्य पदार्थ उत्खनन् गर्दै आएका स्थानीयको भनाइरहेको छ। अव्यवस्थित उत्खनन्का कारण नदी कुरुप बन्दै गएको मात्र छैन, ठाउँठाउँमा नदीको धार नै परिवर्तन भइरहेको घिमिरेले बताए।

'भौतिक विकास र पूर्वाधार निर्माणका लागि नदीजन्य पदार्थको आवश्यकता पर्छ भन्नेकुरा थाहाँ छ, तर नदीका ढुंगा, बालुवा रातारात गैरकानूनीरुपले निकालेर केही व्यक्तिहरु मोटाउने र प्राकृतिक सम्पदाहरुको नास गर्ने काम अनुचित हो' अभियन्ता गौरव शर्माले भने, 'गिट्टी, बालुवाका लागि खानीको विकास गर्नुपर्छ, ‘ड्याम’ बनाएर संकलित नदीजन्य पदार्थलाई प्राधिकरणमार्फत वितरण गर्ने व्यवस्था सरकारले मिलाउनुपर्छ।'

कालीगण्डकीको जलाधार क्षेत्रमा आठ हजार मिटरभन्दा अग्ला तीनवटा हिमालय पर्वत श्रृङ्खला धवलागिरि, अन्नपूर्ण र मनाश्लु रहेका छन् भने आठ हजारदेखि छ हजार मिटरसम्मका दुई दर्जनभन्दा धेरै हिमशिखर रहेका छन्। कालीगण्डकीको जलाधार क्षेत्रमा मुस्ताङ, म्याग्दी, पर्वत, बाग्लुङ, स्याङ्जा, गुल्मी, पाल्पा, तनहुँ, नवलपुर, नवलपरासी गरी १० जिल्ला रहेका छन्। नदीको अप्राकृतिक दोहनले मुक्तिनाथदेखि देवघाटसम्म कालीगण्डकी तटमा रहेका दर्जनौँ तीर्थस्थलसमेत संकटमा परेका छन्।

हिमालय क्षेत्रको दामोदरकुण्ड, मुस्ताङको मुक्तिक्षेत्र हुँदै दक्षिण बग्ने कालीगण्डकीसँग आफ्नै प्राचीन सभ्यता छ। यससँग जोडिएको हिमालय सभ्यताको पौराणिक तथा धार्मिक साहित्यमा चर्चा गरिएको पाइन्छ। यस क्षेत्रका फाँटहरूमा प्राचीनकालदेखि नै सांस्कृतिक गतिविधि हुने गरेको विभिन्न धर्मग्रन्थहरूमा उल्लेख छ। चिनियाँहरूले रेशम व्यापारका क्रममा हिमालय भञ्ज्याङ पार गरी कालीगण्डकीको किनारैकिनार पोखरा, पाल्पा, तानसेन, लुम्बिनी हुँदै भारतसम्मको यात्रा गरेको इतिहासमा उल्लेख छ।

कालीगण्डकी नदीको वातावरणीय र पारिस्थितिक स्थितिमा नै खतरा उत्पन्न हुने गरी भइरहेको नदी दोहनका कारण कालीगण्डकी नदीको जलचक्र प्रणाली पनि खल्बलिदा शालिग्रामको अस्तित्व संकटमा पर्दै गएको वातावरण संरक्षणकर्मीहरुको भनाइ रहेको छ। नदीबाट जथाभावी डोजर र स्काभेटरको प्रयोग गरी गिटी, बालुवा र ढुंगा निकाल्दा धार्मिक र आर्थिक महत्वले युक्त  शालिग्राम शिला गिट्टीमा परिणत हुँदै गएका शालिग्रामका अध्येता रंगराज आचार्यले बताए। कालीगण्डकीको शिर मुक्तिनाथ र दामोदरकुण्डलाई हिन्दू र बौद्धमार्गी दुवैले पवित्र क्षेत्र मान्दछन्।

शालिग्राम शिलाको महत्व

शालिग्राम शिलाको धार्मिक, आर्थिक र जैविक महत्व रहेको भए पनि सबैभन्दा बढी धार्मिक महत्वको चर्चा गर्ने गरिन्छ। शालिग्राम शिलाको अध्यता रंगराज आचार्यका अनुसार भगवान विष्णु पतिव्रता वृन्दाको श्रापका कारणले शिलास्वरूप भइ गण्डकी क्षेत्रमा रहेकाले शालिग्रामलाई भगवान विष्णुको अंश मानेर हिन्दू धर्मावलम्बीहरूले पूजा गर्छन्। पञ्चतत्वले बनेको मानव शरीर संरक्षण र सम्वर्धन गर्न गणेश, शिव, विष्णु, देवी, सूर्यस्वरूप पाञ्चायन पूजा गर्ने गरिन्छ। शालिग्रामको जल, कुशको आसन, मुखमा तुलसी रहेमा जतिसुकै पापी भए पनि त्यो व्यक्तिको पुनः जन्म नहुने विष्णुपुराणमा उल्लेख गरिएको छ।

ब्रहृमाण्ड पुराणमा पनि शालिग्रामबारे निकै चर्चा भएको छ। ब्रहृमाण्ड पुराणमा शालिग्रामको आकार, लक्षण र वर्णको विस्तारपूर्वक वर्णन गरिएको छ। शालिग्रामको परिमाण र आकारका विषयमा पनि चर्चा भएको छ। ब्रहृमाण्ड पुराणमा उल्लेख भएअनुसार शालिग्राम पूजाबाट जीवनको परम उद्देश्य धर्म, अर्थ, काम र मोक्ष चारै किसिमका पुरुषार्थ प्राप्त हुन्छन्।

शालिग्राममा प्राकृतिक रूपमा नै शङ्ख, चक्र, गदा, पद्म आकार कुदिएको पाइन्छ। यस्ता चिह्न अंकित शिला अत्यन्त कम मात्रामा भेटिने र ती बहुमूल्य हुने आचार्यले जानकारी दिए। स्कन्दपुराणमा उल्लेख भएअनुसार यस्ता शिलाबाट सर्पभय, अग्निभय, दुःख, दारिद्रय नाश हुन्छ। केवल पद्म आकारको शिला पनि शुभदायक हुन्छ। कुनै शिलालाई वराहशिला भनिन्छ। शूल र कमलको चिह्न अंकित शिलालाई ‘वैनतेय’ शिला भनिन्छ।

आर्थिक महत्व

शालिग्राम केवल धार्मिक महत्वले मात्रै होइन, आर्थिक दृष्टिकोणले समेत अत्यन्त महत्वपूर्ण मानिन्छ। शालिग्रामभित्र सुनलगायतका बहुमूल्य धातुहरू हुने भएकाले विशेषगरी भारतीय मूलका व्यक्तिहरूले दामोदरकुण्डदेखि गुल्मीको रिडीसम्मको कालीगण्डकी क्षेत्रबाट व्यापकरूपमा शालिग्रामको चोरी निकासी गरिरहेका गुनासाहरू आए पनि नेपाल सरकारले शालिग्रामको चोरी निकासी नियन्त्रण गर्न सकिरहेको छैन।

कालीगण्डकीको शालिग्राम पछिल्लो समय भारत हुँदै तेस्रो मुलुक (युरोप, अमेरिका) तिर निर्यात भइरहेको भन्ने व्यापक गुनासो सुनिन थालेको नीलकण्ठ शर्माले बताए। तेस्रो मुलुकमा शालिग्राम महङ्गो मूल्यमा बिक्री हुने गरेको बताइएको छ। त्यहाँ संगमरमरको बीचबीचमा शालिग्राम शिला बिछ्याइने गरिएको, शालिग्रामलाई फोडेर धातु निकाल्ने गरिएको जानकारहरूले बताएका छन्।

नेपाल र भारतमै पनि चिल्लो कालो एउटै शालिग्राम लाखौँको मूल्यमा बिक्री हुने गरेको शालिग्रामको महत्वलाई बुझेका म्याग्दीका पण्डित भीमनाथ पराजुलीले बताए। शालिग्राममा देखिने विभिन्न प्रकारका रेखा तथा चक्र कुनै व्यक्ति विशेषले बनाएको नभइ गंगामा पाइने एक प्रकारको कीराले बनाउने उनले जानकारी दिए। पं कृष्णप्रसाद सुवेदीले शालिग्रामको महत्व धेरै भए पनि त्यसको अवैध चोरी निकासी बढ्दै गएको बताए।

कालीगण्डकीमा मात्र पाइने शालिग्राम विभिन्न माध्यम हुँदै छिमेकी मुलुक भारतका ठूलाठूला धार्मिक स्थलसम्म पुग्ने गरेका उनको भनाइ छ। केही दिनअघि उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-१ चराङबाट लुकाइछिपाइ जोमसोमतर्फ ल्याउँदै गरेको अवस्थामा १५ वटा बोरामा राखिएका तीन हजार तीन सय ७९ वटा शालिग्राम प्रहरी चौकी घमीले बरामद गरेको छ। जीपमा राखेर जोमसोमतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी चौकी घमीले शालिग्राम बरामद गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरिक्षक  भोजराज पाण्डेले जानकारी दिएका छन्। प्रनाउ पाण्डेका अनुसार मुस्ताङमा यति ठूलो संख्यामा शालिग्राम बरामद भएको यो पहिलो घटना हो।

शालिग्रामको आयुर्वेदिक महत्व 

धार्मिक र आर्थिक दृष्टिकोणबाट मात्रै नभइ शालिग्राम मानव स्वास्थ्यका लागि समेत अत्यन्त महत्वपूर्ण रहेको बताइएको छ। शालिग्राम छोइएको पानी पिउँदा शरीरलाई समेत फाइदा पु¥याउने पण्डित पराजुलीको भनाइ छ।

'यसमा विभिन्न धातु मिसिएका हुन्छन्, त्यसैले वैज्ञानिकहरूले पनि शालिग्राममा भिजाएको पानी पिउनयोग्य हुने प्रमाणित गरेका छन्', पराजुलीले भने। आयुर्वेदिक चिकित्सकहरूले पनि पानीमा शालिग्राम डुबाएर राख्ने र आधा घण्टापछि त्यो पानी सेवन गर्ने हो भने अम्लपित्त, कफ, पेटका विकार, चर्मरोगलगायतका रोगहरू निको हुने बताउँछन्।

आयुर्वेदिक चिकित्सक विष्णु सापकोटाका अनुसार नियमित रूपमा एक महिनासम्म शालिग्राममा तुलसीको पात राखेर एक लिटर पानीमा डुबाएर आधा घण्टापछि त्यो पानी सेवन गर्ने हो भने ग्याष्ट्रिकलगायत पेटका विकारसम्बन्धी सम्पूर्ण रोगबाट छुट्कारा पाउन सकिन्छ। रासस


प्रकाशित : बिहीबार , असार ६ २०८११६:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend