बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

वैदेशिक रोजगारी : २६ प्रतिशत युवाको रोजाइमा यूएई

शुक्रबार, असार ७ २०८१
वैदेशिक रोजगारी : २६ प्रतिशत युवाको रोजाइमा यूएई

काठमाडौं- चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा वैदेशिक रोजगारीका लागि नेपालबाट विश्वका विभिन्न देश जान अन्तिम श्रम स्वीकृति लिनेको संख्या ६ लाख ८२ हजार ५ सय ५६ जना रहेको छ। 

यसलाई नै सरकारले वैदेशिक रोजगारीमा जाने संख्यामा गणना गर्दै आएको छ। वैदेशिक रोजगार विभागका अनुसार यसमा सबैभन्दा बढी युवाको रोजाइको गन्तव्य यूएई रहेको छ। ११ महिनामा रोजगारीका लागि बाहिरिने युवामध्ये करिब २६ प्रतिशत युवाको रोजाइमा यूएई रहेको छ।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ११ महिनामा नेपालबाट नयाँ काममा लागि म्यानपावरमार्फत तथा बिदामा नेपाल आएर पुन: यूएई जाने युवाको संख्या १ लाख ७५ हजार २ सय ३९ रहेको छ। यो कुल संख्याको २५ दशमलव ७ प्रतितश हो।

यो संख्या गत वर्षको १२ महिनाको भन्दा बढी हो। गत आवको १२ महिनमा यूएई जाने कामदारको संख्या १ लाख १६ हजार १ सय ५९ थियो। तर अहिले ११ महिनामै १ लाख ७५ हजार २ सय ३९ युवाको रोजाइमा यूएई परेको हो।

देशगत हिस्सा (1).png

यसैगरी दोस्रो बढी कामदार गएको देश साउदी अरब हो। ११ महिनामा नेपालबाट रोजगारीका लागि १ लाख २९ हजार २ सय ९० जना कामदार साउदी अरब पुगेका छन्। जुन १८ दशमलव ९ प्रतिशत हो।

गत आवको १२ महिनामा नेपालबाट रोजगारीका लागि साउदी अरब जाने कामदारको संख्या १ लाख १२ हजार ७ सय ७७ थियो। यो वर्ष समग्रमा नै रोजगारीमा जाने कामदारको संख्या घटेका कारण साउदी जाने कामदारमा पनि केही कमी आउने छ।

साथै तेस्रो बढी कामदार जाने देशमा कतार हो। ११ महिनामा कतारको रोजगारीमा जाने कामदारको संख्या १ लाख २४ हजार ६ सय ४१ रहेको छ।

म्यानपावर मार्फत नयाँ कामको खोजीमा जाने कामदार.png

गत आवको १२ महिनामा कतार जाने कामदारको संख्या भने १ लाख ३३ हजार २ सय ६२ रहेको थियो। चालु आवको ११ महिनाकै तथ्यांकलाई आधार मान्दा अब गत आवको भन्दा बढी कामदार कतार जाने छन्।

चालु आवमा रोजगारीका लागि मलेसिया जाने कामदारको संख्यामा भने ठूलो गिरावाट आएको छ। यो संख्या अझै घट्दै जाने छ। मलेसियाको सबैभन्दा बढी कामदार जाने शहरमा अहिले नेपाली कामदार लैजान बन्द भएको छ।

देशगत वैदेशिक रोजगागरीमा जाने युवाको संख्या.png

नेपालबाट कामदार लैजाने नयाँ प्रक्रिया यही मे महिनाको अन्तिमबाट बन्द भएको छ। विभागका अनुसार चालु आवको ११ महिनामा नेपालबाट मलेसिया रोजगारीका लागि जाने कामदारको संख्या १ लाख १ हजार ९ सय ७९ छ।

गत आवमा कामदारको रोजाइमा एक नम्बरमा परेको मलेसिया अहिले चौथोमा परेको हो। गत आवको १२ महिनामा नेपालबाट मलेसियाको रोजगारीमा जाने कामदारको संख्या २ लाख ५९ हजार ५ सय ९४ थियो।


प्रकाशित : शुक्रबार, असार ७ २०८१०७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend