दाङ- घोराही उपमहानगरपालिका-१७ गैरागाउँका ठाकुरप्रसाद चौधरीको मुख्य पेसा बंगुरपालन हो। उनले यो व्यवसाय गरेको पनि १२ वर्ष भइसक्यो। स्वदेशमै बसेर केही गर्नुपर्छ भन्ने सोचका साथ कृषि पेसामा बंगुरपालन रोजेको उनी बताउँछन्। उमेरले ३५ वर्ष पुगेका ठाकुरले रमन बंगुर तथा कृषि फर्ममार्फत व्यवसाय गर्दै आएका छन्।
रोजगारीका लागि ठूलो लगानीमा विदेश गएर अर्काको देशमा पसिना बगाउनुभन्दा स्वदेशमै आत्मनिर्भर बन्नका लागि व्यवसाय गर्दै आएको र आम्दानी पनि राम्रो हुँदै गएको उनले बताए। 'ठूलो लगानी गरेर विदेसिनुभन्दा सोही खर्चमा मेहनत गरे राम्रो आम्दानी हुन्छ', उनले भने, 'पैसा पनि राम्रो कमाइने र आफै मालिक पनि बन्न सकिन्छ।'
उनको फार्ममा अहिले साना ठूला गरेर ९० बंगुर रहेका छन्। झण्डै ५० साना पाठापाठी, ठूला माउ र बेलन ४० छन्। एक वर्षसम्म पहिले बजारीकरणमा केही समस्या भए पनि अहिले भने विस्तारै सहज हुँदै गएको उनी बताउँछन्।
उनले भने, 'मेरो आफ्नै पसल पनि रहेको छ, ठूला बंगुरलाई पसलमै काटेर मासु बेच्ने गरेको र साना पाठापाठीलाई एक महिना पुगेपछि बेच्दै आएको छु, जसका कारण बजारीकरणको त्यति समस्या भएको छैन।' किसान ठाकुरले पाठापाठीलाई पाँच हजार रूपैयाँका दरले बिक्री पनि गर्दै आएका छन्।
मासु भने तीन सय ८० रूपैयाँ किलोका दरले दैनिक ८० देखि एक सय २० किलो बिक्री गर्दै आएको उनी बताउँछन्। बंगुरपालन व्यवसायबाट वार्षिक ६/७ लाख रूपैयाँ बचत गर्न सफल भएको उनले बताए।
सुरुमा घोराहीमा रहेको ग्रामीण महिला उत्थान केन्द्रबाट ५० हजार रूपैयाँ ऋण लिएर १० वटा पाठापाठीबाट सुरु गरेको व्यवसायले सोचेभन्दा राम्रो प्रतिफल दिँदै गएको उनको भनाइ छ। उनले फार्ममा र पसलमा गरेर दुई स्थानीय युवालाई रोजगारीसमेत दिएका छन्।
उनले व्यवसायका लागि १८ कठ्ठा जग्गा भाडामा लिएको र त्यसको भाडा वाषिक एक लाख रूपैयाँ तिर्ने गरेको बताए। विभिन्न समयमा बंगुरमा लाग्ने रोगका कारण किसानलाई समस्या पर्ने भए पनि यस व्यवसायको सम्भावना आगामी दिनमा राम्रो रहेको उनको अनुभव छ। अन्य कुनै रोजगारी नभएकाले यसैलाई निरन्तरता दिँदै जाने उनी बताउँछन्।
कृषिलाई व्यावसायिकरुपमा अगाडि बढाएका किसानलाई राज्यले पनि विभिन्न सहयोगका कार्यक्रम ल्यायो भने अझ सहज हुने उनको भनाइ छ। अन्य युवालाई पनि धेरै रकम खर्चेर विदेश जानुभन्दा स्वदेशमै कुनै पनि व्यवसायमा जोडिएर जीविकोपार्जन गर्न उनी आग्रह गर्छन्। रासस