काठमाडौं- बैंकहरूको सम्पत्तिको गुणस्तर निरन्तररुपमा खस्किँदै गएपछि वित्तीय स्थायित्व चुनौतीपूर्ण बन्दै गएको छ।
बैंक वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको गुणस्तर नै घट्न गइ खराब कर्जा र प्रोभिजनिङ बढ्दा बैंकिङ स्थायित्व जोखिमपूर्ण अवस्थामा पुगेको निष्कर्ष राष्ट्र बैंकको १५औँ वित्तीय स्थायित्व प्रतिवेदनले निकालेको छ।
राष्ट्र बैंकका डेपुटी गभर्नर बमहादुर मिश्रको संयोजकत्वमा रहेको वित्तीय स्थायित्व ओभरसाइट समितिले तयार पारेको प्रतिवेदनले बैंकहरूको सम्पत्तिको गुणस्तरमा आएको ह्रासले वित्तीय स्थायित्व जोखिमपूर्ण बन्दै गएको तथ्य अगाडि सारेको हो।
समितिमा कार्यकारी निर्देशक डा. गुणाकर भट्टसहितका ८ कार्यकारी निर्देशक र बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका निर्देशक डा. सत्यन्द्र तिम्लिसिना, सहकारी विभाग, बीमा प्राधिककरण, धितोपत्र बोर्ड, कर्मचारी सञ्चयकोष, नागरिक लगानीकोष, सामाजिक सुरक्षाकोषका प्रमुख र बैंकिङ क्षेत्रका दुई विज्ञ रहेका थिए।
बैंकहरूको सम्पत्ति गुणस्तर घटेकाले खराब कर्जा बढ्न गइ लाभदायकता, पुँजीकोष र प्रतिफलमा गम्भीर असरहरू देखिन थालेको राष्ट्र बैंकको प्रयोगात्मक परीक्षणले देखाएको छ। बैंकहरूको खराब कर्जा बढेकै कारणले कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्नु परिरहेको राष्ट्र बैंकको प्रतिवेदनको निष्कर्ष छ।
बैंकहरूको सम्पत्तिको गुणस्तर आर्थिक वर्ष २०७७/७८ को तुलनामा उच्चदरले घटेको छ। बैंकहरूको सम्पत्तिको गुणस्तर जोखिम ०.२५ रहेकोमा बढेर ०.९४ मा आइपुगेको तथ्य यस प्रतिवेदनले देखाएको छ। आर्थिक वर्ष २०७८/७९ मा बैंकहरूको सम्पत्तिको गुणस्तर जोखिम ०.८४ प्रतिशत रहेको थियो।
कमसल कर्जा लगानीका कारण बैंकहरूको सम्पत्तिको गुणस्तर खस्किँदा कर्जा असुली प्रभावित भइ निष्कृय कर्जा तथा प्रोभिजनिङ बढेको र कर्जा पुनर्संरचना गर्नुपरेको निष्कर्ष राष्ट्र बैंकको छ।
यसले सम्पूर्ण वित्तीय स्थायित्वसम्बन्धी जोखिम बढेर ०.६९ पुगेको छ। नेपालमा आर्थिक वर्ष २०७७/७८ मा बैंकिङ स्थायित्वको सूचक ०.४० र आर्थिक वर्ष २०७८/७९ मा ०.५२ ले जोखिमपूर्ण अवस्थामा थिए।
राष्ट्र बैंकले तयार पारेको वित्तीय स्थायित्वसम्बन्धी जोखिम शून्यनजिक रहेको राम्रो मानिन्छ। शून्यनजिक रहँदा कम जोखिमपूर्ण र १ वा १ को नजिक रहँदा वित्तीय जोखिम बढी भएको मानिन्छ।
हाल नेपालको वित्तीय तथा बैंकिङ जोखिम ०.६९ प्रतिशत अर्थात १ प्रतिशत नजिक रहेकाले नेपालको बैंकिङ स्थायित्व जोखिमपूर्ण बन्दै गएको निष्कर्षमा राष्ट्र पुगेको छ।
बैंक बैंक वित्तीय संस्थाहरूको स्थायित्वका प्रमुख ६ सूचकलाई आधार बनाएर जटिल तथ्य तथ्याङ्कहरूलाई सूत्रवद्ध प्रणालीमार्फत प्रशोधन तथा विश्लेषण गरी राष्ट्र बैंकले कम्पोजिट (एकीकृत) बैंकिङ स्थायित्वको मापन गरेको हो।
शून्यदेखि १ प्रतिशतको बीचमा जोखिम प्रदान गरेर संस्थागत सुदृढता, लाभदायकता, तरलता, संवदेनशिलता, प्रभावकारिता र सम्पत्तिको गुणस्तरका आधारका राष्ट्र बैंकले एकीकृत वित्तीय स्थायित्व सूचक मापन तयार पारेको छ।
जसले बैंकहरूको सम्पत्तिको गुणस्तरमा ह्रास आउँदा अन्य सूचकहरू संस्था सुदृढता, लाभदायकता, बजार संवेदनशीलतासम्बन्धी जोखिम उच्चरुपमा बढेको देखाएको छ। तरलता र प्रभावकारिताको जोखिम भने घटेको प्रतिवेदनमा उल्लेख छ।
बैंकहरूको बजार संवेदनशीलतासम्बन्धी जोखिम गतवर्ष ०.४४ प्रतिशतबाट बढेर १ प्रतिशत पुगेको छ। अर्थतन्त्र शिथिल रहेकाले कर्जा लगानीसम्बन्धी समस्या आउँदा बजार संवेदनशिलतासम्बन्धी जोखिमभार बढेको राष्ट्र बैंकको दाबी छ।
अर्थतन्त्रमा आएको समस्याका कारणले बजार सुस्त हुँदा बैंकहरूको भारित जोखिम सम्पत्तिसम्बन्धी सूचकहरूमा ह्रास आएकाले यससम्बन्धी जोखिम बढेको बताइएको छ। बैंकहरूले प्रवाह गरेको कर्जा लगानी कमसल हुँदा बैंकहरूको औषत भारित जोखिम सुचाङ्कहरू बढेकाले बैंकहरूको बजार जोखिम संवेदनशिलता बढेको हो।
आर्थिक वर्ष २०७७/७८ मा बैंकहरूहरूको संस्थागत सुदृढता ०.२३ प्रतिशतले जोखिममा रहेकोमा गत आर्थिक वर्ष बढेर ०.९१ प्रतिशतमा पुगेको छ। आर्थिक वर्षमा २०७८/७९ मा यस्तो जोखिम ०.८१ प्रतिशत मात्रै रहेको थियो।
पछिल्लो समय बैंकहरूको खराब कर्जा र प्रोभिजनिङ बढ्दा सञ्चित नाफा ऋणात्मक भइ जोखिमभार बढ्न गएकाले न्यूनतम पुँजीकोषमा समस्या आइ संस्थागतरुपमा बैंकहरू कम सक्षम देखिएका हुन्। न्यूनतम पुँजीकोष पर्याप्तता, लोन लस प्रोभिजनिन र पुँजी अनुपात र न्यूनतम पुँजीकोष (टायारवान क्यापिटल) र कुल सम्पत्तिका आधारमा मापन गरिने बैंक वित्तीय संस्थाहरूको संस्थागत सुदृढताको जोखिम बढेको हो।
बैंकहरूको लाभदायकताको जोखिम विगत तीन वर्षमा बढेर ०.८ मा पुगेको छ। निष्क्रिय कर्जा र जोखिम निरन्तररुपमा बढ्दै गएकाले बैंकहरूको नाफा निरन्तररुपमा घट्दै गएको छ। बैंकहरूले प्रवाह गरेको कर्जाले प्रतिफल दिन नसकेकाले पनि बैंकहरूको नाफा सम्बन्धी जोखिम चुनौतीपूर्ण अवस्थामा पुगेको छ।
बैंक वित्तीय संस्थाहरूको रिटर्न अन एसेटस, खुद नाफा, कर अगाडि नाफामा भएको वृद्धि, ब्याज आम्दानी र कुल ब्याज आम्दानीका आधारमा राष्ट्र बैंक वित्तीय संस्थाहरूको लाभदायकतासम्बन्धी जोखिम गणना गरेको हो।
बैंकहरूको अल्पकालीन दायित्व पूरा गर्नसक्ने गरी कुल सम्पत्तिमा तरल सम्पत्तिको अनुपात, तरलता पर्याप्तता अनुपात, निक्षेप संकलनको तुलनामा कुल सम्पत्ति अनुपात र गैरबैंकिङ कर्जाका आधारमा निक्षेप संकलन अनुपातहरूका आधारमा तरलतासम्बन्धी जोखिम शून्य रहेको ठहर राष्ट्र बैंकको छ।
आर्थिक वर्ष २०७७/७८ मा यस्तो जोखिम ०.६६ प्रतिशत र आर्थिक वर्ष २०७८/७९ मा ०.४४ प्रतिशत रहेको थियो। गत आर्थिक वर्ष बैंक वित्तीय संस्थाहरूको संस्थागत प्रभावकारिता भने बढेको प्रतिवेदनले देखाएको छ। गत वर्ष प्रभावकारितासम्बन्धी जोखिम ०.५८ बाट घटेर ०.४८ प्रतिशत कायम भएको छ। आर्थिक वर्ष २०७७/७८ मा यस्तो जोखिम ०.८७ प्रतिशत रहेको थियो।